+
+
Shares

कान्स प्रिमियरअघि ‘एलिफेन्ट्स इन द फग’ को ट्रेलर सार्वजनिक

अन्तर्राष्ट्रिय राइट ‘बेस्ट फ्रेन्ड फरेभर’ ले किन्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १६:१९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म ‘तिनीहरू’ले कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा विश्व प्रिमियर गर्दै पहिलो अन्तर्राष्ट्रिय वितरण सम्झौता गरेको छ।
  • फिल्मको अन्तर्राष्ट्रिय बिक्री अधिकार ‘बेस्ट फ्रेन्ड फरेभर’ले लिएको छ र फ्रान्स, जर्मनी, अस्ट्रिया, ब्राजिल र नेपालमा वितरण हुने भएको छ।
  • ‘तिनीहरू’को कथा किन्नर समुदायकी अगुवा पिरतीको प्रेम र जिम्मेवारीबीचको द्वन्द्वमा आधारित छ र अविनाश विक्रम शाहले निर्देशन गरेका हुन्।

कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत विश्व प्रिमियर हुन लागेको नेपाली फिल्म ‘तिनीहरू’ (एलिफेन्ट्स इन द फग) ले अन्तर्राष्ट्रिय प्रदर्शनका लागि पहिलो वितरण सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय बिक्री अधिकार ‘बेस्ट फ्रेन्ड फरेभर’ले लिएको हो । साथै, फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको छ ।

फ्रान्समा यो फिल्म ‘अरिजोना डिस्ट्रीब्युसन’ र ‘ले भाल्सेउर डिस्ट्रीब्युसन’ले संयुक्त रूपमा प्रदर्शन गर्नेछन् । जर्मनी र अस्ट्रियाको अधिकार ‘मिसिङ फिल्म्स’ ले खरिद गरेको छ भने ब्राजिलमा ‘इमोभिजन’ले प्रदर्शन गर्नेछ । नेपालमा भने ‘द टी फोक्स फिल्म्स’ले वितरण सम्हाल्ने भएको छ ।

‘एलिफेन्ट्स इन द फग’ २० मेमा कान्समा प्रिमियर र २१ मेमा रेडकार्पेटमा सहभागी हुनेछ । यो फिल्म कान्समा छनोट पहिलो नेपाली कथानक फिल्म हो, जसलाई अविनाश विक्रम शाहले निर्देशन गरेका हुन् ।

शाहको छोटो फिल्म ‘लोरी’ले सन् २०२२ को कान्स फिल्म महोत्सवमा विशेष सम्मान प्राप्त गरेको थियो । उनले यसअघि मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’को पटकथामा पनि सहकार्य गरेका थिए । उक्त फिल्म सन् २०२४ को बर्लिन फिल्म महोत्सवको मुख्य विधामाकक प्रदर्शन भएको थियो ।

‘तिनीहरू’को कथा नेपालको एक जंगलबीच रहेको एक सानो गाउँमा आधारित छ, जहाँ जंगली हात्तीको त्रास छ । कथाको केन्द्रमा ‘किन्नर’ समुदायकी अगुवा पिरती छिन् । उनी आफूले प्रेम गर्ने पुरुषसँग सामान्य जीवन बिताउने सपना देखिरहेकी हुन्छिन् ।

तर, समुदायकी एक युवती हराएपछि उनी त्यसको खोजीमा जुट्न बाध्य हुन्छिन् । त्यसक्रममा उनले प्रेम र आफ्नो समुदायप्रतिको जिम्मेवारीमध्ये एउटा रोज्नुपर्ने अवस्था आउँछ ।

फिल्मको निर्माण ‘अन्डरग्राउन्ड टकिज नेपाल’, ‘ले भाल्सेउर’ र ‘डी गेसेलशाफ्ट डीजीएस’ले गरेका हुन् । सह-निर्मातामा ‘एनक्वाड्रामेन्टो प्रोडुसोएस’, ‘बबल्स प्रोजेक्ट’, ‘जिस्लरम्यान फिल्मप्रोडक्सन’, ‘स्टर्म फिल्म्स’, ‘जयन्ती क्रिएसन्स’ तथा ‘जेडडीएफ/डास क्लाइने फर्नजेहस्पिल’ र ‘जेडडीएफ/आर्टे’ छन् ।

‘बेस्ट फ्रेन्ड फरेभर’ले यस वर्ष कान्समा फ्रेन्च एनिमेसन फिल्म ‘ब्लेज’ पनि प्रस्तुत गर्दैछ, जसको प्रदर्शन ‘कान्स एसिड’ विधामा हुनेछ । कम्पनीसँग ‘निना रोजा’ लगायत जापानी एनिमेसन ‘चिम्नी टाउन : फ्रोजन इन टाइम’ र ब्राजिली एनिमेसन ‘पपाया’ जस्ता फिल्म पनि रहेका छन् ।

सन् २०१९ मा कान्सबाट सुरु गरिएको ‘बेस्ट फ्रेन्ड फरेभर’ पेरिसस्थित ‘इन्डी सेल्स’को सहायक कम्पनी हो । यसको व्यवस्थापन मार्टिन गोन्द्रे, चाल्र्स बिन र ‘इन्डी सेल्स’का सह-संस्थापक निकोलस एसबाकले सम्हालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?