+
+
Shares

गर्मी, गुँड र जीवनको गीत

आफ्नो सानो संसारलाई बचाउन एउटी आमाको संघर्ष, प्रेम र समर्पण साँच्चै नै हृदयस्पर्शी लाग्छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते ६:४८

१० वैशाख, काठमाडौं । गत वर्षको विनाशकारी बाढीले रोशी खोलाको किनारका हरियालीलाई मरुभूमिमा परिणत गर्‍यो। उर्वर माटो बालुवाले पुरियो, मान्छेसँगै धेरै प्राणीका जीवन र घरवास धमिलो पानीले बगायो ।

किसानका सपनाहरू छियाछिया भए। तर जीवन कहाँ सजिलै हार्छ र! परिश्रमी किसानहरूले त्यही बालुवामा कृषि औजार चलाए र गराका आकार दिए । र, फेरि जीवनको अंकुरण खोजे – मकैका बिरुवा उमारे।

अहिले त्यही मकैका चमराहरूले उजाडिएको भूमिमा जीवनको आशा सञ्चार गरिरहेका छन् ।

तर, वैशाखको प्रचण्ड गर्मीले सिन्धुलीको नेपालथोकको जनजीवनलाई थप अत्यासलाग्दो बनाएको छ ।

रोशीले बिगारेको बाटो हुँदै नेपालथोक प्रवेश गर्न लागेका सवारी साधनहरू प्रहरी सुरक्षा जाँचका लागि लामबद्ध छन् । गर्मीले गाडीभित्रका यात्रुहरू पनि असिनपसिन छन् ।

त्यहीँ गाडीको लाइन रहेको सडकमुन्तिर पातविहीन रुखमा देखियो कागको एउटा गुँड । त्यहाँ तीन साना बचेराहरू भोक र तिर्खाले व्याकुल छन्। उनीहरू मुख बाएर आकाशतिर टाउको उठाइरहेका देखिन्छन् ।

माउ काग निरन्तर रूपमा टाढाटाढाबाट आहारा बोकेर आउँछन् र आफ्ना सन्तानको मुखमा जीवनको रस भरिदिन्छिन्। यस्तो लाग्छ कि यी दृश्यहरू प्रकृतिमा अभिभावकत्वको अनुपम उदाहरण हुन्।

आफ्नो सानो संसारलाई बचाउन एउटी आमाको संघर्ष, प्रेम र समर्पण साँच्चै नै हृदयस्पर्शी लाग्छ।

 

प्रकृति क्रूर छ, तर जीवनको मायाले त्यसलाई पनि हराउन सक्छ।

चराचुरुङ्गीहरू हरेक चुनौतीको सामना गर्दै आफ्नो अस्तित्व जोगाउन प्रयासरत हुन्छन् । यो गर्मीमा ती बचेराहरूलाई बचाउन माउले गरेको अथक प्रयासले हामीलाई जीवनको मूल्य र निरन्तरताको महत्त्व सिकाउँछ नै।

प्रकृति आफैँमा सुन्दर र निर्मम दुवै छ। एकतिर रोशीको बाढीले विनाश लीला मच्चायो, बस्ती उजाड बनायो, हरियाली खोस्यो।

तर अर्कोतिर, त्यही उजाडिएको ठाउँमा जीवनको नयाँ पालुवा पलाएको छ। माउ कागको आफ्ना बचेराप्रतिको अगाध प्रेम र समर्पणले हामीलाई प्रकृतिको सुन्दर पक्ष सम्झाउँछ ।

भनिन्छ नि, आशा त्याग्नु भनेको जीवितै मर्नु हो। रोशीका किसानहरूले बालुवामा मकै उमारेर यही आशालाई जीवित राखेका छन्।

चमरा हल्लिँदैछन्, यस्तो लाग्छ- प्रकृतिले सास फेरिरहेको छ। पसिना पोखेपछि त्यहाँ आशा उब्जन्छ नै ।

त्यस्तै, ती भोक र तिर्खाले व्याकुल बचेराहरूलाई आहारा खुवाएर माउले जीवनको ज्योति बचाइराखेकी छिन्। जस्तोसुकै कठिन परिस्थितिमा पनि आशाको त्यान्द्रो समातेर संघर्ष गरिरहनुको विकल्प कहाँ छ र ?

मान्छेले प्रकृतिको सम्मान गर्नैपर्छ । रोशीको बाढी एउटा चेतावनी थियो।वातावरणमैत्री विकासविरुद्ध गए भविष्यमा यस्ता विनाशकारी घटनाहरू दोहोरिन्छन् नै ।

चराचुरुङ्गी, जुन हामीले सानो देख्छौं, उनीहरूको जीवन पनि विशाल सङ्घर्षको कथा हो।

यी तस्वीरहरू केवल दृश्य होइन, प्रकृतिको कथा हो—जहाँ विनाश र निर्माण, हताशा र आशा साथसाथै बस्छन्। मानिसले प्रकृतिसँग सहअस्तित्वको पाठ यहाँबाट सिक्न सक्छ।

फोटोः रमेशकुमार धमला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?