+
+
Shares
ब्लग :

उल्टो दिशा बदलौं, देश बन्छ

देशमा केही भएन भन्छौं, सरकारलाई गाली गर्छौं, नेतालाई सराप्छौं । व्यवस्थालाई धिकार्छौं । अनि अरु सबै खराब तर आफूमात्रै जिम्मेवार नागरिक भएको स्वघोषणा गरेर मख्ख पर्छौं ।

ओमप्रसाद शर्मा घायल   ओमप्रसाद शर्मा घायल  
२०८१ चैत १ गते ८:००

पछिल्लो समय देश खत्तमै भयो, डुब्नै लाग्यो, यो देशमा बस्ने कसैको भविष्य छैन भन्ने भाष्य जबरजस्ती स्थापित गर्न खोजिँदैछ । तर म, त्यसको ठिक उल्टो– देश बनिरहेको, प्रशस्तै सकारात्मक काम भइरहेको र देशमा प्रचुर सम्भावना रहेको तर्क प्रस्तुत गर्न खोज्दैछु ।

पञ्चायतको पछिल्लो दशकदेखि प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्रको फ्रेमभित्र आइपुग्दा समाज र देशमा म स्वयंले भोगेका र बेहोरेका केही विकसित घटनाक्रम उल्लेख गर्नु बाञ्छनीय ठान्दछु ।

मैले देशप्रतिको पछिल्लो समाज–विज्ञान र यहाँबाट सिर्जना भएको उत्तेजना, आक्रोश र कुण्ठाका साथै त्यो कुण्ठाग्रस्त चेतनाले निर्माण गरेको विचारलाई बुझिरहेको छु । म जान्ने भएदेखि नै देशमा धेरैखाले आन्दोलन भए । ती सबै आन्दोलनको लक्ष्य र उद्देश्य एउटै थियो– यो मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन ।

आज देशमा राजनीतिक परिवर्तनको साढे तीन दशक पूरा भएको छ । यो बीचमा धेरै सरकार फेरिए, कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा र मधेशवादी दलहरुले शासन–सत्तामा सहभागी भएर केही न केही काम पनि गरे । यही बीचमा माओवादी सशस्त्र विद्रोहदेखि, महाभूकम्प, कोरोनाको महामारी र नाकाबन्दीका अनेकन पीडा र उल्झनहरुसँग जुधेर हामी यहाँसम्म आइपुगेका छौं ।

पञ्चायतको कालरात्रीसँग लडेर प्रजातन्त्रको उज्यालो खोस्ने आन्दोलन गर्दैगर्दा अवश्य पनि हाम्रो आँखामा केही असाधारण सपनाहरु थिए नै । संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान निर्माणको चरणसम्म आइपुग्दा यो व्यवस्थाप्रतिको हाम्रो अपेक्षा र आशा पनि झनै बढ्नु स्वभाविक नै हो । तर ‘केही पनि भएन, खत्तम भो, सकियो, डुब्यो’ भन्ने भाष्यसँग सहमत हुन सकिने सम्पूर्ण आधार छैन ।

मैले नजिकै बुवासँग सुनेको एउटा सत्य– नुनतेल लिन ९ दिन लगाएर बटौली (अहिलेको बुटवल बजार) जानुपर्थ्यो । यताबाट घ्युको टिन बोकेर जानुपर्ने र त्यही घ्यु बेचेर वर्षभरिलाई चाहिने नुनतेल, साबुन, सलाई, चिनी, चियापत्ती र अरु घरखर्ची लिएर आउनुपर्ने बाध्यता थियो रे ! यो प्रसङ्ग मैले भोगेको होइन, मेरो बुबाले भनेको ।

पछिल्लो समय सर्वाधिक सुनिने वा जबरजस्ती बनाइएको एउटा भाष्य हो– युवा गाउँमा बस्ने वातावरण भएन । तर किन भएन ? कसैले प्रश्न गर्दैन ।

भैगो, यसलाई नपत्याइदिउँ । तर मैले आफैं भोगेको अर्को सत्य– नुनतेल लिन तीन दिन लगाएर पुतलीखेत (स्याङ्जाको पुतली बजार) जानुपर्थ्यो । मैले पनि तीन/चारपटक यो कर्ममा भाग लिएर आएको हुँ । त्यो नुनतेल यात्रा कति निर्मम र कठिन थियो भन्ने कुरा त्योबेला तीन दिन लगाएर नुनतेल बोक्नेहरुलाई मात्रै अनुभव होला ।

२०४६ सालमा देशमा प्रजातन्त्र आयो । प्रजातन्त्रको प्राप्तिसँगै देशमा धेरै कुरा प्राप्त हुन थाले । पोखरा–बागलुङ सडक बन्यो बा’कोे ९ दिन र मेरो तीन दिनको नुनतेल यात्रा छोटिएर केही घण्टाको दूरीमा सीमित भयो । क्रमैसँग त्यो सुविधा गाउँमै आइपुग्यो । अहिले धेरै गाउँमा बाटो पुगेको छ । गाडी पुगेको छ । उपभोग्य सामान किन्न टाढा जानुपर्दैन । यतिसम्मकी एक कल फोन गरे सामान घरमै आइपुग्छ । तर पनि सुन्छु ‘देशमा केही भएको छैन’ भन्ने सुन्दा अचम्म लाग्छ ।

शिक्षाको कुरा त्यस्तै थियो । मेरो बाले स्कुल पढ्ने तिव्र इच्छा भएर पनि बनारस पुगेर पढनुपर्ने भएका कारण पढ्न पाउनु भएन । मपनि घरबाट एकघण्टा लगाएर स्कुल पढेको हुँ ।

म पहिलोपटक स्कुल जाँदा पढ्ने कक्षा कोठा थिएन, धुलाम्य चौरमा बसेर पढ्नुपर्थ्यो । स्कुलमा पानी खाने ठाउँ थिएन, शौचालय थिएन । मध्यान्तरमा एक कोस पर पुगेर शौच गर्नुपर्थ्यो , कुवामा लाइन लगाएर धमिलो पानी पिउनु पर्थ्यो । टुकीको मधुर उज्यालोमा पढ्नुपर्थ्यो , अबेरसम्म बसेर पढ्यो भने तेल धेरै सकिन्छ भनेर  बुवाआमा कचकच गर्नुहुन्थ्यो । किनकि तेल किन्न उही पुतलीखेत पुग्नुपर्थ्यो । जानआउन तिन दिन लाग्थ्यो ।

यी र यस्ता तमाम समस्या बेहोरेर स्कुल पढेका हामीहरूले आज तिनै गाउँमा झिलीमिली बिजुली पुगेको देखेका छौं । पक्की र सुविधासम्पन्न स्कुलका भवनहरु बनेका छन् । उच्च शिक्षा पढ्न क्याम्पस गाउँमै खुलेको छ । सफा र व्यवस्थित शौचालय छन् । युरोगार्डको पानी पिएर अंग्रेजी माध्यमबाटै बच्चाहरूले सरकारी स्कुल पढिरहेका छन् । समाज परिवर्तनका हजारौं सूचकहरुलाई बिर्सेर फेरि पनि ‘देश डुब्यो, खत्तम भयो’ भनेर भनिरहेको हामीले नै चुपचाप सुनिरहेका छौं ।

गाउँमा कसैलाई ज्वरो आयो भने ठिम्रा अर्थात् (एन्टिबायोटिक क्याप्सुल) किन्न एक दिन लगाएर सदरमुकाम जानुपर्थ्यो । ज्वरोले कुफत परेर कतिको ज्यान गएको पनि मैले आफ्नै आँखाले देखेको हुँ । अहिले गाउँको स्वास्थ्य चौकीमै ९८ प्रकारको औषधि निःशुल्क पाइन्छ । ३५ सय रूपैयाँ तिरेर स्वास्थ्य बीमा गरेपछि परिवारका पाँचजनासम्मलाई एक वर्षसम्म एकलाखको औषधि उपचार गर्न पैसा लाग्दैन । बीमा कार्ड बोकेर अस्पताल गएपछि उपचार गरेर फर्कन पाइने व्यवस्था छ ।

वृद्ध आमाबाबुले सामाजिक सुरक्षा भत्ता पाएका छन् । टोलटोलमा खोप केन्द्र छन् । स्थानीय तहका जनप्रतिनिधिहरु लोकल कुखुरा र घ्यु बोकेर सुत्केरी भेट्न घरघरमा पुग्छन् । यी पनि लोकतान्त्रिक व्यवस्थामार्फत तपाईं हामीले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुले सुरुवात असल अभ्यास हुन् ।

गाउँमा खानेपानीको चरम समस्या थियो । दुई किलोमिटर पर पुगेर कुवाको पानी ल्याउनुपर्ने अवस्था थियो । स्कुल जाँदा रित्तो गाग्री लिएर जाने र फर्कंदा गाग्री भरेर लिएर आउनुपर्ने परिस्थितिको साक्षी म स्वयं छु । तर यही ३०/३५ वर्षको अवधिमा आज घरघरमा पानीको धारा पुगेको छ । देशको कुल जनसंख्याको ९० प्रतिशतको हाराहारीमा नेपालीले स्वस्थ पानी पिउन पाएका छन् ।

गाउँमा टेलिफोन थिएन । एक दिन लगाएर सदरमुकाम पुगेर आवा गरेर फर्केको ज्यान यही हो । जुन आवामा पनि पल्टनमा भएको लाहुरे आफन्तसँग दोहोरो संवाद गर्न पाइँदैनथ्यो । खबर लेखेर छोड्नुपर्थ्यो । दुई दशकदेखि नेपालीको हातहातमा मोबाइल पुगेको छ । सबै घरमा बिजुली छ, घरघरमै इन्टरनेट छ, टेलिभिजन छ । अमेरिका अष्ट्रेलिया वा संसारका हरेक कुनामा रहेका आफन्तसँग सबै नेपालीले भिडियो संवाद गर्न पाएका छन् । सूचना प्रविधिले चामत्कारिक फड्को मारेको छ । सामान्य उपचार नपाएर मान्छे मर्ने अवस्था अहिले छैन ।

पछिल्लो समय सर्वाधिक सुनिने वा जबरजस्ती बनाइएको एउटा भाष्य हो– युवा गाउँमा बस्ने वातावरण भएन । तर किन भएन ? कसैले प्रश्न गर्दैन । कृषिमा काम गर्छु भन्नेले अनुदान पाएको छ । हलो सरकारले दिएको छ, बीउ–मल सरकारले दिएको छ । तर पनि काम गर्दैन, बेरोजगार छु भन्छ, खेतबारी बाँझै राख्छ ।

भीडमा आकर्षित लाखौं युवाहरुलाई मेरो अनुरोध– उल्टो दिशा बदलौं । यो समय रमितामा भुल्ने समय होइन, सिर्जना र निर्माणमा व्यस्त रहने समय हो । देश निर्माणमा योगदान गरौं ।

अरब जान्छ, मलेसिया जान्छ, युरोप, अमेरिका र अष्ट्रेलिया जान्छ । फेरि त्यहाँ पनि कृषि फर्ममा काम गरेकै सेल्फी खिचेर फेसबुकमा फोटो हाल्छ । देशलाई गाली गर्छ, नेतालाई गाली गर्छ, देशमा काम गरिरहेका सामाजिक कार्यकर्तालाई भ्रष्टाचारी भन्छ ।

केही काम गरेर गाउँमा आफ्नै आमाबाबुलाई बिरामी हुँदा अस्पताल पुर्‍याइरहेका, मर्दा मलामी भएर साथ दिएका र जीवित हुँदा जन्ती भएर साथ दिएका युवाहरुलाई दलको झोले भन्छ, बिचौलिया भनेर लेखिरहन्छ ।

विडम्बना, हामिले हामी बाँचेको समाज हेर्देनौं, देशमा भएको क्रमिक विकासको गति चिन्दैनौं, मानव संशाधनदेखि स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारमा भएको प्रगतिको तथ्याङक पढ्दैनौं तर देश छोडेर अर्को देशको पीआर र ग्रिनकार्ड लिएको कुनै व्यक्तिले यो देश र देशमा बाँचिरहेका युवालाई होच्याएर लेखेको अनर्गल पोस्टमा पुगेर लाइक र कमेन्ट गर्छौं । देशमा केही भएन भन्छौं, सरकारलाई गाली गर्छौं, नेतालाई सराप्छौं । व्यवस्थालाई धिकार्छौं । अनि अरु सबै खराब तर आफूमात्रै जिम्मेवार नागरिक भएको स्वघोषणा गरेर मख्ख पर्छौं ।

देशमा परिवर्तन भएका उपरोक्त विषयमा आफ्नो तर्क राख्दै गर्दा यहाँको दलीय व्यवस्था, यहाँको राजनीतिक नेतृत्व र सरकारसँग पनि मेरा प्रशस्तै विमति छन् । सबैथोक ठिकठाक छ र भइरहेको छ भन्ने पनि किमार्थ होइन । शासकीय संरचनादेखि संवैधानिक प्रावधानमा थुप्रै खोट पनि छन् । तर अनुहारमा पिलो आयो भनेर टाउकै काटेर फाल्नु हुँदैन, पिलोको उपचार गरेरै कुरुप अनुहार सुन्दर र आकर्षक बनाउन सकिन्छ भन्ने हो ।

यहाँ व्यवस्थामा कुनै खोट छैन, खोट व्यक्तिमा छ । व्यक्ति बदल्न सकिन्छ । संविधान र कानुनमा भएका गलत प्रावधानहरु पनि विधिद्वारा नै सच्याउन सकिन्छ । त्यसका लागि सरकार र संसदलाई दबाब दिने हो । खर्चिलो र भड्किलो निर्वाचन प्रणालीलाई सरलीकृत, व्यवस्थित र मर्यादित बनाउनु छ । शासकहरुलाई जिम्मेवार र जवाफदेही बनाउनु छ । भ्रष्टाचारलाई शून्यमा झार्नु छ, विकासको रफ्तारलाई बढाउनुछ । जनतालाई सुशासनयुक्त डेलिभरि दिन बाध्य बनाउनु छ । यसका लागि एउटा असल र जिम्मेवार नागरिकको तहबाटै दबाब सिर्जना गर्न सकिन्छ ।

तर, उल्टो सोच र विद्रोही चिन्तनले मात्र विकासको दिशा बदल्दैन, नकारात्मक चिन्तनले समाजलाई विनासको दिशातिर लिएर जान्छ । नेतृत्व बदल्ने गालीबाट होइन, मतबाट हो । लोकतन्त्र सुरक्षित छ, त्यसैले पाँच वर्षमा निर्वाचन हुन्छ । निर्वाचनमार्फत नेता बदलौं, सरकार बदलौं । यदि अरुबाट देश बदल्न सम्भव छैन भने आफूले नै अग्रसरता लिऔं, त्यो अवसर पनि हामीलाई छ ।

आफू पनि केही नगर्ने, निर्णायक घडीमा पिठ्युँ फर्काएर भाग्ने अनि केही भएन, केही गरिएन भनेर अरुका प्रति दोष प्रक्षेपण गर्ने र आफू असल हुन खोज्ने प्रवत्तिले हामी जहाँको तहीँ रहन्छौं । भीडमा आकर्षित लाखौं युवाहरुलाई मेरो अनुरोध– उल्टो दिशा बदलौं । यो समय रमितामा भुल्ने समय होइन, सिर्जना र निर्माणमा व्यस्त रहने समय हो । देश निर्माणमा योगदान गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?