+
+
Flowers

अनलाइनखबरको ‘५० प्रभावशाली महिला’ छनोट मनोनयन फर्म

५० प्रभावशाली महिलामा किन मनोनयन गर्ने ?

त्यो समाज जहाँ महिलाहरू आफ्नो क्षमता प्रदर्शन गर्न स्वतन्त्र छैनन्। अझै संरचनात्मक विभेद कायम छ । जहाँ उनीहरूको आवाज हम्मेसी सुनिंदैन र योगदानहरूको कुनै गणना गरिंदैन ।

यी सबै कारण हाम्रो समाजमा महिला आफैंमा एउटा वर्ग बन्न पुगेको छ र सबै खाले महिला कुनै न कुनै प्रकारको विभेदमा परेका छन् ।

यावत् अवरोध र कठिन परिस्थितिहरूका बीचबाट उल्लेख्य सङ्ख्यामा महिलाले पनि सफलता हासिल गरिरहेका छन् । हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाइरहेका छन्, प्रतिस्पर्धामा अब्बल नतिजा देखाइरहेका छन् ।

उनीहरूले आफ्नो लगनशीलता र मिहिनेतले नयाँ इतिहास रचेका छन्। समाजलाई आशाको किरण प्रवाह गरिरहेका छन् ।

यसर्थ अनलाइनखबरले हरेक वर्ष ८ मार्चमा नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञानविज्ञान आदि क्षेत्रका महिलाको अर्थपूर्ण उपस्थितिलाई सार्वजनिक मञ्चमै गणना हुने विषय बन्न सकोस् भनी ५० प्रभावशाली महिलाको सूची तयार गर्ने गरेको छ ।

२०८० सालदेखि सुरु यो काम अनलाइनखबरको एउटा यस्तो पहल हो जसले ८ मार्चको अवसर पारेर नेपालका ५० सबैभन्दा प्रेरणादायी/प्रभावशाली महिलालाई पहिचान र सम्मान गर्नेछ । उनीहरू आफ्नो क्षेत्रमा महत्वपूर्ण प्रभाव छोड्ने गरी काम गरेका परिवर्तनकर्ता महिलाहरू हुनेछन् । यो प्रयत्न महिलाहरूको संघर्ष, सशक्तीकरण, साधना, प्रतिभाको महोत्सव पनि हो ।

यसका लागि तपाईंले मनोनयन गर्नुभएको र हाम्रो समाचार कक्षका सहकर्मी, विभिन्न सरोकारवाला तथा स्रोतहरूले दिनुभएको सूचनामा आधारित रहेर हामी प्रारम्भिक सूची बनाउँदैछौं ।

उपलब्ध प्रारम्भिक सूचीलाई हामीले निर्णायक अर्थात् छनोट समितिसमक्ष पेश गर्नेछौं । उहाँहरूको छनोट तथा सिफारिसमा आधारित भएर ५० प्रभावशाली महिलाको अन्तिम सूची ८ मार्चमा सार्वजनिक गर्नेछौं ।

आउनुहोस्, हामी सँगै यी सफल महिलाहरूलाई सम्मान गरौं।

कसलाई मनोनयन गर्ने ?

हामी शक्तिको प्रयोगका कारण चम्किलो देखिएका भन्दा आफ्नो मेधा, प्रतिभा अनि निरन्तरको संघर्ष र समर्पण साथै नयाँ उपलब्धिको खोजीका लागि अवरोधहरू चिर्दै डट्ने सामर्थ्य भएका ५० महिलाको अन्तिम सूचीमा समेटिऊन् भन्ने चाहन्छौं ।

हामी नेपाली समाजको प्रत्येक इकाईभित्र पसेर अध्ययन गर्ने कोसिस गर्नेछौं, जसमध्येबाट छानिएका ५० नामहरूलाई हामी हाम्रा आदरणीय पाठकबीच सार्वजनिक गर्न चाहन्छौं ।

संरचनागत लाभांशमा छुटेका थुप्रै महिला तपाईंले मनोनयन गरेकै कारण यो सूचीमा अटाउनुहुनेछ । महत्वपूर्ण योगदानकर्ता महिलाहरू नछुटाउन पनि तपाईं प्रबुद्ध पाठकबाट हामी सहयोगको अपेक्षा गर्छौं ।

धन्यवाद !

मनोनय फर्म-

 

५० प्रभावशाली महिला-२०२६ बारे जानकारी

१. ५० प्रभावशाली महिला कार्यक्रम के हो ?

५० प्रभावशाली महिला कार्यक्रम अनलाइनखबरको एउटा यस्तो पहल हो जसले ८ मार्चको अवसर पारेर नेपालका ५० सबैभन्दा प्रेरणादायी/प्रभावशाली महिलाहरूलाई पहिचान र सम्मान गर्नेछ । उनीहरू आफ्नो क्षेत्रमा महत्वपूर्ण प्रभाव छोड्ने गरी काम गरेका परिवर्तनकर्ता महिलाहरू हुनेछन् ।

२. कसलाई मनोनयन गर्न सकिन्छ ?

आफ्नो क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कुनै पनि नेपाली नागरिक मनोनयनका लागि योग्य छन् । यसमा नेपाली नागरिक वा नेपालमा काम गरिरहेका विदेशीहरू सहभागी हुन सक्नेछन् । व्यवसाय, सामाजिक कार्य, प्रविधि, कला, शिक्षा लगायत विभिन्न क्षेत्रमा कार्यरत युवाहरू समावेश हुन सक्छन्। अघिल्लो वर्ष ५० प्रभावशाली महिलाको सूचीमा समावेश भएका महिलालाई यसपटक मनोनयन गर्न सकिने छैन ।

३. उनीहरू कसरी छानिन्छन् ?

उम्मेदवारहरूको उपलब्धि, नेतृत्व गुण र आफ्नो क्षेत्रमा सिर्जना गरेको प्रभावको आधारमा मूल्याङ्कन गरिनेछ । नोमिनेसनमा परेका र अनलाइनखबरले आफैंले फेला पारेका पात्रहरूको सूचीलाई छनोट समितिले मापदण्डका आधारमा अन्तिम ५० जनाको छनोट गर्नेछ।

४. के म आफैं मनोनयन गर्न सक्छु?

सक्नुहुन्छ, तपाईं ५० प्रभावशाली महिला कार्यक्रमको लागि योग्य ठान्नुहुन्छ भने आफैंलाई पनि मनोनयन गर्न सक्नुहुन्छ । यदि कोही यस्ता अरु पात्र तपाईंले चिन्नु/देख्नुभएको छ भने उनलाई पनि मनोनयन गर्न सक्नुहुन्छ ।

५. मनोनयनको अन्तिम मिति कहिले हो?

१५ मंसिर तदनुसार १४ डिसेम्बर २०२५ अर्थात् २८ मंसिर २०८२ को कार्यालय समयभित्र मनोनयन गर्न सकिनेछ ।

६. कसैलाई मनोनयन गर्न शुल्क लाग्छ ?

लाग्दैन, ५० प्रभावशाली महिला कार्यक्रमको लागि कसैलाई मनोनयन गर्न कुनै शुल्क लाग्दैन।

७. के मैले एकभन्दा बढी पात्रलाई पनि यो सूचीका लागि सिफारिस गर्न सक्छु ?

अवश्य पनि, बढीमा तीन जनालाई मनोनयन गर्न सक्नुहुन्छ ।

८. आफू मनोनयनमा परेका उम्मेदवारहरूले यो सूचना कसरी थाहा पाउँछन् ?

मनोनयनमा परेकाहरू बारे थप कुरा बुझ्नु परे अनलाइनखबरले सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नेछ । ५० प्रभावशाली महिला छनोट भइसकेपछि भने प्रोफाइल लेखनका लागि अनलाइनखबरले सम्पर्क गर्नेछ र अन्तर्राष्ट्रिय नारी दिवसको दिन उनीहरूलाई अनलाइनखबरले आफ्नो वेबसाइट र सामाजिक सञ्जाल मार्फत सार्वजनिक घोषणा गर्नेछ ।

९. यो सूचीमा मनोनयनमा परेको भन्दै मैले इमेल प्राप्त गरें, अब के गर्नुपर्छ?

हो, यो सूचीमा मनोनयन परेको बारे तपाईंलाई अनलाइनखबरको आधिकारिक इमेलबाट सूचना आउन सक्छ । त्योसँगै तपाईंलाई अनलाइनखबरका प्रतिनिधिले सम्पर्क गर्नुहुनेछ जसलाई आवश्यक जानकारी दिएर सहयोग गर्नुपर्नेछ ।

१०. मैले यस बारेमा थप जानकारी कहाँ पाउन सक्छु?

५० प्रभावशाली महिला कार्यक्रमको बारेमा थप जानकारीको लागि onlinekhabar.com को वेबसाइट र सोसल मिडिया प्लेटफर्महरू हेर्नुहोस् जहाँ विस्तृत जानकारी, मापदण्ड र छनोट प्रक्रिया पोस्ट गरिएको छ ।

११. के मैले कार्यक्रमलाई सघाउन अरू केही गर्न सक्छु?

तपाईंले आफ्ना साथी, परिवार र अन्य च्यानल मार्फत ५० प्रभावशाली महिला कार्यक्रमको बारेमा प्रचार गर्न मद्दत गर्न सक्नुहुन्छ। यसले थप योग्य युवा व्यक्तिहरूको पहिचान गर्न र कार्यक्रमलाई सफल बनाउन मद्दत गर्नेछ।
यो प्रक्रियाबारे केही जिज्ञासा वा सुझाव छन् भने हामीलाई list@onlinekhabar.com मा इमेल गर्नुहोला । अन्तिम सूची ८ मार्च २०२५ मा सार्वजनिक गर्नेछौं ।

तपाईंको सहभागिताको लागि धन्यवाद !