+
+

कोरोना संक्रमणको हटस्पट बन्यो काठमाडौं

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते २२:०२

२ माघ, काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड-१९) संक्रमणको हटस्पट बनेको छ । आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो, त्यसमध्ये दुई तिहाइभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४५३४ र २५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ ।

नयाँ संक्रमितमध्ये ३३४७ जना काठमाडौं उपत्यकाका छन्, जुन आइतबार पहिचान भएका संक्रमितको दुई तिहाइभन्दा बढी हो । उपत्यकामा पनि सबभन्दा धेरै २५४५ जना काठमाडौंका छन् । भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।

कोरोनाको सम्भावित तेस्रो लहरले काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको बताउँछन्, संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । ‘पहिलो लहरमा वीरगञ्ज संक्रमणको हटस्पट बन्यो । दोस्रोमा बाँकेको नेपालगञ्ज । तर तेस्रो लहरमा काठमाडौं उपत्यका संक्रमणको ‘हटस्पट’ बन्दै गएको देखिन्छ’ उनले भने ।

ओमिक्रोन आफैंमा बढी संक्रामक भाइरस हो र जनघनत्वको हिसाबले सबभन्दा घना शहर उपत्यका हो । डा. पुन भन्छन्, ‘जनघनत्व बढी भएको ठाउँमा जनस्वास्थ्यको मापदण्ड पालनामा बेवास्ता हुँदा संक्रमण तीव्र रुपमा फैलने नै भयो ।’

काठमाडौंमा विभिन्न राजनीतिक दलको सम्मेलनका कारण भीडभाड बढ्न जाँदा ओमिक्रोनको संक्रमण ‘साइलेन्स’ रुपमा फैलिएको हुन सक्ने उनी बताउँछन् । पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुलाई नै संक्रमण देखिनुले पनि राजनीतिक दलको सभासम्मेलनमै संक्रमण साइलेन्स रुपमा घुमिरहेको थियो भन्ने पुष्टि गरेको डा. पुन बताउँछन् ।

नेपालमा मंसिर १९ गते दुई जनामा ओमिक्रोन भेरियनन्टको संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन प्रभावित मुलुकबाट आएका एक व्यक्ति र उनको सम्पर्कमा रहेका अर्का व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । विदेशबाट फर्किएको केही समय पछि मात्रै उनीहरुमा संक्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक ट्रेसिङमा परेका सबै जनाको परीक्षण गरेको दावी सरकारले गरेको छ ।

तर उनीहरुको सम्पर्कमा रहेका सबै व्यक्तिको परीक्षणमा कहीँ कतै मिस हुन जाँदा साइलेन्स रुपमा भित्रभित्रै संक्रमण फैलिएको हुन सक्ने आशंका डा. पुनको छ ।

चिसो मौसमका कारण रुघाखोकी जस्ता लक्षण देखिएको भनेर परीक्षण नगर्दा पनि संक्रमण भित्रभित्रै फैलन सक्ने उनको तर्क छ । ओमिक्रोनको लक्षण डेल्टाको भन्दा केही भिन्न छ । डेल्टाले सिधै फोक्सोमा इन्फेक्सन गराउँथ्यो । जसले गर्दा संक्रमितलाई असहज भएर अस्पतालसम्म जानुपर्ने बाध्यता हुन्थ्यो । तर मौसम परिवर्तन हुँदा देखा पर्ने जस्ता लक्षण ओमिक्रोनले गराउने भएका कारण पनि धेरैले समयमा परीक्षण गराएनन्, जसले भित्रभित्र संक्रमण फैलिएर संक्रमण दर बढेको हुन सक्ने डा. पुन बताउँछन् ।

पछिल्लो समय संक्रमण बढेपछि अन्य ठाउँको तुलनामा काठमाडौं उपत्यकामा परीक्षण गराउनेहरु बढेका छन् । डा. पुन भन्छन्, ‘सामान्य लक्षण देखिए पनि घरका अन्य सदस्यमा संक्रमण नफैलियोस् भनेर परीक्षण गर्नेहरु यहाँ धेरै छन् । परीक्षण बढी भएपछि संक्रमण बढी देखिनु स्वभाविक पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?