+
+
Shares
फिल्म समीक्षा :

‘एलिफेन्ट्स इन द फग’ : समाजको स्वीकृति र अस्वीकृतिबीच बाँचेका किन्नरहरूको कथा

‘एलिफेन्ट्स इन द फग’ केवल एउटा फिल्म मात्र होइन, अहिलेको सामाजिक यथार्थसँग जोडिएको गहिरो टिप्पणी पनि हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ट्रान्स समुदायको स्वीकार र संघर्षलाई आमा-छोरी सम्बन्धमार्फत देखाएको छ।
  • फिल्ममा पिरती नामकी ट्रान्स महिला र उनको समुदायले समाजको कठोर पर्खालसँग ठोक्किनुपर्छ र अप्सराको खोजीमा पिरती एक्लै निस्किन्छिन्।
  • निर्देशक अविनाशविक्रम शाहले किन्नर समुदायको जीवनशैली, विरोधाभास र आध्यात्मिक शक्तिलाई कलात्मक रूपमा पुनःस्थापना गर्ने प्रयास गरेका छन्।

ट्रान्सजेन्डर महिलाको समुदायजस्तै नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ पनि कोमल, साहसी र जीवनका विरोधाभासले भरिएको छ । लेखक तथा निर्देशक अविनाशविक्रम शाहले आफ्नो पहिलो फिचर फिल्ममै दक्षिण एसियामा ट्रान्स समुदायलाई गरिने स्वीकारको सर्तयुक्त र अस्थिर स्वरूपलाई गहिरो ढंगले देखाएका छन् । आमा-छोरीको सम्बन्धमार्फत उनले यस्तो एक यथार्थपरक कथा बुनेका छन्, जुन हराइरहने मानिसको रहस्यतर्फ मोडिए पनि त्यसलाई स्थानीय जीवन, संस्कार र दृश्य-श्रव्य संवेदनाले विशेष बनाएको छ ।

घना जंगलको छेउमा रहेको एउटा दुर्गम गाउँमा कथा सुरु हुन्छ । रातको अँध्यारोमा टर्चको उज्यालो बोकेका मानिस खेत जोगाउन जंगली हात्ती धपाउँदै हिँडिरहेका देखिन्छन् । यही दैनिक संस्कारजस्तो दृश्यले फिल्मभर वातावरण निर्माण गर्छ । कथाको केन्द्रमा छिन् मध्यम उमेरकी ट्रान्स महिला पिरती (पुष्पा थिङ लामा), जो आफ्नो घरमा शरण लिन आएका ट्रान्स महिलाहरूकी आत्मविश्वासी ‘आमा’ हुन् ।

पिरती किन्नर समुदायकी सदस्य हुन् । नेपालमा कानुनी रूपमा ‘तेस्रो लिङ्ग’ अन्तर्गत मान्यता प्राप्त यो समुदाय आफ्नै नियम, संस्कार र परम्पराबाट बाँधिएको छ । उनले हालै अप्सरा (अलिज घिमिरे) नामकी पूर्व यौनकर्मी युवतीलाई छोरीका रूपमा अपनाएकी छन् । अर्को नयाँ सदस्यलाई समुदायमा भित्राउने दृश्यमा रातो रङले हात रंगाइन्छ, जहाँ उनीहरूले समुदायप्रति निष्ठा र ब्रह्मचर्यको शपथ लिन्छन् । स्थानीय मातृसत्तात्मक नेतृ (उमेशा पाण्डे) भने सधैं फुसफुसाएर मात्र बोल्छिन् ।

फिल्मले सुरुमा किन्नर समुदायमाथि रहस्यमय वातावरण बनाउँछ, जसलाई पिरती आफैंले पनि अस्वीकार गर्न खोज्छिन् । तर उनीहरूका स्वाभाविक संवाद, मानवीय चाहना र सम्बन्धले उनीहरूलाई अत्यन्त जीवन्त बनाउँछ । गाउँको किनारमा बसोबास गरे पनि विवाह वा बच्चा जन्मजस्ता शुभ अवसरमा उनीहरूलाई आशीर्वाद दिन बोलाइन्छ । औंलालाई बाहिर फर्काएर बजाइने विशेष ताली उनीहरूको पहिचान बनेको छ ।

‘एलिफेन्ट्स इन द फग’ वास्तवमा मानव हातहरूको कथा हो । दक्षिण एसियामा ट्रान्स महिलालाई होच्याउन प्रयोग गरिने यही तालीलाई निर्देशक शाहले फिल्ममा नयाँ अर्थ दिएका छन् । कहिले त्यो उत्सवको संकेत बन्छ, कहिले स्वीकृतिको, कहिले आक्रोशको त कहिले लाजको । विडम्बना के छ भने यही लाज र अनुशासन किन्नर समुदायको आन्तरिक संरचनाभित्र पनि देखिन्छ । उनीहरूको घर शरणस्थल हो, तर कडा नियमभित्र मात्र ।

ब्रह्मचर्यको शपथ लिएकी पिरती स्थानीय मादलवादक (आशान्त शर्मा) सँग प्रेममा छिन् । उनीसँगै नयाँ जीवन सुरु गर्न दिल्ली भाग्ने योजना बनाइरहेकी हुन्छिन् । अप्सराको आकर्षण पनि विवाहित रिक्सा चालक एमजे (सञ्जय गुप्ता) तर्फ देखिन्छ, तर उसको भावना त्यति समान हुँदैन । एक रात अप्सरा अचानक हराउँछिन् । त्यसपछि शंका गर्ने पात्र र सम्भावना धेरै हुँदैनन् । यहीँबाट पिरती र उनको समुदायले समाजको कठोर पर्खालसँग ठोक्किनुपर्छ ।

प्रहरी र गाउँलेहरूका लागि किन्नर समुदायको अस्तित्व उपयोगितासम्म सीमित छ । त्यसैले अप्सराको खोजीमा पिरती एक्लै निस्किन बाध्य हुन्छिन् । एकातिर समाजको बेवास्ता, अर्कोतिर आफ्नो प्रेम सम्बन्ध थाहा पाए समुदायले अस्वीकार गर्ने डर । यही द्वन्द्वले कथालाई अझ गहिरो बनाउँछ ।

धुम्म ग्रामीण परिवेश, संयमित यौन दृश्य र सामाजिक नियमअनुसार आवाज बदल्नुपर्ने अवस्थाजस्ता सूक्ष्म पक्षमार्फत निर्देशक शाहले एक्लोपन, पीडा र निराशाको कथा बुनेका छन् । ‘गहिरो आवाज निकाल’, पिरतीले आफ्नी एक साथीलाई अप्सराको परिवारसँग फोनमा कुरा गर्दा भन्छिन् । यस्ता साना क्षणहरूले ट्रान्स महिलाले दैनिक जीवनमा गर्नुपर्ने संघर्षलाई निकै प्रभावकारी ढंगले देखाउँछन् ।

पुष्पा थिङको अभिनय फिल्मको सबैभन्दा बलियो पक्ष हो । लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा सक्रिय उनी पिरतीको भूमिकामा पूर्ण रूपमा प्राकृतिक देखिन्छिन् । पिरती जिद्दी छिन्, संवेदनशील पनि । आफ्ना समुदायलाई जोगाउन चाहन्छिन्, तर आफू पनि पूर्ण जीवन बाँच्न चाहन्छिन् । यही चाहनाले उनलाई आफ्नै समुदायसँग टकरावमा पुर्‍याउँछ ।

फिल्म विस्तारै अपराध कथातर्फ मोडिन्छ । धुम्म वातावरण र रहस्यमय दृश्यबीच पनि यसको केन्द्रमा भने पिरतीको आन्तरिक संघर्ष नै रहिरहन्छ । किन्नर समुदायले शताब्दीयौंदेखि अस्तित्व जोगाउन अपनाएको जीवनशैली र त्यसले जन्माएको विरोधाभास फिल्मले अत्यन्त प्रभावशाली ढंगले देखाउँछ ।

‘एलिफेन्ट्स इन द फग’ केवल एउटा फिल्म मात्र होइन, अहिलेको सामाजिक यथार्थसँग जोडिएको गहिरो टिप्पणी पनि हो । फिल्ममा धेरै पात्रहरूले भारतलाई स्वतन्त्र र सुरक्षित स्थानका रूपमा हेर्छन् । तर फिल्म बनेपछि भारतमै ट्रान्स समुदायमाथि कानुनी दबाब बढेको र आत्मनिर्णयको अधिकार कमजोर बनाइएको प्रसंगले यो कथालाई अझ समसामयिक बनाएको छ । स्वीकार कति छिटो भत्किन सक्छ भन्ने कुरा फिल्मले निकै मार्मिक रूपमा सम्झाउँछ ।

तर, फिल्मलाई केवल राजनीतिक अभिव्यक्तिमा सीमित हुन नदिने कुरा भने यसको मानवीय दृष्टिकोण हो । निर्देशक शाहले ट्रान्स पात्रहरूको जीवनलाई बहुआयामिक रूपमा प्रस्तुत गरेका छन् । उनीहरूको लक्ष्य केवल सुरक्षा, प्रेम वा स्वतन्त्रता मात्र होइन, हिन्दु समाजमा उनीहरूलाई दिइएको आध्यात्मिक भूमिकासँग पनि जोडिएको छ । त्यो सम्मान कहिले पनि स्थायी छैन भन्ने पीडा फिल्मभर देखिन्छ ।

फिल्मको अन्त्यसम्म आइपुग्दा पिरती र उनका साथीहरूको जीवन धेरै सहज भएको हुँदैन । तर निर्देशक शाहले अन्त्यलाई आध्यात्मिक र प्रतीकात्मक दिशातर्फ मोड्छन् । उनले किन्नर समुदायको आध्यात्मिक शक्तिलाई कलात्मक रूपमा पुनस्र्थापित गर्ने प्रयास गरेका छन् । समाजले उनीहरूबाट खोसेको सम्मान र शक्ति क्यामेरामार्फत फिर्ता दिलाउने प्रयास फिल्मले गर्छ । त्यसैले अन्त्यमा आइपुग्दा उनीहरू केवल नाममा होइन, साँच्चै नै गरिमायुक्त र दिव्य देखिन थाल्छन् ।

-भेराइटीबाट अनुदित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?