+
+
अन्तर्वार्ता | अग्नि खरेल :

विश्वप्रकाशजी मेरा लागि खास चुनौती होइन

‘चुनाव जितेर झापामै केन्द्रित हुन्छु’

गौरव पोखरेल गौरव पोखरेल
२०७९ मंसिर १ गते २१:०७

१ मंसिर, काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेकै बेला तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले ६ चैत २०७७ मा राजिनामा दिए ।

राजिनामा दिंदा उनको मुख्य उद्देश्य थियो, झापा फर्किएर संसदीय चुनावको तयारी गर्ने । त्यसका लागि उनी बिर्तामोडमा डेरा जमाएर बसे । नेकपा एमाले झापाको इञ्चार्ज पनि बने । झण्डै डेढ वर्ष झापा केन्द्रित गतिविधि गरे ।

झापा क्षेत्र नं. २ बाट टिकटको दाबी गरिरहेका उनलाई अन्तिममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा–१ पठाए । त्यसले उनलाई केही चुनौती त थपिएको छ ।

तर खरेल भन्छन्, ‘जिल्लाकै इञ्चार्ज भएर काम गरेकाले म झापा–२ र १ दुवैमा तुलनात्मक रूपमा बढी खटिएको थिएँ । दुवैमा मलाई असहज परिस्थिति होइन ।’ २०४९ सालदेखि नै झापा–१ एमालेले जित्दै आएको ठाउँ भएको बताउँदै उनले व्यापक जनाधार भएका कारण आफूले नै जित्ने बताए ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उनका मुख्य प्रतिस्पर्धी हुन् । तर, खरेलको दाबी छ, ‘मैले कांग्रेसलाई प्रतिस्पर्धी नै मानेको छैन ।’

प्रस्तुत छ, खरेलसँग आम निर्वाचनको विषयमा केन्द्रित भएर गरिएको कुराकानीः

बिहिबार रातिदेखि मौन अवधि सुरु हुँदैछ, हरेक मतदाताको घरदैलोमा पुग्न सम्भव भयो ?

घरदैलो लगभग सबै बुधबारबाटै सकियो । बिहीबार इँटाभट्टामा बृहत् आमसभा राखेका थियौं । पार्टी अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्नुभएको छ । कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

यो अवधिमा सबैतिर पुग्न सम्भव भयो, कि समय छोटो हुँदोरहेछ ?

समय त कम हुने भइहाल्यो । धेरै ठाउँमा मतदाताहरूले भेटघाट गर्न खोजिरहेका, निजी रूपमा भेटघाट गर्न खोज्ने विषयलाई प्राथमिकता राखेको देखियो । तर, यो संसदीय निर्वाचन हो । सबैको घर–घरमा पुग्न सम्भव र व्यावहारिक पनि हुँदैन ।

तर, अधिकतम प्रयास गरियो । मनोनयन दर्तापछि वडाहरूमा दुई÷तीनपटक पनि गयौं । वडाका महत्वपूर्ण चोकहरूमा माइक लगाएरै सम्बोधन गरेका छौं । पार्टी कार्यकर्ताहरूसँग पनि वडा–वडामा भेटघाट गरेपछि आम मतदाताहरूसँग भेटघाट गरेका छौं । त्यसमा पनि बाक्लो बस्ती भएका ठाउँहरूमा घर–घरमा गएर आफ्ना विषयहरू सुनाएका छौं ।

झापा–२ मा तयारी गरिरहनुभएको थियो, अन्तिममा झापा–१ मा पुग्नुभयो । सजिलो गाह्रो कस्तो महसुस गरिरहनुभएको छ ?

झापा–२ को तयारी भनेको पनि मेरो बसाइँ त्यहाँ भएकाले हो । सिफारिस त्यहाँबाट भएकाले हो । तर ती सबै सिफारिस मात्रै थिए । पार्टीका निर्णयमा त अरू साथीहरूको पनि विभिन्न ठाउँमा क्षेत्र परिवर्तन भएको छ । त्यसो हुनाले झापा–२ मा होइन, १ बाट चुनाव लड्ने भन्ने भयो । त्यस्तो असहज पनि होइन । पार्टी संगठन राम्रो ठाउँ भएको क्षेत्र हो ।

म डेढ, दुई वर्षदेखि नै पार्टी इञ्चार्जका रूपमा रहेकाले झापा–१ का एउटा तहका सबै कार्यकर्तासँग चिनजान भइसकेको थियो । कार्यकर्तामाझ घुलमिल भएको कुरामा त २ वा १ वा अरू कुनै पनि क्षेत्रमा मलाई जाँदा गाह्रो हुने थिएन । आम मतदातासँग त २ वा १ कुनैमा पनि पुगेको थिइनँ ।

स्थानीय तहको निर्वाचनमा झापा २ र १ दुवैमा म तुलनात्मक रूपमा बढी खटिएको थिएँ । दुवै जोडिएका स्थान भएकाले पनि विशेष फोकस गरेको थिएँ । त्यसले गर्दा पनि खास असहज भएन । सुरुमा एक÷दुई दिन केही भ्रम रहे पनि पछि रहेन । समग्रमा पार्टीका नेता, कार्यकर्ताहरू पार्टीको विजयलाई सुनिश्चित गराउनका लागि भयंकर रूपमा खटिएका छन् । त्यसैले खासै फरक पर्दैन ।

मतदातामाझ जाँदा चाहिं कस्तो खाले प्रतिक्रिया पाइरहनुभएको छ ?

मतदाताको ट्रेण्ड पहिलेभन्दा अलिक बदलिएको छ । त्यो स्वाभाविक पनि हो । मतदातामा चेतनास्तर पनि बदलिएको छ । मतदाता आफैं प्रश्न गर्ने ठाउँमा छन् । हिजो उसले थाहा नपाउने कुरा आज क्षणभरमै सामाजिक सञ्जालमार्फत थाहा पाइसकेको हुन्छ । त्यसकारण मतदाताको मन पहिल्यै तयार भइसकेको छ । विगतदेखि नै एकढंगले जो मान्छेहरू निर्वाचित भएर गए उनीहरूप्रति मतदाताको एक खालको आलोचना देखियो ।

अलिक बढी आफ्नो क्षेत्रमा नआएको, काम नगरेको, जनताको हेरचाहमा नआएको भन्ने गुनासो देखें । यसपालि घरदैलो गरेपछि मैले के बुझें भने निर्वाचित भएर गइसकेपछि जनतासँग प्रत्यक्ष भेटघाटमा रहेन भने पार्टीको त्यो मान्छे आलोचनाभन्दा बाहिर जाँदैन । कम्तीमा काम कति गर्न सक्छ, सक्दैन । गर्न नसके पनि इमानदारीपूर्वक मैले गर्न सकिनँ भन्नुपर्ने रहेछ ।

त्यो पनि नभन्ने काम पनि नगर्ने ! कामको कुरा परै जाओस्, भेटै पाइएन भन्ने धेरैको गुनासो छ । त्यसको अर्थ के हो भने जनता आफ्नो प्रतिनिधिलाई आफ्नो वरिपरि नै रहेको देख्न चाहन्छन् । आफ्ना समस्यामा उसले नेतृत्व गरिदेओस् भन्ने चाहन्छन् । त्यसैले विगतमा जुन कमी–कमजोरी रह्यो, त्यो मैले हुन दिन्नँ ।

त्यसो भन्दै गर्दा तपाईंले पनि भोलि आएर केन्द्रीय राजनीति नै गर्ने होला ! काठमाडौंमा नै केन्द्रित हुने होला नि त !

होइन, म चाहिं झापाकै इञ्चार्ज छु । महामन्त्री होइन नि त ! म स्थायी समिति सदस्य हो । म सचिवालयमा पनि छैन । सचिवालयमा हुने मान्छे एमालेमा अलिकति काठमाडौंमा केन्द्रित हुनुपर्छ । म झापा एमालेकै नेतृत्व गरिरहेको मान्छे भएकाले तपाईंले यो प्रश्न ममाथि होइन, विश्वप्रकाशजी माथि गर्नुपर्छ ।

मतदाताहरूको सांसदप्रति अपेक्षा के–के पाउनुभयो ?

एउटा विकास निर्माणसँग गाँसिएका कुरा हुन्छन् । त्यो स्वाभाविक पनि हो । अरू व्यक्तिगत कुरा पनि हुन्छन् । सामान्य कोही नागरिकता बनाउने समस्या, त्यसमा पनि हाम्रो जुन भद्रगोल पारा छ त्यसले पनि समस्या बनाउने भयो । हुने कुरा पनि भइरहेको छैन ।

हिजो म एउटा इस्यू हेरेर छक्क परें । म नै लागेपछि यसरी चाहिं हुन्छ भन्ने आयो, अनि त्यसरी नै गर्नुस् न त भनें । त्यसरी पनि भएको छ । उहाँ खुशी हुनुभयो । यसको अर्थ के हो भने मतदाताहरूले आफ्नो समस्या त्यहाँ गएर राख्छन् । त्यहाँ हुँदैन, कहीं राख्ने ठाउँ खोज्छन् ।

त्यो बेलामा उनीहरूको कुरा सुनेर हुनसक्ने कुराहरू त डेलिभरी गरिदिए भयो नि त ! विकास र समृद्धिको चाहना त आमरूपमा छँदैछ । त्यो उहाँहरूको अधिकार पनि हो । त्यो बाहेक पनि मान्छेका वैयक्तिक कुरा, मुद्दा, मामिला, सामाजिक सम्बन्धका कुराहरूमा गरिदिए हुन्थ्यो भन्ने अपेक्षा हुँदोरहेछ । जुन स्वाभाविक पनि हो ।

तर, संसद भनेको कानुन निर्माण गर्न जाने ठाउँ हो । सांसदका सीमितताहरू हुन्छन् । एउटा सांसदले ती सबै अपेक्षाहरू पूरा गर्न सम्भव हुन्छ होला ?

त्यसैले मैले उहाँहरूलाई भनेको छु, तपाईं १० वटा माग राख्नुस् । तर एउटा कुरालाई प्राथमिकता दिनुस् । तपार्ईंलाई तुरुन्तै चाहिएको सबैभन्दा नजिकको काम भन्नुस् न भनेको छु । मान्छेको काम गर्ने तरिकामा पनि भरपर्ने कुरा हो । आमनागरिकलाई पनि १० वटा माग राख्दा सबै पूरा हुँदैनन् भन्ने थाहा छ । मैले चोक–चोकमा भाषण गरेर यो कुरा भनेको छु ।

मैले के पनि भनेको छु भने विगतमा सम्बन्धित प्रतिनिधिले काम नगरेकाले तपाईंहरूले सबै मान्छेलाई शंकाको घेरामा राख्नुभयो । मलाई पनि शंकाको घेरामा राख्नुहोला । ठूलो प्रश्नबीचमा मेरो तस्वीर राख्नुभयो भने मलाई पनि शंकाकै घेरामा राख्नुस् । तर भोट चाहिं मलाई दिनुस् । किनभने, त्यसलाई चिर्ने मेरो जिम्मेवारी हो । जुन–जुन चोकमा भाषण गरेको छु, त्यही–त्यही चोकमा आउँछु ।

सबै कार्यकर्ता, मतदातालाई बोलाउँछु, अहिले म एकोहोरो कुरा गरिरहेको छु । त्यतिबेला दोहोरो कुरा हुन्छ, पहिले तपाईंहरूका कुरा सुन्छु, अनि आफ्ना कुराहरू भन्छु । त्यसो हुँदा सबैबीच अन्तरसंवाद हुन्छ । त्यो कुरा म जसै गरी पनि गर्छु । किनभने, मान्छेले जब त्यो कुरा चाहन्छ भने त्यो काम पूरा नगर्ने हो भने सांसदले किन प्रतिबद्धता गर्ने ? प्रतिबद्धता गर्नुको अर्थ पूरा पर्ने हो । १० वटा माग छ भने एउटा मात्र पूरा भयो भने पनि खुशी हुन्छन् ।

भनेको चुनावपछि पनि झापामै केन्द्रित हुने हो ?

शतप्रतिशत झापामै केन्द्रित हुने हो । अहिले पनि डेढ वर्षदेखि तपाईंहरूले धेरै चोटि खोज्दा कहाँ काठमाडौंमा भेटिएको छु ? बिर्तामोडमै बसिरहेको थिएँ होइन र ? अहिले मेचीनगर बसेको छु, त्यत्ति फरक न हो ! अहिले पनि म ३० दिनमा २४, २५ दिन काठमाडौं होइन, झापा नै हुन्छु । जनप्रतिनिधि भइसकेपछि त म झनै प्रतिबद्ध हुन्छु, झापामै रहन्छु ।

झापा–१ मा लड्दै गर्दा तपाईंका सबल पक्षहरू के–के हुन् जस्तो लाग्छ ?

पहिलो कुरा यहाँका जनताको कम्युनिस्ट पार्टीप्रति व्यापक ठूलो समर्थन छ । चन्द्रगढीका दुई वडा छन्, ज्यामिरगढी, धुलाबारी, पहिलेको काँकरभिट्टा, बाहुनडाँगी, शान्तिनगर । यी क्षेत्रहरू भनेको हिजोदेखि नै २०४९ मा चुनाव लड्दा पनि एकाधबाहेक प्रायः सबै ठाउँमा चुनाव जितेको ठाउँ हो । यो हाम्रो पार्टीको व्यापक जनाधार भएको ठाउँ हो ।

तुलनात्मक रूपमा अरूभन्दा राम्रो जनाधार भएको ठाउँ हो । हाम्रा साथीहरूले हिजोदेखि त्यहाँ गरेका कामको जनतामा राम्रो छाप परेको छ । धेरै कामहरू भएका छन् । अर्को चाहिं यो ठाउँमा भएका विकास निर्माणका कुरामा स्पष्ट रूपमा एजेण्डाहरू अघि सारेका छौं ।

हात्ती, तटबन्धन र पूर्वाधारहरूका विषयमा हाम्रा योजना स्पष्ट रूपमा राखेका छौं । शिक्षा, स्वास्थ्य र रोजगारका विषयमा स्पष्ट रूपमा राखेका छौं, त्यसमा मतदाताहरू सबै सहमत हुनुहुन्छ ।

त्यसबाहेक पछिल्लो समय भएको स्थानीय तह निर्वाचनमा पूर्ण रूपमा सकारात्मक आएको छ ।

भद्रपुरको दुवै वडामा सकारात्मक छ, शान्तिनगरमा एउटा जित्यौं, तीन वटा वडाअध्यक्ष जित्यौं । वडासदस्य चाहिं जितेका छौं । त्यसपछाडिको कारण पार्टी जीवनमा आएका आन्तरिक समस्या थिए । अहिले ती समस्या हल भइसकेका छन् ।

मेचीनगरका २१ वटा वडामा सग्लो रूपमा १४ वटा वडा, वडाअध्यक्ष बाहेक चारै वडा सदस्य रहेको गर्दा १७ वटा पुग्छ । जम्माजम्मी विपक्षीले जितेको चार वटा मात्रै हो । यो गठबन्धनसँग चुनाव लड्दाकै नतिजा हो, यो । त्यो गठबन्धन पनि हिजो जस्तो कसिलो अहिले छैन । त्यहाँ जसपा छैन । हिजो राप्रपा हामीसँग तालमेलमा थिएन । अहिले हामीसँग छ । दोस्रो मैले धोकाको राजनीति गरेको छैन । गर्दिनँ पनि ।

तर झापा–१ क्षेत्रीय कमिटीले रविन कोइरालालाई सर्वसम्मत रूपमा सिफारिस गरेको थियो । अन्तिममा तपाईं उम्मेदवार भएर आउनुभयो । भलै कोइराला पनि अहिले प्रदेशमा उम्मेदवार हुनुहुन्छ । तर त्यो असन्तुष्टिले पनि आफूहरूलाई फाइदा हुने कांग्रेस नेता, कार्यकर्ताहरूको बुझाइ रहेछ नि !

त्यो पटक्कै होइन । उहाँहरूले औंला उठाउने ठाउँ खोजिरहनुभएको थियो । अर्को कुरा के हो भने सिफारिस गर्ने मान्छे नै म हुँ । म जिल्लाको इञ्चार्ज हुँ । सिफारिस भनेको सिफारिस मात्रै हो । त्यो उहाँहरूलाई पनि थाहा छ । निर्णय त पार्टीमा कुनै तल–माथि त हुन्छ नि ! सम्बन्धित मान्छे नै जो उम्मेदवार हो, प्रदेश जाने कुरामा पार्टी अध्यक्षसँग बसेर लामै छलफल भएको हो । त्यो कुरामा पूर्णरूपमा मन लगाउनु भएर व्यवहारमा पनि त्यो देखिएको छ ।

त्यो भइसकेपछि अहिले तपाईंले भनेको कुरा कांग्रेसका साथीभाइले आफूलाई केन्द्रमा राखेर गरेको आकलन मात्र हो । सत्य कुरा होइन । त्यो आकलन गर्न पाउने हक पनि छ, उहाँहरूलाई । त्यसको प्रयोग भरपुर गरे पनि हुन्छ । तर त्यो आकलन गरिराख्दा अर्को विषय पनि होला नि !

मेचीनगरका कांग्रेसका मेयरले २१ हजार मत ल्याउँदा गठबन्धनकै माओवादीले १२०० मत कसरी ल्यायो ? भद्रपुर नगरपालिकाको मेयरमा कांग्रेसले साढे १२ हजार मत ल्याउँदा उपमेयर माओवादीले साढे ८ हजार भोट कसरी आयो ? राप्रपाले साढे ९ हजार भोट ल्याएर कसरी जित्यो ?

गठबन्धन माओवादीसँग भएको छ, चुनाव राप्रपाले जितेको छ । यस्ता धेरै उदाहरण छन् । अर्को रविनजी र मेरोबीच सहमति भएर सबै नेतृत्व बसेर उम्मेदवारी दिएको हो ।

मैले फेरि स्थानीय तह निर्वाचनमा एमालेबाट टिकट पाएका मान्छेको त टिकट खोसेको छैन त ! बरु प्रदेश सभाका सदस्यलाई राजिनामा गराएर गोपालचन्द्र बुढाथोकीलाई यहाँ उहाँ नै चाहिन्छ भनेर पार्टी अध्यक्षलाई कन्भिन्स गराएर उम्मेदवार बनाएर किन प्रदेशका मान्छेलाई तल ल्याएको भनेर प्रश्न उठ्दा मैले आम जनताको बीचमा भनेको छु, स्थानीय तह सप्रिएन भनेदेखि राजनीति सप्रिंदैन । विकास पनि हुँदैन । त्यसैले स्थानीय तहलाई मजबुत गराउनका लागि प्रदेशबाट राजीनामा गराएको हो भनेको छु ।

अर्थात्, मैले कुनै एकजनाले पाएको टिकट खोसेको होइन । बरु भइसकेको पदबाट राजिनामा दिएर ल्याएको हो । तर त्यही काम उहाँले गर्नुभयो गर्नुभएन ? अथवा, पाइरहेको टिकट खोस्नुभयो भनेर व्यापक चर्चा छ । कांग्रेसका कुरा भएकाले धेरै कुरा मैले किन गर्ने !

त्यसो भए कांग्रेसका महामन्त्री शर्मालाई कत्तिको चुनौती देख्नुभएको छ ?

कांग्रेस मेरो लागि खास चुनौती नै होइन । कांग्रेसको झापा–१ मा त्यो खालको स्थिति नै होइन । त्यसैले विश्वप्रकाशजी कांग्रेसलाई जिताउँ भनेर भन्न छाडेर विश्वप्रकाश जिताउँ भनेर भाषण गर्न थाल्नुभएको छ ।

कांग्रेसलाई जिताउँ, रूख चिह्नलाई जिताउँ होइन, विश्वप्रकाशलाई जिताउँ भन्ने अभियान सुरु गर्नुभएको छ । त्यसको एउटै कारण के हो भने कांग्रेसभन्दा भोट नपाइने बरु विश्वप्रकाशभन्दा दुईपटक चुनाव हारेको सहानुभूति पाउँछु कि भन्ने हो । तर सचेत मतदाताले त्यो गर्दै गर्दैनन् ।

विकासको काम धेरै गर्‍यौं भन्नुभयो । झापा–१ को कुरा गर्दा जंगली हात्तीको समस्या त्यहाँका नागरिकले वर्षौंदेखि भोग्दै आएका छन्, यसका लागि तपाईंका योजना के–के छन् ?

हात्तीको समस्या समाधान गर्न पनि रविनजी संविधानसभाको सदस्य भएर आउँदा नै सुरु भएको हो । जे सुरु भएको छ, अरूले गरेका छैनन् । हामीले नै गरेका छौं । यद्यपि, त्यो पर्याप्त भएको छैन भन्ने कुरा सही हो । त्यसलाई तत्कालका लागि ‘फेन्सिङ वायर’ लाई नै अघि बढाउने हो । अहिले त्यो मर्मतसम्भार गरेर गर्‍यो भने प्रभावकारी नै छ ।

तर पटक–पटक मर्मतसम्भार गर्नुपर्ने हुन्छ । त्यसका लागि नगरपालिका, प्रदेश र संघीय संरचना तयार हुनुपर्छ । दीर्घकालीन समाधानका लागि नदी किनारमा हाम्रोपट्टि तटबन्ध गरिदियो भने हात्ती चढ्न सक्दैन । तटबन्धनका कारण खेतीको सुरक्षा पनि हुन्छ, बाढी नियन्त्रणमा पनि हुन्छ । हात्ती पनि छिर्न नपाएपछि आफ्नै बाटोतिर फर्किन्छ । त्यो चाहिं आम मतदाताले यो गर्दा ठिक हुन्छ भनेका छन्, त्यसतिर जान्छौं ।

अन्तिममा तपाईंका स्थानीय र राष्ट्रिय एजेण्डा र प्राथमिकता के–के हुन् ?

स्थानीय एजेण्डा जे हुन्, जनताले जे समस्या फेस गरिरहेका छन् । तिनै अहिले मेरा लागि प्राथमिकताका विषय हुन् । हात्ती एजेण्डालाई नियन्त्रणमा लिने, तटबन्धन गर्ने कुरा, सबै क्षेत्रमा जनताको तटबन्धन छ, १ नम्बरमा छैन ।

२ नम्बरदेखि सुरु भएर ५ नम्बरसम्म छ । त्यसलाई ल्याउने छु । पूर्वाधारमा व्यापक लगानी गर्नुपर्ने अवस्था छ । शान्तिनगर र बाहुनडाँगी अझै पछाडि छन् । हँडिया र निन्दा नदीमा झोलुंगे पुल र अरू पुल ठाउँ–ठाउँमा राख्नुपर्ने अवस्था छ । एउटा वडामा झोलुंगे पुल हुने हो भने तीन मिनेटको बाटो छ ।

तर, पुल नहुँदा १५ किलोमिटर हिंडेर जानुपर्ने अवस्था छ । विद्यालयहरू पनि छन्, पर्याप्त छैनन् । भवनहरू उचित रूपमा छैनन् । स्वास्थ्य चौकी पनि उचित रूपमा छैनन् । संख्या पनि कम छन् ।

केही ठाउँमा शान्ति सुरक्षाको दृष्टिकोणबाट प्रहरी चौकी बसेको तर, द्वन्द्वकालबाट बन्द भएका अहिलेसम्म बनेका छैनन् । केही क्षेत्रमा सिंचाइका समस्या छन् । त्यसलाई सुविधायुक्त बनाउनुपर्नेछ । बाँकी राष्ट्रिय एजेण्डामा पार्टीले लिएका एजेण्डाकै आधारमा अघि बढाउँछौं ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?