विश्वविजय नजिक ब्लाइन्ड क्रिकेट कप्तान
जन्मजात कमजोर दृष्टि, खेलको दौरान थपिएको चोट र राज्यको शून्य सहयोग । यति हुँदाहुँदै पनि रूपन्देहीकी ३० वर्षीया गीता पौडेल ब्लाइन्ड क्रिकेटमा नेपाललाई विश्वभर चिनाउन सफल भएकी छिन् ।
अस्ट्रेलिया र श्रीलंका जस्ता हस्ती टोलीलाई हराउँदै विश्वकपको फाइनलसम्म नेपालको झण्डा फहराउने यी ब्लाइन्ड क्रिकेट कप्तानको सफलताले आज भनिरहेको छ– दृष्टि हुनु र दृष्टिकोण हुनुमा आकाश–जमिनको फरक छ ।
रूपन्देहीको कञ्चन गाउँपालिकाबाट शुरु भएको उनको क्रिकेट यात्राले देशलाई विश्वकपको उपविजेतासम्म बनायो । तर विडम्बना, सरकारको नजरमा अझै पनि यो सफलता अदृश्य झैं छ । हातमा शिल्ड र मनमा राष्ट्रिय गर्व बोकेर फर्किएका यी खेलाडीहरूका लागि बधाईका शब्द त बर्सिए, तर उनीहरूको पसिनाको मूल्य र सुनिश्चित भविष्य भने अझै अन्योलमा छ।
२०५२ सालमा रूपन्देहीको कञ्चन गाउँपालिकामा जन्मिएकी गीताको जन्मजात आँखामा समस्या थियो । पूर्ण रूपमा नेत्रहीन नभए पनि दृष्टि कमजोर थियो । त्यसबेलाको समयमा दृष्टिविहीन भन्नेबित्तिकै जीवन नै व्यर्थ भए झैं टिप्पणी गरिन्थ्यो, खेलकुदमा लाग्ने त परको कुरा ।
रूपन्देहीकै मणिग्राम शान्ति ब्लाइन्ड स्कूलमा पढेकी गीताले १२ वर्षको उमेरमा क्रिकेटबारे थाहा पाइन् । त्यसबेला अहिले जस्तो क्रिकेटको चर्चा थिएन । मुख्य क्रिकेटकै ख्याति कम भएको समयमा ब्लाइन्ड क्रिकेटको बारेमा कसैलाई ज्ञान हुने त कुरै भएन ।
२०६४ सालमा १२ वर्षको उमेरमा क्रिकेटबारे थाहा पाएपछि गीतालाई खेल्ने इच्छा जाग्यो । अनि, क्रिकेट खेल्न शुरु गरिन् । त्यसयता निरन्तर ब्लाइन्ड क्रिकेट खेल्दै आइरहेकी छन् । भिजन कमजोर भए पनि आत्मविश्वास बलियो बनाउँदै अघि बढेकी उनी हाल राष्ट्रिय महिला टोलीको कप्तान छिन् ।
कक्षा १० सम्म मणिग्राम शान्तिमा पढेपछि उनले सामान्य व्यक्तिले पढ्ने कलेजबाटै प्लस टु र स्नातक अध्ययन गरिन् । प्लस टु ज्ञान निकेतनबाट अनि हरैया बहुमुखी क्याम्पसबाट स्नातक तह पास गरिन् । पढाइसँगै क्रिकेटलाई पनि निरन्तरता दिइन् । परिवारबाट पनि साथ मिल्दा उनलाई क्रिकेटमा आफ्नो करिअर बनाउन सक्छु जस्तो लाग्यो ।

क्रिकेटकै माहोल कम भइरहेको अवस्थामा रमाइलोका लागि ब्याट र बल समाएकी गीताले एक दिन राष्ट्रिय टोलीको नेतृत्व गर्दै विश्वकपमा ऐतिहासिक सफलता दिलाउने छिन् भनेर शायदै कसैले सोचेको थियो ।
‘त्यसबेला खासै माहोल थिएन । हामीले खेलिहेरौं न त भनेर क्रिकेट सिक्न थाल्यौं अनि विस्तारै आकर्षण बढ्दै गयो । त्यसयता आजसम्म खेलिरहेको छु‘ गीताले सम्झिइन्, ‘खेल्न सकिने रहेछ भन्ने भयो । देशका लागि खेल्नुपर्छ भन्ने सोच पनि आयो ।‘
क्रिकेट सिकाउने गुरुहरूको प्रेरणाले गर्दा नै आफूलाई क्रिकेटमा अगाडि बढ्ने हौसला दिएको उनी बताउँछिन् । ‘हामीलाई शुरुमा सिकाउने आर्मीबाट ब्लाइन्ड खेल्नुभएका एक जना सर हुनुहुन्थ्यो । अनि विक्रम राणा भन्ने सर हुनुहुन्थ्यो । यस्तै ब्वाइज टिमका त्यसबेलाका क्याप्टेन कीर्तन दुलाल अनि उपेन्द्र श्रेष्ठ सरले सुरुवाती चरणमा खेल्नका लागि प्रेरणा दिनुभयो’, गीताले भनिन् ।
यद्यपि, ब्लाइन्ड क्रिकेटमा कसैले पनि त्यति चासो नदिएको उनको गुनासो छ । ‘त्यसबेलादेखि अहिलेसम्म ब्लाइन्ड क्रिकेट अरू खेलभन्दा एक कदम पछाडि छ‘, उनी भन्छिन् ।
गीताकै नेतृत्वमा ब्लाइन्ड महिला टी-२० विश्वकप खेलेको नेपालको राष्ट्रिय टोली विश्वकपको फाइनलसम्म पुग्यो । फाइनलमा भारतसँग पराजित भएर उपविजेतामा सीमित भए पनि नेपाली टोलीले अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका जस्ता टोलीलाई पराजित गर्यो । अमेरिकासँगको खेल त नेपालले चार बलमै जितेर कीर्तिमान नै बनाएको थियो ।
सामान्यभन्दा बेग्लै छ ब्लाइन्ड क्रिकेट
सामान्य क्रिकेटभन्दा ब्लाइन्ड क्रिकेट धेरै फरक छ । खेल्ने फर्म्याटदेखि खेलाडी र नियमहरू बेग्लै हुन्छन् । ब्लाइन्ड क्रिकेटको नियामक निकाय पनि फरक छ, क्रिकेट एसोसिएसन अफ ब्लाइन्ड ।
ब्लाइन्ड क्रिकेटमा खेल्ने खेलाडीहरू तीन श्रेणीमा विभाजित हुन्छन्- बी १, बी २ अनि बी ३ । बी १ खेलाडी पूर्ण रूपमा ब्लाइन्ड हुन्छन् । बी १ खेलाडी कम्तीमा ४ जना अनिवार्य रूपमा प्लेइङ ११ मा राख्नैपर्ने हुन्छ । त्यस्तै बी २ को लो भिजन हुन्छ तर हल्का देख्न भने सक्छन् । उनीहरू ५ मिटरको दूरीसम्म देख्न सक्ने हुन्छन् । उनीहरू ३ जनादेखि माथि ७ जनासम्म खेलाउन मिल्ने नियम छ ।
बी ३ खेलाडी अझै देख्न सक्ने क्षमताका हुन्छन् । बी ३ खेलाडी नभएमा ७ जना नै बी २ राखेर खेलाउन पनि मिल्ने प्रावधान छ ।
रन जोड्ने नियम पनि यसमा अलि फरक छ । बी १ ब्याटरले प्रहार गरेको प्रत्येक रन दोब्बर हुने गर्छ । जस्तै: १ रन जोड्दा २ मानिन्छ भने चौका प्रहार गर्दा ८ रन अनि छक्का प्रहार गर्दा १२ रन मानिन्छ ।
विश्वकपमा ऐतिहासिक सफलता
सीमित स्रोत र साधनका बाबजुद पनि नेपाली टोली विश्वकप जस्तो इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्यो । पहिलो पटक भएको ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा भारतसँग पराजित भए पनि नेपालले पहिलो सहभागितामै फाइनल पुगेर ऐतिहासिक सफलता हात पार्यो ।
नेपाल सहभागी भएको कुनै पनि टिम विश्वकपमा फाइनल पुग्नु आफैंमा एक सफलता बन्यो । यही प्रदर्शनका कारण ब्लाइन्ड क्रिकेट टिमका बारेमा देशभरका मानिसले थाहा पाए ।
विश्वकपमा ऐतिहासिक सफलता हात पारे पनि ब्लाइन्ड क्रिकेट टिम अझै पनि राज्यको नजरमा भने परेको छैन । यो किसिमको इभेन्टमा सहभागी भएर पदक लिएर आउने खेलाडीका लागि कुनै पुरस्कारको व्यवस्था भने गरिएको छैन । काठमाडौं महानगरले टिमलाई नगद पुरस्कार सहित सम्मान गरे पनि सरकारको तर्फबाट भने बधाई दिने बाहेक अरू काम भएको छैन ।
गीताले आफू सेल्भ मोटिभले मात्र खेल्दै आइरहेको बताउँछिन् । ‘हामीलाई गाडीभाडा जस्तो सामान्य खर्चहरूको व्यवस्था भए पनि अरू तलब-भत्ता केही पनि छैन । अहिलेसम्म एक रुपैयाँ पनि कतैबाट लिएको छैन‘ गीताको गुनासो छ, ‘महानगरले सम्मान गरेको छुट्टै कुरा भयो । त्यो बाहेक कुनै सेवासुविधा छैन।‘

सेल्फ मोटिभले मात्र विगत साढे १८ वर्षदेखि खेल्दै आइरहेको गीता बताउँछिन् । हालको अवस्थामा देशको लागि भन्दा पनि आफ्नो नामको लागि मात्रै खेलिरहेको जस्तो महसुस हुने उनको भनाइ छ ।
‘हामी देशकै लागि खेलिरहेका छौं । विश्वकपमा उपविजेता भएर आयौं । राज्यको साथ, सहयोग हुन्थ्यो, स्रोतसाधन, उत्साह, प्रेरणाको माहोल भएको भए शिल्ड नै लिएर आउँथ्यौं कि जस्तो लाग्छ‘, गीताले भनिन् ।
विश्वकपकै प्रदर्शनपछि ब्लाइन्ड टोलीका बारेमा चर्चा शुरु भयो, तर अन्य व्यक्तिले खेल्ने क्रिकेट जतिको उचाइ भने यसले पाउन सकेन । त्यसतर्फ कसैले ध्यान दिएको पनि देखिंदैन ।
भारतको क्रिकेट बोर्डले ब्लाइन्ड क्रिकेटमा संरचनागत सहयोग गर्ने घोषणा गरेर एउटा रोल मोडलको काम गरेको छ । नेपालमा पनि क्रिकेट संघले ब्लाइन्ड क्रिकेट बोर्डसँग सहकार्य गरेमा यसको विकास अब टाढा छैन ।
‘भविष्य होइन, जोखिम मात्रै छ’
गीताको आँखाको भिजन जन्मजात कमजोर भए पनि क्रिकेट खेल्न थालेपछिको एक घटनाले थप कमजोर बनाइदिएको थियो । पोखरामा भएको नेपाल–भारत सिरिजको एक खेलअघि अभ्यासका क्रममा रबर ब्यान्डले लागेर उनको आँखाको अप्रेसन गर्नुपरेको थियो । त्यसपछि भिजन अझै घटेको थियो ।
यही कारण पनि गीता ब्लाइन्ड क्रिकेटको भविष्यभन्दा जोखिम बढी देख्छिन् । ‘यसमा त कुनै भविष्य छैन बरु रिक्स नै छ । आँखाकै अपरेसन गर्नु परेकाले मेरो भिजन पहिला जति थियो त्योभन्दा पनि घटिसक्यो‘ उनी भन्छिन्, ‘परिवारको साथले नै खेल्न पाएकी हुँ । अप्रेसन गर्दागर्दै पनि मलाई खेल्नका लागि प्रोत्साहित गर्नुभयो । परिवारको साथ विना त यहाँसम्म पुग्ने नै थिएनौं।‘
स्रोत र साधन उपलब्ध गराइदिने हो भने अझै पनि केही आशा भने बाँकी रहेको गीता सुनाउँछिन् । ‘राम्रा खेलाडीहरू पलायन हुने अवस्था आएको छ । त्यसैले अब अरू कुनै विकल्प पनि रोज्नुपर्यो । अब क्रिकेटमा मात्रै झुन्डेर बस्न पनि भएन । हामीलाई चाहिं अब मासिक तलब नदिए पनि कम्तीमा खेलको बेलामा भत्ता अनि स्रोत–साधन उपलब्ध गराइदिए हुन्थ्यो‘, गीताले भनिन् ।
ब्लाइन्ड क्रिकेटलाई यहाँसम्म ल्याइपुर्याउन योगदान दिएकी गीताले अब नयाँ पुस्ताले यो खेलको विकासमा योगदान दिने अपेक्षा गरेकी छन् ।
‘हामीले त क्रिकेटको जग बसालिरहेका छौं । अब यसलाई आएर सम्हाल्ने काम नयाँ पिंढीले गर्नुहुन्छ, गर्नुपर्छ‘ उनले भनिन्, ‘शायद धेरैलाई थाहा छैन हामीले २०१४ मा इंग्ल्याण्डसँग खेलेर जितेका थियौं । त्यो क्रमदेखि आजसम्म संघर्ष गरिरहेका छौं । नयाँ–नयाँ सरकारले अब ब्लाइन्ड क्रिकेटमा केही गर्लान् ।‘

कमजोरीलाई शक्तिमा बदल्नुपर्छ
गीताले शारीरिक अशक्ततालाई शक्तिमा बदल्नुपर्ने बताइन् । ‘हामीले कमजोरीलाई शक्तिमा बदल्नुपर्छ । आफूलाई त्यो कमजोरीभन्दा जहिले पनि माथि राख्नुपर्छ‘ उनले भनिन्, ‘अहिले त विभिन्न प्रविधिहरूको विकास भइसकेको छ । अपाङ्गता भएका व्यक्तिले पनि धेरै गर्न सक्छन् । कुनै न कुनै रूपमा हामी अगाडि बढ्न सक्छौं, आत्मविश्वास चाहिं कायम राख्नुपर्छ।‘
ब्लाइन्ड क्रिकेटमै लाग्नेहरूलाई पनि गीताले देश र परिवारका लागि केही गर्न सक्छु भन्ने संकल्पका साथ अघि बढ्न सुझाव दिइन् । ‘आफ्नो लागि केही गर्न सक्छु, आफ्नो परिवार अनि देशको लागि केही गर्न सक्छु भन्ने प्रेरणाका साथ ब्लाइन्ड क्रिकेटमा आउन सक्नुहुन्छ । क्षमता भएका खेलाडीहरू आउन सक्नुहुन्छ‘, गीताले भनिन् ।
समाजमा महिला, त्यसमाथि दृष्टिविहीनलाई हेर्ने नजर अझै नबदलिएको भन्दै उनले समाज बदल्न आफूबाटै शुरु गर्नुपर्ने बताइन् । ‘समाजमा बसेर अरूको खुट्टा तान्ने, केही गर्न सक्दैनन् भनेर मनोबल गिराउने होइन, सबैले साथ दिनुपर्छ । सबैको साथ र आफूले पनि केही गर्न सक्छु भन्ने दृढ संकल्प लियो भने सफलता अवश्य मिल्छ‘, उनले भनिन् ।
ट्रेन्डिङ
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी