 
																						१२ फागुन, काठमाडौं। यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।
सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ ।
यसवर्ष महाशिवरात्रिमा १ करोड ५० लाख बजेट खर्च हुने अनुमान गरिएको कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदी बताए । उनले भने, ‘यसवर्ष महाशिवरात्रीका लागि सरकारले १ करोड ५० लाख बजेट छुट्याएको छ। ‘ उनका अनुसार महाशिवरात्रि पर्वमा खर्च भएका सबै विवरण १५ दिनभित्र पेश गर्न सम्बन्धित समितिहरूलाई पेश गर्न भनिएको छ ।
महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । जसमा मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ ।

सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ ।
यसैगरी स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट व्यवस्था, स्वयंसेवा परिचालन व्यवस्था र तथ्याङ्क तथा मूल्याङ्कन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको उनले जानकारी दिए ।

यस्तै यसवर्ष पशुपतिनाथको मुख्य आकर्षण मन्दिर परिसर, भित्र आकर्षक गेट र मन्दिरको क्षेत्रभित्र मालाहरुले विशेष सजावट गरिनेछ । मन्दिर परिसरलाई सुन्दर तथा सुसजित बनाउन डिजिटल बत्तीहरुको व्यवस्था गरिने तयारी गरिएको छ । यसैगरी पशुपतिभित्र बनाइएका चित्रकलाहरु पनि महाशिवरात्रिको आकर्षणको केन्द्र रहनेछ ।
७ हजार सुरक्षाकर्मी परिचालन गरिने, कहाँ कहाँ खटाइनेछ ?
पशुपतिनाथ दर्शनका लागि भारतबाट आउने साधुसन्त तथा मेला भर्न आउन दर्शनार्थीको सुरक्षा लागि शिवरात्रिमा करिब ७ हजार सुरक्षा व्यवस्था परिचालन गरिने भएको छ । शिवरात्रिको दिनमा पनि विद्युतीय शवदाह क्षेत्र, किरियापुत्री क्षेत्रमा विशेष सुरक्षा परिचलान गरिनेछ ।
प्रचारप्रसार समितिका संयोजक खत्रीका अनुसार महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्न नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्रसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिनेछ ।

यस्तै भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलन नेपालको कमाण्ड पोस्ट रहनेछ जसमा कमाण्ड पोस्टसँगै खोजखबर कक्षको पनि व्यवस्था गरिनेछ । त्यसैगरी निर्धारित दर्शनमार्गहरूलाई लक्षित गरी सीसी क्यामेरा जडान गरिने कोषले जनाएको छ ।
कोषका अनुसार गोरखनाथ, कैलाश, वनकालीलगायतका अन्य आवश्यक स्थलहरूमा सब-कमाण्ड पोस्टहरू खडा गरी संयुक्त सुरषा व्यवस्था मिलाइनेछ। ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित स्थानमा सम्पदा मैत्री पार्किङस्थलहरुको पनि व्यवस्था गरिएको कोषले जनाएको छ ।
भोजन वितरण गर्ने संस्थालाई काँच र प्लाष्टिक प्रयोग गर्न रोक
महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रभित्र आवास/भोजन वितरण गर्ने संस्थाहरूलाई काँच र प्लाष्टिकबाट बनेका कप, प्लेट प्रयोग गर्न रोक लगाउने निर्णय गरेको कोषले जनाएको छ । पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक राजु खत्रीले बताए । उनले भने, ‘ महाशिवरात्रिमा भोजन वितरण गर्ने संस्थाहरूलाई कागज, पात आदिबाट बनेको कप, प्लेट मात्रै प्रयोग गर्न भनेका छौं। हामीले काँच र प्लाष्टिकको प्रयोगलाई पूर्ण रुपमा निषेध गरेका छौं।’
यस्तै आवास तथा भोजन, भौतिक पुर्वाधार व्यवस्था-हंशमण्डप, वनकाली, तिलगंगा तथा वि ११ उत्तरी भागमा विविध संघ-संस्थाहरू मार्फत नि:शुल्क आवास, सात्विक भोजन, चिया पानी मिलाइएको छ । यी क्षेत्रहरूमा अस्थायी शौचालयको पनि व्यवस्था गरिएको कोषले जनाएको छ ।
मेला अवधिभर उपत्यकाका अस्पतालहरूमा केही शय्या आरक्षित
महाशिवरात्रि अवधिभर काठमाडौं उपत्यकाका अस्पतालहरूमा केही शय्याहरू आरक्षित गरिएको कोषले जनाएको छ । स्वास्थ्य सेवालाई विशेष ध्यानमा राख्दै कोषले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै अन्य स्वयमसेवी संस्थाहरूसँग समन्वय गरी दक्ष स्वास्थ्यकर्मी, नि:शुल्क औषधि,एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्था मिलाइएको स्वास्थ्य सेवा व्यवस्था उप-समितिका संयोजक शिक्षित पराजुलीले बताए ।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा १५ लाखका बत्ती र फूलले सजाइँदै
महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाइएको छ ।

दाताको सहयोगमा शुक्रबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको प्रचारप्रसार समितिका संयोजक रात्रु खत्रीले जानकारी दिए। उनले भने, ‘शुक्रबारदेखि पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती सजाउन थालिसकेका छौं। फूलको सजावट भने आजदेखि थालेका छौं।’

बिजुली बत्ती र फूलले सजाउन थालेपछि पशुपति क्षेत्रका सबै स्थान आकर्षक देखिएको छ ।
पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने भोलि बिहानदेखि सुरू गरिने खत्रीले बताए। फूल बाँदरले चुँड्ने भएकाले एक दिनअघिमात्र सजाउने तयारी कोषले गरेको हो ।

बिजुली बत्ती र फूलले सजाउन दाताले नै सहयोग गरेका छन् । दाताको करिब ३७ लाख बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाउन लागिएको हो ।
यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ । दाताले आफैँ कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन् । पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भइरहेको छ । यस वर्ष फागुन १४ गते महाशिवरात्रि पर्व परेको छ ।
महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा साधुसन्त र सर्वसाधारणको चहलपहल बढेको छ । खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएको छ । ठाउँ ठाउँमा बिजुली बत्तीले पशुपति क्षेत्र सुन्दर देखिएको छ ।

महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुना-कुनामा भीड बढेको छ ।
पशुपतिमा जोगी तथा साधुसन्तहरुको चहलपहल बढ्यो
पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्व मनाउनका लागि जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि भनेरै छिमेकी मुलुक भारतलगायत विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ ।
सोमबार भने साधुसन्त पशुपति क्षेत्रमा आउनेको संख्या भने बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ । त्यसैले साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागीता उल्लेख्य हुने गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाएको छ ।
शिवरात्रि पर्व मनाउन पशुपति आएका साधुसन्त तथा जोगी बाबाहरुलाई भोजनसहित धुनीको व्यवस्था मिलाइएको छ ।
साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमितिका संयोजक डा. भरतप्रसाद बडलाका अनुसार पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भोजन र धुनीको व्यवस्था मिलाइएको छ ।
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
 
                









 
                     
                                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4