जेनजी तनुजा- माइतीघरदेखि माइतीघरसम्म
धनगढीमा हुर्किएकी तनुजा पाण्डेको बाल्य स्मृतिमा शान्तिका होइन, त्रासका चित्रहरू कोरिएका छन्। उनी सानै हुँदा देशमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। हरेक बिहान उठ्दा घरको बरन्डामा गोलीका छर्राहरू भेटिन्थे। स्कूल जाँदा कालोपाटीमा लेखिएको हुन्थ्यो- ‘सावधान ! यहाँ बम राखिएको छ।’
कतिपय अवस्थामा बीच बाटोबाटै स्कूलबाट घर फर्काइन्थ्यो। आँगनमा खेल्दाखेल्दै एक्कासि फायरिङ शुरु हुन्थ्यो, अनि ज्यान जोगाउन वरपर जोसुकैको घरमा छिर्नुपर्ने बाध्यता थियो। तनुजाले आफ्नै आँखाअगाडि छिमेकीको ज्यान गएको देखेकी छिन्। बाबा दुई-तीन दिनसम्म घर नफर्किंदा परिवारमा रुवाबासी चल्थ्यो। युद्धकालमा यस्ता घटना उनीहरूको दैनिकी जस्तै बनिसकेका थिए।
उनका बाबा नरपति पाण्डे धनगढीको फूलबारीस्थित खप्तड निमाविमा शिक्षक थिए भने आमा उर्मिला ओली मनोसामाजिक परामर्शकर्ता (साइकोसोसियल काउन्सिलर)। बाबा एमाले पार्टीसँग आबद्ध एउटा आदर्शवादी शिक्षक थिए, जसले समुदायको हितमा काम गर्नुलाई नै जिन्दगीको लक्ष्य सम्झेका थिए।
समाजप्रतिको यही समर्पण तनुजाले बाबाबाट सिकिन्। तर, युद्धको त्यो त्रास र अनिश्चित परिवेशमा छोराछोरी हुर्काउनु कति कठिन थियो भन्ने आमालाई मात्र थाहा थियो। अन्ततः २०६५ सालको चुनावपछि आमाले त्यहाँबाट बसाइँ सर्ने कठोर निर्णय गरिन्।
तनुजाका अनुसार आमाले बाबालाई स्पष्ट भनिन्, ‘राजनीति गर्ने भए तिमी यहीँ बस, हामी जान्छौं।’ केही समय बाबालाई धनगढीमै छाडेर परिवार झापाको दमकतिर सर्यो। पछि बाबा पनि बाध्य भएर परिवार भएकै ठाउँमा आए।
चुरेले चस्कियो मन, क्याम्पमा कोर्यो अन्यायको चित्र
झापाको दमक, ठ्याक्कै चुरे पहाडको फेदमा। त्यहाँ आमाले भुटानी शरणार्थी क्याम्पमा काम पाइन्। हरेक दिन घरमा शरणार्थीहरूका कथा सुन्न पाइन्थ्यो- राज्यविहीन हुनुको पीडा र विस्थापनको दुःख।
तनुजा सानै थिइन्, तैपनि आमालाई ती कथाहरूमाथि रिपोर्ट लेख्न सघाउँथिन्। त्यसले उनको कलिलो मस्तिष्कमा ‘अन्याय कस्तो हुन्छ र भुइँमान्छेका दुःख के हुन् ?’ भन्ने गहिरो छाप पार्यो।

दमकको स्थानीय विद्यालयमा पढ्दै गर्दा घरदेखि स्कूलसम्मको बाटोबाट तनुजाले चुरे पहाड देख्थिन्। सानोमा हरियो देखिने त्यो पहाड कक्षा तीनदेखि दशमा पुग्दासम्म पूरै बदलिसकेको थियो। जथाभावी ढुङ्गा निकाल्ने क्रसरहरू चल्थे, ट्रिपरहरू हुँइकिन्थे, घर पूरै थर्किन्थ्यो। जिज्ञासु तनुजा सधैं बाबालाई सोध्थिन्, ‘यस्तो विनाश हुँदा पनि कोही किन बोल्दैन ?’
गाउँमा चुरेको स्वरूप बदलिंदै थियो, यता उच्च शिक्षाका लागि तनुजाले आफ्नो भूगोल बदलिन्। कक्षा ११ पढ्न उनी काठमाडौं आइन्। प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याएर सेन्ट मेरिज कलेजमा भर्ना भइन् र पछि कानून पढ्न थालिन्।
निजगढ आन्दोलन: तीन जनाबाट शुरु भएको विद्रोह
सन् २०१८ मा झापामा अकल्पनीय बाढी आयो। मङ्सिरमा धान काट्ने बेलामा बाढीले सबै बाली बगायो। तर, पीडितलाई राहत बाँड्दा पनि राजनीति भयो; जसलाई साँच्चै आवश्यक थियो उनीहरूले पाएनन्, पहुँचवालाले मात्र पाए।
त्यो विभेद देखेर तनुजाले सोचिन्, ‘वातावरणका क्षेत्रमा काम गर्ने ठूला संस्थाहरू कार्यक्षेत्रमा के गर्दैछन् ?’ खोज्दै जाँदा उनले देखिन्, यस्ता विषयमा तारे होटलहरूमा अन्तर्राष्ट्रिय स्तरका गोष्ठी त हुन्थे तर भुइँमा उत्रिएर काम गर्ने कोही थिएनन्।
ठीक त्यही बेला समाचार आयो- निजगढको चारकोसे झाडी (जङ्गल) काटेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना छ। चारकोसे झाडी भनेको झापादेखि बारासम्म जोडिएको जङ्गलको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण जैविक टुक्रा थियो।
कानूनकी विद्यार्थी उनले सरकारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) आफैंले पढिन्। त्यसमा थुप्रै गम्भीर प्राविधिक र कानूनी कमजोरीहरू भेटिए।

त्यसपछि तनुजालाई सह्य भएन। उनले वातावरणका क्षेत्रमा काम गर्ने वकिलहरू र आफ्नो ‘सोसल सर्कल’ का साथीहरूसँग कुरा गरिन्। सन् २०१८ को जुलाई महिनामा तनुजा आफ्ना साथीहरू प्रथम प्रधान र विनोद देउवा ठकुरीका साथ एउटा सानो प्लेकार्ड बोकेर माइतीघरमण्डलामा उभिन पुगिन्।
शुरुमा उनीहरूलाई कसैले हेर्दैनथ्यो। प्रहरीले पनि ‘तीन जना त हुन्’ भनेर वास्ता गरेन। उनीहरू लगातार एक महिनासम्म बिहान कलेज जाने र साँझ माइतीघरमा उभिने गर्न थाले। एक दिन उनीहरूले उपत्यकाका विभिन्न स्कूलहरूलाई चिठी लेखे- ‘अक्सिजन हाम्रो जन्मसिद्ध अधिकार हो, विकासका नाममा हुने विनाश रोकिनुपर्छ। तपाईंहरूको साथ चाहिएको छ।’
एक दिन एक्कासि माइतीघरमा ८० जनाभन्दा बढी विद्यार्थी उपस्थित भए। त्यसपछि बल्ल प्रहरी झस्कियो र अनुमति लिएर मात्र प्रदर्शन गर्नुपर्ने कुरा उनीहरूलाई थाहा भयो। विस्तारै उनीहरू ‘प्यान नेपाल’ सँग जोडिए र ‘प्रोपब्लिक’ का वकिलहरूसँग मिलेर थप प्रमाण जुटाउन थाले।
सन् २०१९ को सेप्टेम्बरमा माइतीघरदेखि जावलाखेल (युएन हाउस) सम्म मार्चपास भयो, जहाँ करिब १५०० जनाको उपस्थिति थियो।
यो आन्दोलन कुनै दातृ निकायको डलर वा संस्थाको फन्डबाट चलेको थिएन। तनुजा तीन ठाउँमा ट्युसन पढाउँथिन्, त्यही पैसाले आन्दोलनको खर्च धानिन्थ्यो। प्रथमले पनि आफ्नै पकेट खर्च लगाए। माइतीघरको क्याफेले हरेक शुक्रबार पिउने पानी दिन्थ्यो, विद्यार्थीहरूले पाँच-दश रुपैयाँ जम्मा गर्थे। त्यही ‘जनताको फन्ड’ को तागतमा आन्दोलन चर्किएको थियो।
जुरिचलाई इमेल र सर्वोच्चको ऐतिहासिक फैसला
एकाएक कोभिड महामारी आयो र सडक आन्दोलन रोकियो। तर उनीहरूले हरेक शुक्रबार अनलाइन कार्यक्रम गर्न थाले। त्यतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै ‘निजगढ विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले लगानी (फन्ड) गर्छ’ भनेका थिए।

तथ्यमै टेकेर आन्दोलन गर्ने जेनजी पुस्ताकी तनुजा र उनको टिमले यो भनाइको सत्यता जाँच्न सीधै जुरिच एयरपोर्टको मुख्यालयलाई इमेल लेखे। एक महिनासम्म लगातार फलो-अप इमेल पठाएपछि अन्ततः जुरिचले आधिकारिक जवाफ दियो- ‘हामीले नेपाल सरकारसँग त्यस्तो कुनै सम्झौता गरेका छैनौं।’
त्यही बलियो लिखित प्रमाण र अन्य वातावरणीय तथ्यहरू बोकेर उनीहरू सर्वोच्च अदालत गए। अन्ततः उनीहरूले मुद्दा जिते। सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै भन्यो- ‘निजगढमा विमानस्थल बनाउने विषयमा पुनः अध्ययन हुनुपर्छ, जथाभावी जङ्गल मास्न पाइँदैन।’
रूखहरू काटिनबाट जोगिए।
तर यो यात्रा सोचे जस्तो सुरक्षित थिएन। माफियाहरूबाट उनीहरूलाई निरन्तर गाली र ज्यान मार्ने धम्कीहरू आइरहे। त्यसैबीच धनुषामा प्राकृतिक दोहनको विरोध गर्ने अर्का युवा अभियन्ता दिलीप महतोको निर्मम हत्या भयो। त्यस घटनाले उनीहरूलाई झनै सचेत र सङ्गठित हुन सिकायो।
हरिण नेपाल र जेनजी आन्दोलन
यही आन्दोलनको जगबाट सन् २०२३ मा तनुजा र सडकमा भेटिएका उनका साथीहरू (विनोद देउवा, प्रथम प्रधान लगायत) मिलेर ‘हरिण नेपाल’ नामक संस्था दर्ता गरे। यो संस्था अहिले पनि कुनै डोनरको भरमा नभई व्यक्तिगत योगदानबाटै चलिरहेको छ।
‘हरिण नेपाल’ ले जलवायु परिवर्तनलाई केवल रूखबिरुवाको विषय नमानेर एउटा गम्भीर ‘राजनीतिक र वर्गीय मुद्दा’ का रूपमा हेर्छ। ‘नेपालमा हरेक वर्ष सबैभन्दा धेरै नागरिकको मृत्यु बाढी र पहिरोबाट हुन्छ। कृषि, पर्यटन र अर्थतन्त्र जलवायु परिवर्तनबाट सीधै प्रभावित छन्। तर कुनै पनि सरकारले यसलाई राष्ट्रिय प्राथमिकतामा राखेका छैनन्’, तनुजा भन्छिन्।

पछिल्लो समय नेपालमा भ्रष्टाचार र कुशासन विरुद्ध उर्लिएको जेनजी आन्दोलनमा पनि तनुजाको सक्रिय सहभागिता रह्यो। आन्दोलन शुरु हुनुभन्दा एक महिनाअघि नै उनले युवा अभियन्ताहरूलाई सुरक्षित राख्ने र कानूनी उपायहरू सिकाउने ‘डिफेन्ड द डिफेन्डर्स’ टुलकिट तयार पार्दै तालिम दिइरहेकी थिइन्।
आन्दोलन उत्कर्षमा पुग्दा उनले ‘कसरी राजनीतिक संरक्षणमा स्रोतको दोहन हुन्छ र त्यसको फाइदा कसले पाउँछ ?’ भनेर बनाएको एउटा तथ्यपरक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो।
तनुजा यो आन्दोलनलाई केवल भ्रष्टाचारको विरोध मात्र नभई वर्गीय सङ्घर्ष मान्छिन्। ‘भ्रष्टाचारले कसरी एउटा वर्गको जीवनस्तर उकास्यो र गरिबलाई झन् गरिब बनायो भन्ने कुरा यो पुस्ताले बुझिसकेको छ’, उनी भन्छिन्।
अबको बाटो: संवाद र सिभिक फोरम
‘जुन आन्दोलनमा मुद्दाभन्दा व्यक्तिको नाम ठूलो हुन थाल्छ, त्यो आन्दोलन त्यहीं सकिन्छ’ तनुजाको स्पष्ट बुझाइ छ, ‘निजगढ आन्दोलनमा हामीले पाँच वर्ष लगायौं, तर धेरैलाई थाहा नै छैन कि हामी त्यहाँ थियौं। व्यक्तिभन्दा मुद्दा केन्द्रित आन्दोलन मात्र सफल हुन्छ।’
अहिले समाजमा देखिएको चरम निराशा र अविश्वासलाई चिर्न उनी देशव्यापी रूपमा ‘सिभिक फोरम’ (नागरिक मञ्च) बनाउने काममा जुटेकी छिन्। फरक विचार बोक्ने मानिसहरू पनि एउटै टेबलमा बसेर सुसंस्कृत संवाद गर्न सकुन् भन्ने उनको चाहना छ।
‘चेतना रातारात आउँदैन, यो त समुदायमा गएर भिजेपछि मात्र आउँछ’ भविष्यको योजना सुनाउँदै तनुजा भन्छिन्, ‘समाजका बेथितिबारे बोल्नु र बृहत्तर हितका लागि काम गर्नु नै मेरो कर्तव्य हो। त्यसैले अहिले हामी नागरिकमा चेतनाको दियो बाल्न संवाद र सिभिक फोरमका कामहरूमा केन्द्रित छौं।’
युद्धको छर्रा टिप्दै हुर्किएकी एउटी बालिका आज नेपालको लोकतन्त्र, वातावरण र नागरिक अधिकारको रक्षा गर्ने अग्रपङ्क्तिको ‘सिपाही’ बनेकी छिन्।