१५ असोज, काठमाडौं । बीमा प्राधिकरणले गत असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी ५ अर्ब र निर्जीवन कम्पनीलाई साढे २ अर्ब पुर्याउनुपर्ने व्यवस्था नियामक बीमा प्राधिकरणले गरेको थियो।
असार मसान्तभित्र धेरै कम्पनीले तोकिएको चुक्ता पूँजी पुर्याउन सकेनन् । सोही अनुरूप प्राधिकरणले रिजर्भ र निश्चित प्रोभिजनलाई पनि चुक्ता पूँजीमा गणना गर्न पाइने गरी बाधा अड्काउ फुकायो ।
‘यसरी निश्चित रिजर्भ र प्रोभिजनलाई पनि गणना गर्दा सबैको चुक्ता पूँजी पुग्ने देखियो,’ प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले भने, ‘कम्पनीहरूले स्पष्ट योजना बुझाउने गरी बाधा अड्काउ मात्रै फुकाएका हौं।’
अब असार मसान्तभित्र चुक्ता पूँजी पुर्याउने गरी कम्पनीहरूले बीमा प्राधिकरणलाई खाका बुझाएका छन् । ‘चुक्ता पूँजी नपुगेका कम्पनीले हकप्रद र बोनस सेयरबाट पुर्याउने गरी योजना बुझाएका छन्,’ सुवेदीले भने ।
बजारमा सूचीकृतमध्ये गत असार मसान्तसम्म ५ जीवन बीमा कम्पनीले तोकिएको चुक्ता पूँजी ५ अर्ब पुर्याइसकेका छन् । अरू ७ कम्पनीले भने चुक्ता पूँजी पुर्याउन बाँकी छ । त्यस्तै निर्जीवन बीमातर्फ पनि ५ कम्पनीले तोकिएको साढे २ अर्ब चुक्ता पूँजी पुर्याइसकेका छन् । बाँकी ७ कम्पनीले पुर्याउन बाँकी छ ।
सरकारी बहुस्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा न्यून २६ करोड रुपैयाँ मात्रै छ । कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी थप्नुपर्ने छ । यो कुल पूँजीमा ३० प्रतिशत सर्वसाधारण समूहको छ । बाँकी ४१.०३ प्रतिशत सरकार, १९.३७ प्रतिशत कर्मचारी सञ्चय कोष, ९.६० प्रतिशत नेपाल बैंकको स्वामित्व छ ।
यसरी पुर्याउँदैछन् ७ जीवन बीमा कम्पनीले चुक्ता पूँजी
लाइफ इन्स्योरेन्स कर्पोरेसनले धितोपत्र बोर्डबाटै ८८ प्रतिशत हकप्रद निष्कासन गर्न स्वीकृति पाइसकेको छ । ८८ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ठिक ५ अर्ब पुग्ने छ ।
त्यस्तै एसियन लाइफले ४२ प्रतिशत हकप्रदबाट जुटाउने भएको छ । यो हकप्रद निष्कासनका लागि कम्पनीले बोर्डबाट स्वीकृति मागेको छ । अपुग रकम कम्पनीले बोनस सेयर मार्फत पुर्याउने छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हालै १० प्रतिशत बोनस सेयर घोषणा गरेको छ । बाँकी ७ प्रतिशत हकप्रद निष्कासन मार्फत पुर्याउने भएको छ । यद्यपि, कम्पनीले १७ प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ ।
सानिमा रिलायन्सले २० प्रतिशत पूँजी हकप्रद वा बोनस सेयर वा दुवैमार्फत जुटाउन सक्ने छ । रिलायबल नेपाल लाइफले बोनस सेयरबाटै चुक्ता पूँजी पुर्याउने भएको छ । कम्पनीले चुक्ता पूँजी पुर्याउन करिब ८ प्रतिशत बोनस सेयर दिनुपर्ने छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । यो हकप्रदपछि सहजै चुक्ता पूँजी पुग्ने छ । सिटिजन लाइफ इन्स्योरेन्सले हकप्रद र बोनस गरी करिब २८ प्रतिशत निष्कासन गरेर पूँजी पुर्याउने जनाएको छ ।
७ निर्जीवन बीमा कम्पनीको पूँजी वृद्धि योजना
चुक्ता पूँजी नपुगेका निर्जीवन बीमा कम्पनीमध्ये नेपाल इन्स्योरेन्सले १० बराबर ४ अनुपात अर्थात् ४० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । बाँकी पूँजी बोनस सेयरमार्फत पुर्याउने छ ।
राष्ट्रिय बीमा कम्पनीको पूँजी वृद्धि योजना भने अझै अन्योलपूर्ण देखिएको छ । कम्पनीले सरकारले नै पूँजी थप्नुपर्ने भएको भन्दै अस्पष्ट जानकारी प्राधिकरणलाई पठाएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । बाँकी केही बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब पुग्ने छ ।
नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति मागेको छ । यो स्वीकृतिपछि कम्पनीको चुक्ता पूँजी पुग्ने छ ।
त्यस्तै प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । बाँकी बोनस सेयर मार्फत साढे २ अर्ब पुर्याउने योजना बनाएको छ । एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृत पाइसकेको छ । त्यसपछि तोकिएको पूँजी पुग्ने छ ।
त्यस्तै सानिमा जीआईसीले २५ प्रतिशत बोनस सेयर जारी गर्न साधारणसभाबाट स्वीकृत गरिसकेको छ । ‘छिट्टै बोर्डबाट अनुमति लिने प्रक्रिया सुरु गर्छौं,’ सूचना अधिकारी भद्रबहादुर विष्टले भने ।
हकप्रदमा लगानीकर्ता उचालिँदा फस्ने जोखिम
आइतबार समग्र सेयर बजार र बीमा सेक्टर घट्दा पनि लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १.८९ प्रतिशत (३९ रुपैयाँ) बढ्यो भने एनएलजी इन्स्योरेन्सको ४.५६ प्रतिशत (६० रुपैयाँ) बढ्यो । यसको प्रमुख कारण थियो– दुवै इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाउनु ।
बोर्डबाट हकप्रदको स्वीकृति पाएपछि कतिपय लगानीकर्ता उचालिए, बिक्रीकर्ताकै मूल्यमा किन्न राजी भए । एनएलजीको मूल्य त आइतबार हालसम्मकै उच्च भयो । तर, सोमबार नै कम्पनीको मूल्य उच्च दरले घट्यो ।
कम्पनीको सेयर हुने लगानीकर्ताले हकप्रदमा १ सयका दरले सेयर पाउँछन् । तर, हकप्रदपछि मूल्य समायोजन हुन जान्छ र कम्पनीको पूँजी वृद्धि भई सेयर संख्या बढ्न जान्छ भन्ने तथ्य धेरैले बिर्सिएका हुन्छन् । हकप्रदले सेयर संख्या बढे पनि कुल सम्पत्ति मूल्य बढ्दैन ।
यसलाई उदाहरणबाट बुझौं, एक लगानीकर्तासँग एबीसी कम्पनीको १ सय कित्ता सेयर छ, जसले ८० प्रतिशत हकप्रद जारी गर्दैछ । बुक क्लोजअघि मूल्य ९ सय छ भने उक्त व्यक्तिको कुल सेयर मूल्य ९० हजार हुन्छ ।
भोलिपल्ट मूल्य समायोजन हुँदा व्यक्तिको सेयर संख्या १ सय ८० हुन आउँछ, जहाँ ८ हजार रुपैयाँ हकप्रदमा थप लगानी हुन जान्छ र कुल लगानी मूल्य ९८ हजार हुन आउँछ ।
अब समायोजनपछि भोलिपल्ट मूल्य ९ सय हुँदैन । ५ सय ४४ रुपैयाँ ४४ पैसा मात्रै हुन आउँछ । समायोजन : [९००+(१००×०.८०)]÷[१+०.८०] = ५४४.४४
अब १ सय ८० कित्ताको ५ सय ४४ रुपैयाँ ४४ पैसाका दरले कुल मूल्य पनि ९८ हजार नै हुन आउँछ । मूल्य घट्नेमात्र होइन, सेयर संख्या बढे अनुसार कम्पनीको प्रतिसेयर आम्दानी घट्छ र आपूर्ति पनि बढ्न जान्छ । यसले गर्दा लगानीकर्तालाई हकप्रद कुनै पनि दृष्टिकोणबाट हितकर देखिँदैन ।
प्रतिक्रिया 4