भित्ताले देख्यो सुनैनाको मैथिल कला
परम्परागत रूपमा महिलाले घरका भित्तामा बनाउने कला हो, मिथिला कला । समय क्रममा यो कलाले व्यावसायिक रूप लिंदै विश्वभर चिनिन थाल्यो । यसलाई जोगाउने र नयाँ पुस्तासम्म पुर्याउने कलाकारहरूमध्ये एक हुन्, सुनैना ठाकुर ।
उनको मिथिला कला यात्रा व्यावसायिक रूपमा २७ वर्षदेखि निरन्तर जारी छ । महिला सशक्तीकरण, रोजगारी सिर्जना र मिथिला लोक कला संरक्षणको क्षेत्रमा लागेर उनले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रदर्शनीदेखि सम्मान र पुरस्कार समेत पाइसकेकी छन् । अनि ग्रामीण क्षेत्रका महिलाहरूलाई रोजगारी पनि दिएकी छन् ।
बाल्यकालदेखि नै भित्ताबाट शुरु भएको कथा
सुनैना ठाकुरको बाल्यकाल सर्लाही जिल्लाको ग्रामीण परिवेशमा बित्यो । विवाह वा अरू कुनै चाडपर्वको अवसरमा घरका भित्तामा मयुर, माछा, सूर्य, हात्ती लगायतका रंगीन चित्र कोरिन्थ्यो । त्यस्ता चित्रले उनलाई आकर्षित गर्थे । तर किन यस्ता चित्र कोरिन्छ भन्ने जानकारी उनलाई थिएन ।

अभिभावकहरु भन्थे- घरमा त्यस्ता चित्र बनाउँदा ‘शुभ’ हुन्छ । त्यही भएर उनी पनि घरका भित्तामा चित्र बनाउन र रङ भर्न अघि सर्थिन् । यही अभ्यासबाट उनले मिथिला लोक कलाका चित्र बनाउने सिप सिकिन् । उनका लागि मिथिला कला केवल कला मात्र थिएन, आफ्नै संस्कृतिसँग जोडिने माध्यम पनि थियो ।
मधेशका अरू सामान्य महिलाले जस्तै सुनैनाले पनि कडा पारिवारिक अनुशासन भित्र बस्नुपर्थ्यो । आफूलाई मन लागेको कुरा गर्न बर्जित थियो । आफ्नोबारे आफैं निर्णय गर्न सकिँदैनथ्यो । सानोसानो कुरामा पनि अभिभावकको स्वीकृति अनिवार्य थियो । यस्ता कडा अनुशासनका बीच उनले सात कक्षा पढ्दादेखि नै तन्ना, सिरानी र सारीहरुमा मिथिला लोक चित्र बनाउन सिकिसकेकी थिइन् ।
२०६२ सालमा सर्लाहीको जनता मावि गौरीशंकरबाट एसएलसी पास गरेपछि उनी थप अध्ययनका लागि जनकपुरको राजश्री जनक क्याम्पसमा भर्ना भइन् । त्यतिबेला उनको बिहे भइसकेको थियो । घुम्टो भित्रको संसारबाट उनी थोरै बाहिर निस्किएकी थिइन् । तर पनि बिहेपछिको पारिवारिक परिबन्ध र सीमाले खुलेर बोल्न, डुल्न दिंदैनथ्यो । तर हिम्मत हारिनन् ।
सन् २०१२ को कुरा हो, एक संस्थाले विद्यार्थीहरुलाई मधेशका महिलालाई पुराना सामानबाट घर सजावटको तालिम दिने भयो । त्यो तालिममा सुनैना पनि परिवारका सदस्यको स्वीकृति लिएर सहभागी भइन् । ‘तालिममा ३०० बढी महिला सहभागी थिए । दुई दिनको तालिमपछि हामीहरु बीच प्रतियोगिता भयो । म फर्स्ट भएँ’ उनले सुनाइन्, ‘यो मेरो सफलताको सिंढीको पहिलो खुड्किलो मात्र होइन जीवनको टर्निङ पोइन्ट नै बन्यो ।’
त्यसपछि सुनैनाको चर्चा सुरु भयो । सर्च फर कमन ग्राउन्ड नामको एक निजी संस्थाले महिला सशक्तीकरणको क्षेत्रमा काम गर्थ्यो । सो संस्थामा उनी पनि जोडिइन् । मधेशका महिलालाई नेतृत्व विकासको तालिम दिन थालिन् । त्यस सँगसँगै उनले आफूले जानेको मिथिला लोककला चित्र बनाउन सिकाउन थालिन् ।
‘घर बाहिर निस्किंदा अनुमति लिनुपर्ने कडा अनुशासनमा बसेका मधेशका महिलाहरुलाई भेला पार्न गाह्रो थियो । दहेज र बोक्सी जस्ता कुप्रथाका कारण महिलाहरु मारिने, कुटिने भइरहन्थ्यो’ सुनैना भन्छिन्, ‘त्यस्तो कठिन समयमा महिला हिंसा विरुद्ध बोल्नुपर्छ, आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भनेर सिकाउन सजिलो थिएन । तर मैले हस्तकला र मिथिला चित्रकलाका काम सँगसँगै महिलाहरुलाई जागरुक बनाउन थालें ।’
यस क्रममा उनले घर, परिवार र समाजबाट हप्कीदप्की समेत खाइन् । तर हिम्मत हारिनन् । बरु मधेशका अरु महिलाले जस्तै आफूले पनि भोगेका कथालाई क्यानभासमा उतारेर प्रदर्शनीहरूमा राख्न थालिन् । ती चित्रहरु अधिकांश महिला सशक्तीकरण, लैंगिक समानता र महिला अधिकारको पक्षमा हुन्थे ।
यसले उनको कामलाई नयाँ पहिचानसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार समेत दिलायो । सुनैनाले प्रतिष्ठित ‘एन पिस अवार्ड २०१२’, अमेरिकाको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, ‘सफल महिला उद्यमी अवार्ड २०७३’, ‘ललितकला विशेष पुरस्कार २०१७’ अनि ‘संगति ग्रान्ट अवार्ड’ समेत प्राप्त गरिसकेकी छन् ।
जनकपुरबाट पोखरा, काठमाडौं हुँदै उनको चित्रकलाको माग विदेशमा समेत हुन थाल्यो । त्यस क्रममा उनी पटकपटक अमेरिका, जापान, श्रीलंका, बंगलादेश, भारत पुगिन् । आफ्ना कला प्रदर्शन गरिन् अनि आफूले जानेका धेरथोर कुरा सिकाइन् ।

स्वदेश र विदेशमा पटक–पटक एकल तथा सामूहिक चित्रकला प्रदर्शन गरिसकेकी सुनैनाले जनकपुरधामको जानकी मन्दिर परिसरमा पहिलोपटक मिथिला चित्रकला संग्रहालय स्थापना गरेकी छन् । त्यसमा १५ जना महिलाले रोजगारी पाएका छन् । काठमाडौंको क्षेत्रपाटीमा समेत सुनैना मिथिला आर्ट ग्यालरी सञ्चालनमा छ ।
उनका चित्रहरूले मिथिलाको मौलिक लोक कलालाई संरक्षण मात्र गरेको छैन, विदेशी दर्शकलाई पनि मिथिला संस्कृतिको सौन्दर्य र कथा बुझ्ने अवसर प्रदान गरेको छ । यसले नेपाली मिथिला कलाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न मद्दत गरेको छ ।
आजको समयमा धेरै परम्परागत कलाहरू हराउने जोखिममा छन् । तर सुनैना ठाकुर जस्ता सक्रिय कलाकारको सहयोगले मिथिला कला सांस्कृतिक अभ्यास मात्र होइन, आम्दानीको स्रोत पनि बन्न थालेको छ । कागज, क्यानभास, कपडा र विभिन्न हस्तकलामा मिथिला कलाको प्रयोग बढ्दै गएको छ ।
मिथिला लोककला केवल सजावटका लागि मात्र होइन, समाजलाई सन्देश दिने सशक्त माध्यम पनि हो । त्यसैले उनले आफ्ना चित्रमार्फत संस्कृति, प्रकृति र समाजका कथा निरन्तर प्रस्तुत गरिरहेकी छन् ।
यस क्रममा कोरोना महामारी र भूकम्पले काम प्रभावित भयो । एउटा पनि चित्र नबिक्ने स्थिति आयो । ‘३-४ वर्षसम्म एक सुको कमाइ भएन । त्यतिबेला त साह्रै निराश बनायो । तर हिम्मत हारिनँ । आफ्नो तर्फबाट सक्दो प्रयास जारी राखेँ,’ उनले सुनाइन् ।

सरकारले पनि मिथिला कला क्षेत्रलाई प्राथमिकता दिए हुन्थ्यो भन्ने सुनैनालाई लागेको छ । ‘विद्यालय शिक्षादेखि नै मिथिला चित्रकलासँगै फाइन आर्ट पढाइदिए राम्रो हुन्थ्यो’, उनी भन्छिन् ।
अहिले सुनैना जस्ता कलाकारहरुको प्रयासबाट धेरै ठाउँमा मिथिला आर्ट ग्यालरीहरु खुलेका छन् । तालिम सञ्चालन भएका छन् । यो देख्दा उनलाई खुसी नै लाग्छ । ‘पहिले म एक्लै लड्नुपर्थ्यो तर अहिले यो लडाइँ सामूहिक भएको छ’ सुनैना भन्छिन्, ‘मिथिला लोककलाको क्षेत्रबाट धेरैलाई रोजगारी दिनसक्ने सम्भावना छ । अब यो कलालाई बढीभन्दा बढी रोजगारी सिर्जनामा ढाल्नुपर्नेछ ।’
सुनैनाले परम्परागत कलालाई जोगाउने, त्यसलाई आधुनिक सन्दर्भसँग जोड्ने र नयाँ पुस्तासम्म पुर्याउने काम गरिरहेकी छन् । त्यसैले सुनैना ठाकुर केवल कलाकार मात्र होइनन्, लोक संस्कृतिको रंगीन कथालाई संसारभर सुनाउने एक सक्रिय संवाहक पनि हुन् ।