
४ चैत, काठमाडौं । जापानका अनुसन्धानकर्ताले पानी र माटोमा घुल्ने वातावरणमैत्री प्लास्टिकको विकास गरेका छन् । यो नवीनतम आविष्कारले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने मात्र नभई, जलवायु परिवर्तन नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।
प्लास्टिकका कारण समुद्रको पारिस्थितिक प्रणालीमा गम्भिर समस्या झेलिरहेका जापानजस्ता देशहरुलाई त झन् यो महत्वपूर्ण उपलब्धि कोसेढुंगा सावित हुने ठानिएको छ ।
जापानको ‘राइकेन सेन्टर फर इमरजेन्ट म्याटर साइन्स’ का अनुसन्धानकर्ताहरूले नयाँ जैविक प्लास्टिक विकास गरेका हुन्, जुन समुद्रको पानीमा केही घण्टाभित्रै घुल्नेछ । यो प्लास्टिक बलियो पनि छ र यसलाई प्याकेजिङ्ग सामग्रीदेखि लिएर चिकित्सा उपकरणहरूसम्म प्रयोग गर्न सकिने वैज्ञानिकहरुको दाबी छ ।
परम्परागत प्लास्टिकभन्दा फरक के छ ?
परम्परागत प्लास्टिक माटोमा गल्न शताब्दी लाग्छ, जसका कारण महासागर तथा अन्य पारिस्थितिक प्रणालीहरूमा यसको अवशेष रहिरहन्छ । साधारण खालको प्लास्टिकले वन्यजन्तुमा गम्भीर असर पार्छ र प्रदूषणको समस्या झन् जटिल बनाउँछ । तर, राइकेन टोलीले विकास गरेको नयाँ जैविक प्लास्टिक यसको ठ्याक्कै विपरीत छ ।
यो प्लास्टिक समुद्रको पानीमा केही घण्टामै र माटोमा १० दिनभित्रै घुल्छ, जसले वातावरणीय प्रदूषण हटाउन मद्दत गर्छ । त्यतिमात्रै होइन यसले माटोलाई आवश्यक पोषणसमेत प्रदान गरी उर्वराशक्ति बढाउने वैज्ञानिकहरुको भनाइ छ ।
के यो प्लास्टिक विघटन हुँदा प्रदूषण फैलाउँछ ?
यो प्लास्टिकको सबैभन्दा ठूलो विशेषता के छ भने, विघटनको क्रममा यसले कार्बन डाइअक्साइड उत्सर्जन गर्दैन । अन्य प्लास्टिक विघटन हुँदा हरितगृह ग्यासहरू उत्पन्न हुन्छ, जसले वातावरणमा कार्बनको मात्रा बढाउँछ र जलवायु परिवर्तनलाई तीव्र बनाउँछ ।
राइकेन टोलीले विकास गरेको जैविक प्लास्टिकले कार्बन उत्सर्जन नगर्ने भएकाले जलवायु परिवर्तन न्यूनीकरणमा ठूलो योगदान पुर्याउने विश्वास छ ।
साथै, यो प्लास्टिक पुनः प्रयोग गर्न सकिने भएकाले नयाँ प्लास्टिक उत्पादन गर्ने आवश्यकतामा समेत कमी ल्याउने बताइएको छ ।
माइक्रोप्लास्टिकको समस्या समाधान हुने
परम्परागत प्लास्टिक विघटन हुँदा माइक्रोप्लास्टिक भन्ने साना कणहरू उत्पन्न गर्छ, जुन पानी र माटोमा रहिरहन्छन् । यी माइक्रोप्लास्टिकहरू मानिस र समुद्री जीवहरूमा परेर स्वास्थ्य र खाद्य शृङ्खलामा क्षति पुर्याउने खतरा रहन्छ ।
तर, नयाँ जैविक प्लास्टिक पूर्णरूपमा घुल्ने भएकाले कुनै पनि हानिकारक अवशेष छाड्दैन । यसले समुद्री र स्थलीय पारिस्थितिकी प्रणालीलाई सुरक्षित राख्न मद्दत गर्नेछ ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4