+
+

सरकारले घण्टाघर भत्काउन लागेको हो ?

अच्युत पुरी अच्युत पुरी
२०७८ असोज ५ गते २०:१९

५ असोज, काठमाडौं । विपक्षी दलका नेता केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट पटक-पटक आरोप लगाएका छन्, ‘धरहरा बनाएको देखेपछि अब घण्टाघर भत्काउने रे !

बिहीबार एक कार्यक्रममा पनि नेकपा एमालेका अध्यक्ष ओलीले यो सरकारले बनाउन नसक्ने भन्दै घण्टाघर नभत्काउन चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘यिनीहरुले घण्टाघर बनाउँदैनन्, बेसरी गरे भने भत्काउने हो । म चुनौती दिएर भन्छु, घण्टाघर बनाउन सक्दैनन् । बनाउन नसक्नेले नभत्काऊ ।’

के सरकारले घण्टाघर भत्काउन लागेको हो ? यसका लागि २५ भदौमा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश भएको बजेट अध्यादेशको प्रातिस्थापन विधेयक हेर्नुपर्छ । त्यसको बुँदा नम्बर ४३ मा भनिएको छ, ‘मुलुककै सबभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिनेछ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार घण्टाघरको पुनर्निर्माण योजना ओली सरकारकै पालामा बनेको हो तर बजेट छुट्याइएको थिएन । यो योजनाको लागि बजेट परेको भने अहिले मात्र हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार घण्टाघरको पुनर्निर्माणलाई बहुवर्षीय आयोजनामा राखेर बढीमा डेढ वर्षभित्र पुनर्निर्माण गर्ने योजना थियो । तर गत आर्थिक वर्षमा बहुवर्षीय योजनामा राख्न बजेट पुगेन । त्यही भएर घण्टाघर पुनर्निर्माणको योजनालाई बजेटमा राख्न सकिएन ।

चालु आर्थिक वर्ष २०७८/७९ मा भने बहुवर्षीय आयोजनामा समावेश गर्न पुग्ने गरी स्रोत सुनिश्चित गरिएको छ । घण्टाघर पुनर्निर्माणमा करिब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कस्तो बन्नेछ नयाँ घण्टाघर ?

२०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको घण्टाघर पुनर्निर्माणका लागि पुरातत्व विभागको सहमतिमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत छ ।

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीका अनुसार घण्टाघर अहिले जुन स्थानमा छ, त्यहीँ पुनर्निर्माण हुनेछ । अहिले जुन स्वरुपको छ, त्यही स्वरुपमा पुनर्निर्माण गरिनेछ । ‘कतै रेट्रोफिटिङ गर्नुपर्ला, कतै पूरै भत्काएर पुनर्निर्माण गर्नुपर्ला’, ज्ञवालीले भने, ‘यसको ऐतिहासिक र पुरातात्विक महत्व जस्ताको तस्तै कायम हुन्छ ।’ उचाइ पनि अहिलेकै कायम राखिनेछ ।

चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया पूरा गरी निर्माण शुरु गर्ने र त्यसको डेढ वर्षमा निर्माणको काम सकिने प्राधिकरणका सीइओ ज्ञवालीले जानकारी दिए ।

शहरी विकास विभागले निर्माण गर्ने

पुनर्निर्माण प्राधिकरणको आयु २०७८ पुस महिनापछि समाप्त हुँदैछ । त्यसपछि पुनर्निर्माण अन्तर्गतका काम आफ्नो विभागीय जिम्मेवारी अनुसार मन्त्रालय र विभागहरुले अगाडि बढाउने छन् ।

घण्टाघरको काम शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ । प्राधिकरणले भने अनुगमन, सुपरिवेक्षण र सहजीकरणको काम गर्ने सीइओ ज्ञवालीले जानकारी दिए । ‘फलोअप हामी पनि गर्छौं,’ उनले भने, ‘तर निर्माणको काममा अब विभागको भूमिका हुन्छ ।’

प्राधिकरणले अन्य पुनर्निर्माणको काम मन्त्रालय र विभागहरुलाई हस्तान्तरण गरिसकेको छ । धरहरा, रानीपोखरी, सिंहदरबारलगायत आयोजनाको बाँकी काम भने अहिले प्राधिकरणले गरिरहेको छ ।

त्रिचन्द्र कलेजको पुनर्निर्माण कसरी हुनेछ ?

घण्टाघरसँगै रहेको त्रिचन्द्र कलेजको पुरानो भवन समेत पुनर्निर्माण गर्ने योजना छ ।

अहिले परामर्शदाताले काम गरिरहेका छन् । पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञवालीका अनुसार चार तलाको भवन बनाउन पूर्व तयारी प्राधिकरणले गर्नेछ भने निर्माण कार्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अगाडि बढाउने छ । ‘यो भवन अण्डर ग्राउण्डसहित अधिकतम चार तलाको बन्नेछ र घण्टाघर भन्दा होचो हुनेछ,’ सीइओ ज्ञवालीले भनेका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?