
१० वैशाख, काठमाडौं । उत्तरी छिमेकी चीनबाट पहिलो पटक रेलमार्ग र सडकमार्ग हुँदै ‘कन्टेनराइज्ड कार्गो’ (सामान) चोभार सुक्खा बन्दरगाहमा आएको छ ।
यसभन्दा पहिला तातोपानी र रसुवा भन्सारमै जाँच पास भएरमात्र मालवस्तु नेपाल आउने गरेकामा पहिलो पटक भन्सार जाँचपासका लागि मालवाहक सवारीसाधन सिधै चोभार आएको हो ।
२९ चैत २०८१ मा चीनको इयु सहरबाट सिधै रेलमार्ग र सडकमार्ग प्रयोग गरी ४ कन्टेनर चोभार सुक्खा बन्दरगाह आइपुगेका हुन् ।
नेपाली कम्पनी पीएनपी इन्टरप्राइजेज, अम्बर एन्ड सन्स इन्टरप्राइजेज, ओमकार इन्टरनेसनल ट्रेडर्स र साहिम्स ट्रेडर्सले आयात गरेका कस्मेटिक, रोल कपडा, पर्दा, स्पिकर लगायत सामान बोकेका साउथ एसिया रेल्वेका ४ कन्टेनर पहिलो पटक भन्सार जाँचपासका लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको बन्दरगाह कार्यालयले जनाएको छ । कन्टेनरहरूलाई चीनको इयुबाट चोभार सुक्खा बन्दरगाहसम्म आइपुग्न २० दिन लागेको छ ।
नेपाल सरकारले चीनबाट पनि सिधै सामान कन्टेनरमा चोभार सुक्खा बन्दरगाहसम्म ल्याउने कानुनी व्यवस्था गरेपछि पहिलो पटक चीनको रेल र सडकमार्ग प्रयोग भएर कन्टेनरमा सामान चोभार सुक्खा बन्दरगाह आएको हो ।
अर्थ मन्त्रालयले कात्तिक २०८१ मा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्तालाई सडकमार्ग तोकेको छ ।
सोही अनुसार उक्त कन्टेनर तातोपानी र रसुवा भन्सारबाट चोभार सुक्खा बन्दरगाह जाने अनुमति लिएर आएको हो । भारतीय नाका वीरगञ्जबाट सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको दिनदेखि नै भन्सार जाँचपासका लागि आउने गरेको थियो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चीनबाट रेलमार्ग र सडकमार्ग भएर नेपालमा सामान आउन सुरु भएको र अब यो क्रम जारी रहने बताए ।
चोभार सुक्खा बन्दरगाह मार्फत चीनमा सामान आयात/निर्यात हुने ढोका खुलेको बताए । नेपाल सरकारले अब चीनबाट आयात हुने वस्तु सिधै चोभार ल्याउन र नेपालबाट निर्यात हुने वस्तु पनि यही बन्दरगाहबाट सबै प्रक्रिया पूरा गरी लैजान सकिने व्यवस्था गरेको थियो ।
व्यापार घाटा कम गर्न नेपालले निर्यात बढाउनुपर्ने हुँदा र काठमाडौं तथा आसपास स्थानमा उत्पादन हुने वस्तु अब चोभारबाट भारत, चीन तथा अन्य देश निर्यात गर्न सकिने प्रावधानले निर्यातकर्ता व्यवसायी उत्साही भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4