+
+

इलाममा उडान बन्द, गुल्मीमा परीक्षण उडानमै अन्योल

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन ३० गते १८:४०
इलामको सुकिलुम्बा विमानस्थल/फाइल तस्वीर

३० साउन, काठमाडौं । इलाम नगरपालिकासँग उडान सम्झौता गरी सुरु भएको इलामको सुकिलुम्बा विमानस्थलमा उडान बन्द भएको छ । यस विमानस्थलमा तारा एयरले ११ फागुनदेखि उडान सुरु गरेको थियो ।

यात्रु सुनिश्चित नभएसम्म नियमित उडान राख्दा एयरलाइन्सले आम्दानी गर्न नसक्ने भएपछि वायुसेवा कम्पनीले नगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार हरेक उडानमा ११ जना यात्रुको सिटको ग्यारेन्टी नगरपालिकाले दिएको थियो । अर्थात १८ सिट क्षमताको ट्वीनअटर जहाजमा हरेक उडानमा ११ वटा सिट भन्दा कम यात्रु भएमा जति कम हुन्छ, त्यस बराबरको टिकट वापतको खर्च नगरपालिकाले भुक्तानी दिने गरी उडान सुरु भएको थियो । सुरुवाती चरणमा १२ वटा उडानका लागि नगरपालिकासँग सम्झौता भएको थियो ।

सो सम्झौता सम्पन्न भएसँगै इलाममा पुनः उडान रोकिएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट इलामको हवाई दुरी १ घण्टा हाराहारी पर्छ । ट्वीनअटर जहाज मात्र लैजानु पर्ने भएकाले भाडा महँगो पर्छ । सोहीकारण स्थानीय सरकारसँग ग्यारेन्टी खोजिएको हो । प्रारम्भिक चरणमा गरिएका १२ वटा उडानमा नगरपालिकाले खासै खर्च गर्नु नपरेका कारण समेत यहाँ भविष्यमा नियमित उडानको सम्भावना देखिएको उनले जानकारी दिए ।

‘इलाममा यात्रु थिए, नगरपालकाले २/३ लाख भन्दा बढी खर्च गर्नु परेन,’ उनले अनलाइनखबरसँग भने, ‘निश्चित यात्रुको सुनिश्चिता भए पुनः उडान हुन सक्छ ।’ पर्यटकीय सिजनमा इलाममा पुनः उडान हुन सक्ने उनले बताए ।

उता, भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको गुल्मीमा भने उडानको सुनिश्चितता छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गुल्मीमा परीक्षण उडान कहिले हुन्छ भन्ने समय निश्चित भइसकेको छैन ।

उडानको पर्खाइमा गुल्मी विमानस्थल/फाइल तस्वीर

एकातर्फ वायुसेवा कम्पनीहरुसँग पर्याप्त जहाज नहुनु र राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भएका जहाजलाई अधिकतम उपयोगमा ध्यान दिन नसक्दा पहाडी भेगमा बनाइएका साना विमानस्थल गौचरण बन्ने जोखिम हुन्छ ।

बलेवा र मनाङ विमानस्थल कालोपत्रेपछि पनि अलपत्र

नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यापारिक सम्भाव्यताविनै लगानी गर्दा बाग्लुङको बलेवा र मनाङको हुम्दे विमानस्थल कालोपत्रे भएर पनि अलपत्र अवस्थामा छन् ।

विमानस्थलको नियमित व्यावसायिक सञ्चालनमा तयारी नगर्ने हो भने गुल्मी र इलामको समेत यस्तै नियति हुन सक्ने जोखिम छ ।

बलेवामा बाग्लुङ नगरपालिकासँगको सहकार्यमा २०७४ सालमा तारा एयरसँग सम्झौता गरी सञ्चालन पहल थालिएको थियो । नगरपालिकाले २० लाख रुपैयाँ खर्च गर्‍यो । तर, यात्रु नै नभएपछि यो विमानस्थल बन्द भयो ।

साना जहाजको खडेरी, भएका जहाज पर्यटकीय गन्तव्यमा

महँगो सञ्चालन–मर्मत खर्च र सडक यातायातको सहज पहुँचले यात्रुको अभाव हुँदै जाँदा पहाडी र हिमाली भेगका विमानस्थललाई उपयुक्त हुने खालका जहाजमा पछिल्लो समय लगानी हुन सकेको छैन । वायुसेवा कम्पनीहरु सुगम क्षेत्रमा केन्द्रित भएका छन् ।

नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि दुर्गग भेगमा उडाने कम्पनीहरुलाई आकर्षित गर्न सहुलियत प्याकेजहरु ल्याउन सकेका छैनन् । यसले दुर्गममा जोखिम बढी र आम्दानी कम हुँदै गएको बर्तौला बताउँछन् । नेपालमा अहिले तारा एयरसँग तीन, समिट एयरसँग दुई र सीता एयरसँग एउटा मात्र सानो प्रकृतिका जहाज उडानयोग्य अवस्थामा छन् ।

नेपाल एयरलाइन्ससँग दुई वटा जहाज भए पनि उसले ती जहाजलाई पूर्ण क्षमतामा उडाउनै सकेको छैन । भएका जहाजलाई एयरलाइन्सले नियमित यात्रु पाउने लुक्ला, सिमकोट, मुगु, जुम्लासहितका विमानस्थलमा केन्द्रित गरेका छन् । यसले नयाँ विमानस्थलमा जहाज नै पाउने मुस्किल बनेको हो । ‘दुर्गममा उडाउनेलाई हवाई इन्धनमा मात्र सहुलियत ल्याइयोस् न,’ बर्तौला भन्छन्, ‘जोखिम मोलेर सेवा दिने क्षेत्रलाई सरकारले हेर्छ है भन्ने कुनै पनि कार्यक्रम नहुँदा नयाँ लगानी आउन नसकेको हो ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?