विश्वविजय नजिक ब्लाइन्ड क्रिकेट कप्तान
जन्मजात कमजोर दृष्टि, खेलको दौरान थपिएको चोट र राज्यको शून्य सहयोग । यति हुँदाहुँदै पनि रूपन्देहीकी ३० वर्षीया गीता पौडेल ब्लाइन्ड क्रिकेटमा नेपाललाई विश्वभर चिनाउन सफल भएकी छिन् ।
अस्ट्रेलिया र श्रीलंका जस्ता हस्ती टोलीलाई हराउँदै विश्वकपको फाइनलसम्म नेपालको झण्डा फहराउने यी ब्लाइन्ड क्रिकेट कप्तानको सफलताले आज भनिरहेको छ– दृष्टि हुनु र दृष्टिकोण हुनुमा आकाश–जमिनको फरक छ ।
रूपन्देहीको कञ्चन गाउँपालिकाबाट शुरु भएको उनको क्रिकेट यात्राले देशलाई विश्वकपको उपविजेतासम्म बनायो । तर विडम्बना, सरकारको नजरमा अझै पनि यो सफलता अदृश्य झैं छ । हातमा शिल्ड र मनमा राष्ट्रिय गर्व बोकेर फर्किएका यी खेलाडीहरूका लागि बधाईका शब्द त बर्सिए, तर उनीहरूको पसिनाको मूल्य र सुनिश्चित भविष्य भने अझै अन्योलमा छ।
२०५२ सालमा रूपन्देहीको कञ्चन गाउँपालिकामा जन्मिएकी गीताको जन्मजात आँखामा समस्या थियो । पूर्ण रूपमा नेत्रहीन नभए पनि दृष्टि कमजोर थियो । त्यसबेलाको समयमा दृष्टिविहीन भन्नेबित्तिकै जीवन नै व्यर्थ भए झैं टिप्पणी गरिन्थ्यो, खेलकुदमा लाग्ने त परको कुरा ।
रूपन्देहीकै मणिग्राम शान्ति ब्लाइन्ड स्कूलमा पढेकी गीताले १२ वर्षको उमेरमा क्रिकेटबारे थाहा पाइन् । त्यसबेला अहिले जस्तो क्रिकेटको चर्चा थिएन । मुख्य क्रिकेटकै ख्याति कम भएको समयमा ब्लाइन्ड क्रिकेटको बारेमा कसैलाई ज्ञान हुने त कुरै भएन ।
२०६४ सालमा १२ वर्षको उमेरमा क्रिकेटबारे थाहा पाएपछि गीतालाई खेल्ने इच्छा जाग्यो । अनि, क्रिकेट खेल्न शुरु गरिन् । त्यसयता निरन्तर ब्लाइन्ड क्रिकेट खेल्दै आइरहेकी छन् । भिजन कमजोर भए पनि आत्मविश्वास बलियो बनाउँदै अघि बढेकी उनी हाल राष्ट्रिय महिला टोलीको कप्तान छिन् ।
कक्षा १० सम्म मणिग्राम शान्तिमा पढेपछि उनले सामान्य व्यक्तिले पढ्ने कलेजबाटै प्लस टु र स्नातक अध्ययन गरिन् । प्लस टु ज्ञान निकेतनबाट अनि हरैया बहुमुखी क्याम्पसबाट स्नातक तह पास गरिन् । पढाइसँगै क्रिकेटलाई पनि निरन्तरता दिइन् । परिवारबाट पनि साथ मिल्दा उनलाई क्रिकेटमा आफ्नो करिअर बनाउन सक्छु जस्तो लाग्यो ।

क्रिकेटकै माहोल कम भइरहेको अवस्थामा रमाइलोका लागि ब्याट र बल समाएकी गीताले एक दिन राष्ट्रिय टोलीको नेतृत्व गर्दै विश्वकपमा ऐतिहासिक सफलता दिलाउने छिन् भनेर शायदै कसैले सोचेको थियो ।
‘त्यसबेला खासै माहोल थिएन । हामीले खेलिहेरौं न त भनेर क्रिकेट सिक्न थाल्यौं अनि विस्तारै आकर्षण बढ्दै गयो । त्यसयता आजसम्म खेलिरहेको छु‘ गीताले सम्झिइन्, ‘खेल्न सकिने रहेछ भन्ने भयो । देशका लागि खेल्नुपर्छ भन्ने सोच पनि आयो ।‘
क्रिकेट सिकाउने गुरुहरूको प्रेरणाले गर्दा नै आफूलाई क्रिकेटमा अगाडि बढ्ने हौसला दिएको उनी बताउँछिन् । ‘हामीलाई शुरुमा सिकाउने आर्मीबाट ब्लाइन्ड खेल्नुभएका एक जना सर हुनुहुन्थ्यो । अनि विक्रम राणा भन्ने सर हुनुहुन्थ्यो । यस्तै ब्वाइज टिमका त्यसबेलाका क्याप्टेन कीर्तन दुलाल अनि उपेन्द्र श्रेष्ठ सरले सुरुवाती चरणमा खेल्नका लागि प्रेरणा दिनुभयो’, गीताले भनिन् ।
यद्यपि, ब्लाइन्ड क्रिकेटमा कसैले पनि त्यति चासो नदिएको उनको गुनासो छ । ‘त्यसबेलादेखि अहिलेसम्म ब्लाइन्ड क्रिकेट अरू खेलभन्दा एक कदम पछाडि छ‘, उनी भन्छिन् ।
गीताकै नेतृत्वमा ब्लाइन्ड महिला टी-२० विश्वकप खेलेको नेपालको राष्ट्रिय टोली विश्वकपको फाइनलसम्म पुग्यो । फाइनलमा भारतसँग पराजित भएर उपविजेतामा सीमित भए पनि नेपाली टोलीले अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका जस्ता टोलीलाई पराजित गर्यो । अमेरिकासँगको खेल त नेपालले चार बलमै जितेर कीर्तिमान नै बनाएको थियो ।
सामान्यभन्दा बेग्लै छ ब्लाइन्ड क्रिकेट
सामान्य क्रिकेटभन्दा ब्लाइन्ड क्रिकेट धेरै फरक छ । खेल्ने फर्म्याटदेखि खेलाडी र नियमहरू बेग्लै हुन्छन् । ब्लाइन्ड क्रिकेटको नियामक निकाय पनि फरक छ, क्रिकेट एसोसिएसन अफ ब्लाइन्ड ।
ब्लाइन्ड क्रिकेटमा खेल्ने खेलाडीहरू तीन श्रेणीमा विभाजित हुन्छन्- बी १, बी २ अनि बी ३ । बी १ खेलाडी पूर्ण रूपमा ब्लाइन्ड हुन्छन् । बी १ खेलाडी कम्तीमा ४ जना अनिवार्य रूपमा प्लेइङ ११ मा राख्नैपर्ने हुन्छ । त्यस्तै बी २ को लो भिजन हुन्छ तर हल्का देख्न भने सक्छन् । उनीहरू ५ मिटरको दूरीसम्म देख्न सक्ने हुन्छन् । उनीहरू ३ जनादेखि माथि ७ जनासम्म खेलाउन मिल्ने नियम छ ।
बी ३ खेलाडी अझै देख्न सक्ने क्षमताका हुन्छन् । बी ३ खेलाडी नभएमा ७ जना नै बी २ राखेर खेलाउन पनि मिल्ने प्रावधान छ ।
रन जोड्ने नियम पनि यसमा अलि फरक छ । बी १ ब्याटरले प्रहार गरेको प्रत्येक रन दोब्बर हुने गर्छ । जस्तै: १ रन जोड्दा २ मानिन्छ भने चौका प्रहार गर्दा ८ रन अनि छक्का प्रहार गर्दा १२ रन मानिन्छ ।
विश्वकपमा ऐतिहासिक सफलता
सीमित स्रोत र साधनका बाबजुद पनि नेपाली टोली विश्वकप जस्तो इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्यो । पहिलो पटक भएको ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा भारतसँग पराजित भए पनि नेपालले पहिलो सहभागितामै फाइनल पुगेर ऐतिहासिक सफलता हात पार्यो ।
नेपाल सहभागी भएको कुनै पनि टिम विश्वकपमा फाइनल पुग्नु आफैंमा एक सफलता बन्यो । यही प्रदर्शनका कारण ब्लाइन्ड क्रिकेट टिमका बारेमा देशभरका मानिसले थाहा पाए ।
विश्वकपमा ऐतिहासिक सफलता हात पारे पनि ब्लाइन्ड क्रिकेट टिम अझै पनि राज्यको नजरमा भने परेको छैन । यो किसिमको इभेन्टमा सहभागी भएर पदक लिएर आउने खेलाडीका लागि कुनै पुरस्कारको व्यवस्था भने गरिएको छैन । काठमाडौं महानगरले टिमलाई नगद पुरस्कार सहित सम्मान गरे पनि सरकारको तर्फबाट भने बधाई दिने बाहेक अरू काम भएको छैन ।
गीताले आफू सेल्भ मोटिभले मात्र खेल्दै आइरहेको बताउँछिन् । ‘हामीलाई गाडीभाडा जस्तो सामान्य खर्चहरूको व्यवस्था भए पनि अरू तलब-भत्ता केही पनि छैन । अहिलेसम्म एक रुपैयाँ पनि कतैबाट लिएको छैन‘ गीताको गुनासो छ, ‘महानगरले सम्मान गरेको छुट्टै कुरा भयो । त्यो बाहेक कुनै सेवासुविधा छैन।‘

सेल्फ मोटिभले मात्र विगत साढे १८ वर्षदेखि खेल्दै आइरहेको गीता बताउँछिन् । हालको अवस्थामा देशको लागि भन्दा पनि आफ्नो नामको लागि मात्रै खेलिरहेको जस्तो महसुस हुने उनको भनाइ छ ।
‘हामी देशकै लागि खेलिरहेका छौं । विश्वकपमा उपविजेता भएर आयौं । राज्यको साथ, सहयोग हुन्थ्यो, स्रोतसाधन, उत्साह, प्रेरणाको माहोल भएको भए शिल्ड नै लिएर आउँथ्यौं कि जस्तो लाग्छ‘, गीताले भनिन् ।
विश्वकपकै प्रदर्शनपछि ब्लाइन्ड टोलीका बारेमा चर्चा शुरु भयो, तर अन्य व्यक्तिले खेल्ने क्रिकेट जतिको उचाइ भने यसले पाउन सकेन । त्यसतर्फ कसैले ध्यान दिएको पनि देखिंदैन ।
भारतको क्रिकेट बोर्डले ब्लाइन्ड क्रिकेटमा संरचनागत सहयोग गर्ने घोषणा गरेर एउटा रोल मोडलको काम गरेको छ । नेपालमा पनि क्रिकेट संघले ब्लाइन्ड क्रिकेट बोर्डसँग सहकार्य गरेमा यसको विकास अब टाढा छैन ।
‘भविष्य होइन, जोखिम मात्रै छ’
गीताको आँखाको भिजन जन्मजात कमजोर भए पनि क्रिकेट खेल्न थालेपछिको एक घटनाले थप कमजोर बनाइदिएको थियो । पोखरामा भएको नेपाल–भारत सिरिजको एक खेलअघि अभ्यासका क्रममा रबर ब्यान्डले लागेर उनको आँखाको अप्रेसन गर्नुपरेको थियो । त्यसपछि भिजन अझै घटेको थियो ।
यही कारण पनि गीता ब्लाइन्ड क्रिकेटको भविष्यभन्दा जोखिम बढी देख्छिन् । ‘यसमा त कुनै भविष्य छैन बरु रिक्स नै छ । आँखाकै अपरेसन गर्नु परेकाले मेरो भिजन पहिला जति थियो त्योभन्दा पनि घटिसक्यो‘ उनी भन्छिन्, ‘परिवारको साथले नै खेल्न पाएकी हुँ । अप्रेसन गर्दागर्दै पनि मलाई खेल्नका लागि प्रोत्साहित गर्नुभयो । परिवारको साथ विना त यहाँसम्म पुग्ने नै थिएनौं।‘
स्रोत र साधन उपलब्ध गराइदिने हो भने अझै पनि केही आशा भने बाँकी रहेको गीता सुनाउँछिन् । ‘राम्रा खेलाडीहरू पलायन हुने अवस्था आएको छ । त्यसैले अब अरू कुनै विकल्प पनि रोज्नुपर्यो । अब क्रिकेटमा मात्रै झुन्डेर बस्न पनि भएन । हामीलाई चाहिं अब मासिक तलब नदिए पनि कम्तीमा खेलको बेलामा भत्ता अनि स्रोत–साधन उपलब्ध गराइदिए हुन्थ्यो‘, गीताले भनिन् ।
ब्लाइन्ड क्रिकेटलाई यहाँसम्म ल्याइपुर्याउन योगदान दिएकी गीताले अब नयाँ पुस्ताले यो खेलको विकासमा योगदान दिने अपेक्षा गरेकी छन् ।
‘हामीले त क्रिकेटको जग बसालिरहेका छौं । अब यसलाई आएर सम्हाल्ने काम नयाँ पिंढीले गर्नुहुन्छ, गर्नुपर्छ‘ उनले भनिन्, ‘शायद धेरैलाई थाहा छैन हामीले २०१४ मा इंग्ल्याण्डसँग खेलेर जितेका थियौं । त्यो क्रमदेखि आजसम्म संघर्ष गरिरहेका छौं । नयाँ–नयाँ सरकारले अब ब्लाइन्ड क्रिकेटमा केही गर्लान् ।‘

कमजोरीलाई शक्तिमा बदल्नुपर्छ
गीताले शारीरिक अशक्ततालाई शक्तिमा बदल्नुपर्ने बताइन् । ‘हामीले कमजोरीलाई शक्तिमा बदल्नुपर्छ । आफूलाई त्यो कमजोरीभन्दा जहिले पनि माथि राख्नुपर्छ‘ उनले भनिन्, ‘अहिले त विभिन्न प्रविधिहरूको विकास भइसकेको छ । अपाङ्गता भएका व्यक्तिले पनि धेरै गर्न सक्छन् । कुनै न कुनै रूपमा हामी अगाडि बढ्न सक्छौं, आत्मविश्वास चाहिं कायम राख्नुपर्छ।‘
ब्लाइन्ड क्रिकेटमै लाग्नेहरूलाई पनि गीताले देश र परिवारका लागि केही गर्न सक्छु भन्ने संकल्पका साथ अघि बढ्न सुझाव दिइन् । ‘आफ्नो लागि केही गर्न सक्छु, आफ्नो परिवार अनि देशको लागि केही गर्न सक्छु भन्ने प्रेरणाका साथ ब्लाइन्ड क्रिकेटमा आउन सक्नुहुन्छ । क्षमता भएका खेलाडीहरू आउन सक्नुहुन्छ‘, गीताले भनिन् ।
समाजमा महिला, त्यसमाथि दृष्टिविहीनलाई हेर्ने नजर अझै नबदलिएको भन्दै उनले समाज बदल्न आफूबाटै शुरु गर्नुपर्ने बताइन् । ‘समाजमा बसेर अरूको खुट्टा तान्ने, केही गर्न सक्दैनन् भनेर मनोबल गिराउने होइन, सबैले साथ दिनुपर्छ । सबैको साथ र आफूले पनि केही गर्न सक्छु भन्ने दृढ संकल्प लियो भने सफलता अवश्य मिल्छ‘, उनले भनिन् ।