बालविवाह विरुद्ध लड्ने वडाध्यक्ष
२०५७ सालको मङ्सिर महिनाको मध्यतिरको कुरा हो। धादिङको तत्कालीन किरानचोक गाविस चैनपुरकी कौशिला अधिकारी बिहानै छिमेकीको मल बोक्न मेला गएकी थिइन्। निम्न आय भएको गाउँले परिवार, मेलापात र घाँसदाउरा नगरी स्कूल जान कहाँ पाइन्थ्यो र!
९ बजे मेला सिध्याएर उनी हतारहतार घर आइन्। आँगनमा दुई–तीन जना अपरिचित मान्छे बुबासँग गफिंदै थिए। १० बजे स्कूल दगुर्नुपर्ने हतारोमा रहेकी उनले ती मान्छे को हुन् भनेर खासै चासो राखिनन्। तर, भित्र छिर्नेबित्तिकै भाउजूले नजिकै बोलाएर कानेखुसी गरिन्, ‘तिम्रो बिहे पक्का भयो। बाहिर भएका तिम्रा केटा हुन्।’
शुरुमा त उनले जिस्किएको हो कि भन्ने ठानिन्। एकछिन घोरिएर सोचिन्। ८ कक्षामा पढ्दै थिइन्, भर्खर १४ वर्षको उमेर। बिहेको कुरा उनको कल्पनामा पनि थिएन। अब स्कूल किन जानु? उनी गइनन्। जिन्दगीले अर्कै मोड लिंदै थियो। ‘म अहिल्यै बिहे गर्दिनँ, पढ्छु’ भनेर आमा र भाउजूसँग रोइन्, तर त्यसको कुनै अर्थ भएन। बुबासँग बोल्न सक्ने आँटै थिएन।

उनका बुबा (महेश्वर अधिकारी) वरिपरिका दुई–चार गाउँमा चिनिएका लमी थिए। कौशिलाको जोसँग बिहे पक्का भयो, उनका लागि केटी खोज्ने जिम्मा बुबाले नै लिएका थिए। धेरैतिर कुरा चलाउँदा पनि नमिलेपछि उनले आफ्नै छोरी दिने निर्णय गरे। आखिर बुबालाई चार गाउँमा आफ्नो इज्जत र अभिमान जोगाउनु थियो। दाइ र भिनाजुहरूले प्रतिवाद गरे पनि बुबा टसमस भएनन्। कुरा छिनेको १२ दिनमै कौशिलाको बिहे भयो।
सपना मारेर कर्मघर
कक्षामा सधैं दोस्रो, तेस्रो हुने कौशिला अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल थिइन्। शिक्षकहरू भन्थे, ‘यसले भविष्यमा राम्रो प्रगति गर्छे, ठूलै मान्छे बन्छे।’ यस्तो सुन्दा उनलाई झन् हौसला मिल्थ्यो। तर, बुबाको इज्जत र अभिमानका लागि उनका सपना र सुन्दर बालपन एकै झट्कामा खोसियो।
बिहेपछि उनी कर्मघर पुगिन्- नुवाकोटको तत्कालीन कुमरी गाविस–४, डाँडागाउँ (हाल बेलकोटगढी नगरपालिका)। कर्मघरको आर्थिक अवस्था झनै कमजोर थियो। जेठाजु तत्कालीन विद्रोही माओवादीका ‘होलटाइमर’ थिए, आक्कलझुक्कल मात्रै घर आउँथे। श्रीमान् (पुडासैनी) पनि कलाकार टिमतिर जोडिएका रहेछन्, बेलाबेला हराउँथे। घरमा थिए- दमले थलिएका ससुरा र छोप्ने बेथाले ग्रस्त सासू।
माइतीमा हुँदा अलि गाह्रो काम लगायो भने घुर्क्याउने कौशिलाको काँधमा घरको सम्पूर्ण जिम्मेवारी आइलाग्यो। बिहे गरेको केही महिनामै उनी गर्भवती भइन्। त्यो समयमा गर्भवतीले छुट्टै पोषिलो खानेकुरा खाने र आराम गर्ने कुरा कल्पनामै थिएन। घाँसदाउरा, मेलापात, पानीपँधेरो सबै उनैले धान्नुपर्थ्यो।
पुगनपुग ४० केजीकी उनी गाउँबाट ४५–५० किलोको भारी बोकेर धार्के बजार पुग्थिन्। रित्तै हिंड्न ३ घण्टा लाग्ने बाटो भारी बोकेर ४–५ घण्टामा पुगिन्थ्यो। फेरि बजारबाट साहुको भारी बोकेर गाउँ उक्लिन्थिन्। त्यही भारी खेपेको ज्यालाले दमका रोगी ससुराका लागि औषधिको जोहो हुन्थ्यो।
कामको बोझ र थकानले राति हातगोडा दुखेर खपिनसक्नु हुन्थ्यो। ‘तँलाई गाह्रो भयो होला!’ भन्ने कोही थिएन। ऐय्या, आत्था गर्दा पनि घरका मान्छे उल्टै रिसाउँथे। सहन नसकेर उनले दुई पटक त आत्महत्याकै प्रयास समेत गरिन् । तर, ‘सास रहुन्जेल हिम्मत हार्नुहुँदैन’ भन्ने भावले उनलाई रोकिराख्यो र सकी–नसकी जिन्दगी घिसारिरहिन्।
विद्रोही समय र सङ्घर्ष
बिहे गरेको ठीक एक वर्षपछि उनले छोरा जन्माइन्। दिउँसो डल्ला फोर्न मेला गएकी उनी साँझ घर फर्कंदा बाटोमा कैयौं ठाउँ बस्दै बल्लतल्ल पुगेकी थिइन्। त्यही रात छोरो जन्मियो। आफ्नै बच्चा उमेर, सुत्केरीले गालेको शरीर, त्यसमाथि बच्चाको जिम्मेवारी।
देशमा सङ्कटकाल लाग्यो। माओवादीमा लागेका कारण श्रीमान् पनि ढुक्कले घरमा बस्ने अवस्था भएन। सानो बच्चा, खेतीपाती र बिरामीको स्याहारसुसार। सहयोग गर्ने कोही थिएन। सय रुपैयाँ सापटी माग्दा पनि गाउँमा पत्याउन छाडे। अरूको खेतबारीमा काम गर्ने र भारी बोक्ने गर्दै उनले जेनतेन गुजारा चलाइन्।
अनि शुरु भयो उठ्ने प्रयास
‘मेरो जस्तो नारकीय जीवन कसैले भोग्नु नपरोस्’ कौशिला सधैं मनमनै यही कामना गर्थिन्। महिलालाई यस्तो समस्याबाट मुक्त गराउन आफैंले केही गर्ने अठोटका साथ उनले २०६० सालमा टोलछिमेकका दिदीबहिनी भेला पारेर ‘महिला समूह’ गठन गरिन्। ‘महिलाहरू घरधन्दा र मेलापातमा मात्रै सीमित हुनुहुँदैन’ भनेर उनीहरूलाई जागरुक गराउन थालिन्।
२०६२ सालमा ससुराको निधन भएपछि श्रीमान् काम गर्न भारत गए। बिरामीको स्याहार गर्नु नपर्ने भएपछि उनले ज्याला मजदुरीसँगै अरू काम गर्ने समय पाइन्। त्यसै वर्षदेखि उनी ‘महिला स्वास्थ्य स्वयंसेविका’ भएर गाउँमा सेवा दिन थालिन्। यसपछि उनलाई महिलाको पक्षमा र बालविवाह रोक्न काम गर्न झन् सहज भयो।

आफ्नै पैसा खर्च गरेर उनले गाउँमा सिलाइ–कटाइ तालिम चलाइन्। १५ जना दिदीबहिनीलाई सिकाइन् र आफूले पनि सिकिन्। पछि गाउँमै टेलर सञ्चालन गरिन्। कठिनाइसँग जुध्न महिला आफैं आर्थिक रूपमा सक्षम हुनुपर्छ भन्ने कुरा उनले आफ्नै भोगाइबाट सिकेकी थिइन्।
बालविवाह विरुद्धको लडाइँ र जनप्रतिनिधि
सानै उमेरमा बिहे गर्दा कस्तो हुन्छ भन्ने राम्ररी भोगेकी कौशिलाले २०६० सालदेखि नै बालविवाहविरुद्ध अभियान छेडिन् । पढ्न छाडेका छोरीलाई फेरि स्कूल पठाउने, सानैमा विवाह गर्न खोज्दा आमाबुबालाई सम्झाउने र नमाने प्रहरीको सहयोग लिएरै भए पनि विवाह रोक्ने काम उनले गरिन्।
बालविवाह रोक्न किशोरीहरू नै सक्रिय हुनुपर्छ भनेर २०७१ सालमा ‘किशोरी समूह’ गठन गरिन्। अहिले वडामा मात्रै ७५ जनाको किशोरी समूह छ। यो अभियानका कारण अहिले उनको वडामा बालविवाहको दर शून्यप्रायः छ। छोरीको बिहे भाँडिदिएको भनेर उनीसँग रिसाउनेहरू गाउँमा अझै छन्। भोट माग्न जाँदा ‘तँ हाम्रो घर भाँड्नेलाई भोट दिंदैनौं’ भन्नेहरू पनि भेटिए। तर कतिपयले पछि ‘त्यो बेला ठीकै गरिछौ’ भनेर धन्यवाद समेत दिने गर्छन् ।
घरधन्दा, सिलाइको काम र स्वयंसेविकाको जिम्मेवारी एकसाथ अगाडि बढाइरहेकी कौशिला २०७४ सालमा वडा सदस्यमा निर्वाचित भइन्। वडा सदस्य हुँदैदेखि महिलालाई ‘एक घर, एक उद्यमशीलता’ मा जोड्न उनले पहल गरिन्।

त्यही कामको मूल्याङ्कन स्वरूप उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिका–३ को वडाअध्यक्षमा निर्वाचित भइन् । वडाअध्यक्ष भएपछि उनले वडाका सबै टोलमा बाह्रै महिना गाडी गुड्ने सडक बनाएकी छिन्। स्वास्थ्य चौकीको नयाँ भवन बनाएर सुत्केरी गराउने सुविधा थपेकी छिन्। एम्बुलेन्स ल्याएकी छिन् भने ‘एक घर, एक धारा’ अभियान अन्तिम चरणमा छ।
अधुरो पढाइलाई निरन्तरता
२०६२ सालतिरै उनले रोकिएको पढाइ अघि बढाउने सोचेकी थिइन्। तर फेरि छोरी जन्मिइन्। वडा सदस्य भइसकेपछि उनले थाहा पाइन्- नियमित स्कूल नगए पनि एसईई परीक्षा दिन पाइने रहेछ।
त्यसपछि २०७८ सालमा उनी पहिले छाडेकै विद्यालयमा कक्षा ८ मा भर्ना भइन् र परीक्षा दिइन्। अर्को वर्ष २०७९ सालमा रसुवाबाट एसईई दिइन्। एसईई पास भएपछि कक्षा ११ भर्ना भइन्। अहिले कक्षा १२ पास गरेर उनी स्नातक (ब्याचलर) तहमा भर्ना भइसकेकी छिन्। नियमित कलेज जान नपाए पनि आफैं पढेर उनी निरन्तर पास भइरहेकी छिन्।
कक्षा ८ मा पढ्दै बिहे भएपछि उनले ठानेकी थिइन्, ‘जीवनबाट सबै कुरा गुमाएँ।’ तर अहिले हेर्दा उनले आफूलाई समाजको एउटा बलियो र उदाहरणीय महिलाका रूपमा उभ्याउन सफल भएकी छिन् । समस्या परेर निराश भएका धेरै महिलालाई उनी आफ्नै सङ्घर्षको कथा सुनाउँछिन्। त्यही कथाले आज धेरैलाई बाँच्ने र केही गर्ने साहस दिइरहेको छ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी