+

सुनाखरीको शोधमा पाएको विजय

नेपालको उच्च हिमाली भेगदेखि तराईका फाँटसम्म फुल्ने सुनाखरी (अर्किड) केवल एक फूल मात्र होइन, नेपालको जैविक विविधताको अनमोल खजाना हो । यही खजानालाई चिन्ने, संरक्षण गर्ने र यसलाई औषधीय गुणसँग जोडेर विश्वसामु पुर्‍याउने एक अथक् यात्रीको नाम हो- प्रा.डा. विजया पन्त ।
पूरा सूची
Shares
प्रा‍. डा. विजया पन्त

सिरहाको पडरिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा हरेक वर्ष ‘वैशाख १ गते मात्र फूल्ने’ भनिएको फूलको चर्चा सुन्नुभएको छ ? कतिपय त त्यो फूल हेर्न र त्यहाँ लाग्ने मेला भर्न पनि जानुभएको होला ! 

‘हारम’को रूखमा सेतो झुप्पा परेर भुईंतिर निहुरिने त्यो फूललाई स्थानीयले ‘सहलेस’ भनेर चिन्छन् । यस फूलसँग जोडिएका कथाहरु सुन्दा रोचक र रहस्यमय लाग्छ । तर वनस्पतिविद्का अनुसार सहलेस भनिने त्यो फूल सुनाखरीको एक प्रजाति हो, जसको वैज्ञानिक नाम ‘डेन्ड्रोबियम् एफिलम’ हो ।

सुनाखरीका सयौं प्रजाति हुन्छन् । करिब २५ वर्षदेखि सुनाखरीमै अनुसन्धान गर्दै आएकी प्राध्यापक डा. विजया पन्तका अनुसार नेपालमा ५०० भन्दा बढी प्रजातिका सुनाखरी पाइन्छन् । सुनाखरीबारे धरै कुरा अझै पनि रहस्यमै छन् ।

सोही रहस्य खोज्ने क्रममा प्रा.डा. पन्तले सुनाखरीमा क्यान्सर निको पार्ने औषधीय गुण पनि हुने पत्ता लगाइन् । पत्ता मात्र लगाइनन्, औषधि उत्पादन गरेर क्यान्सर रोगबाट पीडित बिरामीलाई निको बनाएको सुखद् अनुभव पनि सँगालिन् । विजयाले हासिल गरेको विजयको यो कथाको लामो पृष्ठभूमि छ ।

तेह्रथुमदेखि जापानसम्म

विजया पन्तको जन्म तेह्रथुमको चुहानडाँडामा एउटा यस्तो परिवारमा भयो, जहाँ शिक्षालाई जीवनको सबैभन्दा ठूलो धन मानिन्थ्यो । उनका पिता हरिचरण सिटौला र माता मनमाया सिटौलाले २००३ सालमै गाउँमा स्कुल स्थापना गरेर शिक्षाको ज्योति बालिसकेका थिए । 

‘मलाई पढ्नका लागि कहिल्यै अवसर खोज्नु परेन, त्यो त मैले जन्मजात नै पाएको जस्तो थियो’ सम्पन्न र शिक्षित परिवारकी कान्छी सदस्य पन्त आफ्नो बाल्यकाल सम्झिन्छिन्, ‘जिजुहजुरबुवाले राणा शासनको समयमा बक्सिसको बदलामा ज्योति चाहियो भन्नुभएको रे ! किनभने त्यतिबेला सिधै शिक्षा माग्न पाइँदैनथ्यो । अनि विद्यालय खोल्नुभयो, पुल बनाउनुभयो । तेह्रथुममा अहिले पनि जिजु हजुरबुवाले बनाएको सिटौला नामको पुल छ ।’ उनका अभिभावकको पहलले गाउँमा मात्र होइन पूर्वाञ्चलभरि नै शिक्षाको ज्योति फैलिएको डा. पन्तको भनाइ छ । 

झापाको घैलाडुब्बास्थित आदर्श विद्या मन्दिरबाट विद्यालय तह सकेकी विजया सधैं अब्बल विद्यार्थी थिइन् । फुपाजू देवीप्रसाद उप्रेतीले स्थापना गरेको सो स्कूलमा सुविधासम्पन्न विज्ञान प्रयोगशाला थियो ।  दाजु राम सिटौला विज्ञान विषयको शिक्षक थिए । सोही प्रयोगशाला र दाजुकै प्रेरणाले विज्ञान विषयप्रति रुचि र चासो बढ्यो । 

२०३७ सालमा एसएलसी पास गरेपछि दाजु समेतको सल्लाहअनुसार विज्ञान विषय पढ्न उनी काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा भर्ना भइन् । अस्कलबाट आईएस्सी र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि उनको यात्रा जापानको हिरोशिमा विश्वविद्यालयतर्फ सोझियो । त्यहाँबाट ‘प्लान्ट बायोटेक्नोलोजी’मा विद्यावारिधि (पीएचडी) हासिल गरिन् ।

जापानको अनुभव र नेपालको १८ घण्टे लोडसेडिङ

जापानमा रहँदा डा. पन्तले एउटा कुरा गहिरोसँग बुझिन्- अनुसन्धान केवल कागजमा मात्र सीमित हुनुहुँदैन । अनुसन्धानलाई अर्थोपार्जन र समाजसँग जोड्न नसकेसम्म त्यसको औचित्य हुँदैन भन्ने बुझिन् । अनि जापानको सिकाइ र अनुभव नेपालमा लगाउने निधो गरिन् ।

तर, उनी जापानको अध्ययन सकेर सन् १९९७ मा नेपाल फर्किइन्, यहाँको अवस्था फरक थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । जापानको अत्याधुनिक ल्याबमा काम गरेर फर्केकी एउटा वैज्ञानिकलाई नेपालको सीमित स्रोत-साधन बीच काम गर्न निकै सकस भयो । ‘शुरुका ६ महिना त कसरी काम गर्ने होला भनेर चिन्ता लाग्यो’ उनले भनिन्, ‘तर मैले हार मानिनँ । प्रतिकूलतामा अनुकूलता खोज्न थालें ।’

विजयाको टिमले सुनाखरीमा यस्ता तत्वहरू पत्ता लगाएको छ, जसले स्तन क्यान्सर, पाठेघरको क्यान्सर, ब्रेन ट्युमर र फोक्सोको क्यान्सरका कोषहरूलाई मार्न मद्दत गर्छन् । विशेष कुरा त के छ भने, यी तत्वले सामान्य स्वस्थ कोषलाई असर नगरी केवल क्यान्सरका कोषलाई मात्र नष्ट गर्छन् ।

उनले त्रिभुवन विश्वविद्यालयमा पार्टटाइम टिचरको रूपमा पढाउन थालिन् । त्यसपछि विभिन्न परीक्षा पास गर्दै लेक्चरर, रिडर हुँदै प्रोफेसर बनिन् । उनले त्रिवि परिसरभित्रै सुनाखरीको अनुसन्धानलाई व्यवस्थित बनाउन ल्याब स्थापना गरिन् । तर ल्याबमा रहेका बिरुवालाई चौबीसै घण्टा निश्चित तापक्रम र प्रकाशको संयोजन मिलाएर राख्नुपर्थ्यो । ‘त्यो बेला लोडसेडिङको मार थियो । बिरुवा जोगाउन बल्लतल्ल इन्भर्टर जोडेर सानो ठाउँबाट अनुसन्धान सुरु गर्‍यौं’, डा. पन्त स्मरण गर्छिन् । 

विद्यार्थीहरुले तिनै बिरुवामाथि अनुसन्धान गर्न पाए । अनुसन्धान गरुन्जेल बिरुवाले पनि जसोतसो रेखदेख र स्याहार पाए । तर थेसिसको काम सकिइसकेपछि बिरुवाको स्याहार गर्न छाडिन्थ्यो । ‘दुःखले जोगाइएका बिरुवा हाम्रै बेवास्ताका कारण मरेको देःख्दा साह्रै दुःख लाथ्यो’, विजया भन्छिन् । 

त्योभन्दा पनि झन् बढी दुःख र पीडा त तब भयो जब २०७२ सालको भूकम्पले ल्याब भएको भवन नै क्षतिग्रस्त भयो । त्यसपछि अनुसन्धान ठप्प जस्तै भयो । तर भौतिक संरचना भत्किए पनि उनको सपना भत्किएन । त्यसले काममा नयाँ लय समात्यो । उनले श्रीमान् बसन्त पन्तले सञ्चालन गरेको अन्नपूर्ण न्युरो हस्पिटल, माइतीघरको एक भवनमा सुनाखरीमाथि थप अनुसन्धानका लागि टिस्यु कल्चर ल्याब स्थापना गरिन् ।

मोलिकुलर र टिस्यु कल्चर प्रविधिबाट उनले बिरुवाको सानो कोष वा तन्तुबाट हजारौंको संख्यामा स्वस्थ बिरुवा उत्पादन गर्ने प्रविधिलाई नेपालमा स्थापित गरिन् । त्यस ल्याबमा उनले पढाइरहेको त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले पनि अध्ययन अनुसन्धान गर्न पाएका छन् । हालसम्म ६ जनालाई विद्यावारिधि र ५० भन्दा बढी विद्यार्थीलाई एमएस्सीको शोधकार्यमा मार्गदर्शन गरिसकेको उनी बताउँछिन् ।

सुनाखरीबाट क्यान्सर विरुद्धको औषधि

घर सजावटको रूपमा पनि प्रयोग गरिने सुनाखरीमा पाइने औषधीय गुणबारे त उनलाई पहिल्यै थाहा थियो । कोरियाको चर्चित ‘ब्युटी प्रडक्ट’ जिङसेङ्ग त उनी आफैंले प्रयोग पनि गरेकी थिइन् । चीनमा उत्पादित जिङसेङ्ग चिया पनि उनले नखाएकी होइनन् । चिया होस् या अनुहारमा लगाउने क्रिम, दाँत माझ्ने मन्जन होस् या नुहाउने साबुन ती सबै सुनाखरीकै प्रजातिबाट उत्पादित थिए ।

सुनाखरीका जरा र काण्डबाट महँगा र बहुमूल्य वस्तु बन्ने कुरा थाहा पाएपछि उनले नेपालमा यसको संरक्षण गर्नुपर्ने आवश्यक ठानिन् । किनकि, जडीबुटी संकलनको नाममा सुनाखरीको जथाभावी दोहन हुने गरेको र ट्रकका ट्रक विदेश पठाउने गरेको उनलाई थाहा थियो । 

सुनाखरीको बीउबाट बिरुवा उम्रिने सम्भावना एक प्रतिशत मात्र हुने तर जथाभावी दोहन हुने गरेकाले कतिपय प्रजाति संरक्षण गर्नुपर्ने सूचीमा राखिएको थियो । त्यसैले विजयाले अन्नपूर्ण न्युरो अस्पताल एन्ड रिसर्च सेन्टरको भवनमा सुनाखरी उत्पादन गर्ने र त्यसमाथि अनुसन्धान गर्ने ल्याब सञ्चालन गरिन् । 

सुनाखरीमाथिको अनुसन्धानको क्रममा विजयाको नेतृत्वमा अन्नपूर्ण रिसर्च सेन्टरमा एउटा ठूलो सफलता हात लागेको छ । प्राकृतिक वातावरणमा सुनाखरीका एक प्रतिशत मात्र बीउ उत्पादन हुनेमा उनको ल्याबमा ९९ प्रतिशत बीउ उम्रिएका छन् ।

त्यतिमात्र होइन विजयाको टिमले सुनाखरीमा यस्ता तत्वहरू पत्ता लगाएको छ, जसले स्तन क्यान्सर, पाठेघरको क्यान्सर, ब्रेन ट्युमर र फोक्सोको क्यान्सरका कोषहरूलाई मार्न मद्दत गर्छन् । विशेष कुरा त के छ भने, यी तत्वले सामान्य स्वस्थ कोषलाई असर नगरी केवल क्यान्सरका कोषलाई मात्र नष्ट गर्छन् ।

यही अनुसन्धानको आधारमा अहिले ‘जीवन्ती’ नामको औषधि उत्पादनको काम सुरु भएको छ । प्रा.डा. पन्त भन्छिन्, ‘यो औषधिले क्यान्सरका कोषलाई मारेको पनि पुष्टि भयो । यदि हामीले यसलाई राम्रोसँग प्रवर्द्धन गर्न सक्यौं भने यो नेपालका लागि कोरियाको ‘जिङसेङ’ जस्तै बन्न सक्छ ।’

‘ल्याब टु ल्यान्ड’को सफल अवधारणा

यही महत्व बुझेर उनले ल्याबको कोठाभित्र राखिएका बन्द बट्टाभित्र ४० भन्दा बढी लोपोन्मुख प्रजातिका सुनाखरी उत्पादन गरेर संरक्षण गरेकी छन् ।

डा. पन्त केवल ल्याबमा बिरुवा उमारेर मात्र बस्दिनन् । ‘ल्याब टु ल्यान्ड’ अभियानअन्तर्गत प्रयोगशालामा टिस्यु कल्चर प्रविधिबाट उमारिएका हजारौं सुनाखरीका बिरुवाहरू अहिले ललितपुर, गोरखा, लुम्बिनी र इलाम जस्ता ठाउँमा रोपिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरेर जावलाखेलस्थित चिडियाखानामा पनि रोपिएको छ ।

सुनाखरी संरक्षणमा उनको लगाव र सफलता देखेर स्वदेशी कम्पनी मात्र होइन विदेशी वैज्ञानिकहरूको पनि चासो बढेको छ । गोर्खा आयुर्वेद कम्पनीले प्रा.डा. पन्तसँग सहकार्यको हात अघि बढाएको छ । कोरियाको एक प्रतिष्ठित कम्पनी र विश्व वन्यजन्तु कोष (डब्ल्यू.डब्ल्यू.एफ.)ले पनि सहकार्यमा चासो दिएको छ ।

वातानुकूलित बन्द कोठा भित्र उमारिएका बिरुवालाई बूढानीलकण्ठस्थित नर्सरीमा केही दिन परीक्षणका लागि राख्ने र प्राकृतिक वातावरणमा हुर्किन सक्छ भन्ने यकिन भएपछि विभिन्न जिल्लामा पठाउने गरेको उनको भनाइ छ । 

सुनाखरी संरक्षणमा उनको लगाव र सफलता देखेर स्वदेशी कम्पनी मात्र होइन विदेशी वैज्ञानिकहरूको पनि चासो बढेको छ । गोर्खा आयुर्वेद कम्पनीले प्रा.डा. पन्तसँग सहकार्यको हात अघि बढाएको छ । कोरियाको एक प्रतिष्ठित कम्पनी र विश्व वन्यजन्तु कोष (डब्ल्यू.डब्ल्यू.एफ.)ले पनि सहकार्यमा चासो दिएको छ ।

सम्मान, पहिचान र ‘म अर्किड’ पुस्तक 

डा. पन्तले सुनाखरीप्रतिको आफ्नो प्रेम र ज्ञानलाई ‘म अर्किड’ नामक पुस्तकमार्फत सार्वजनिक गरेकी छन् । यो पुस्तक केवल प्राविधिक ज्ञानको संग्रह मात्र होइन, बरु यसले सुनाखरीको आत्मकथा जस्तै गरी यसको महत्व, विविधता र नेपालमा यसको अवस्थालाई चित्रण गर्छ ।

सुनाखरीको पारिस्थितिकीय प्रणालीमा रहेको भूमिका र यसले वनको स्वास्थ्यलाई कसरी सन्तुलनमा राख्छ भन्ने कुरा सरल भाषामा बुझाउँछ । यसमा सुनाखरीको अवैध ओसारपसारले निम्त्याएको जोखिम र यसको संरक्षणको आवश्यकतालाई समेत जोड दिइएको छ ।

प्रा. डा. पन्तले भक्तबहादुर रास्कोटीसँग मिलेर ‘मेडिकल अर्किड्स अफ नेपाल’ पुस्तक पनि लेख्नु भएको छ। उनको अनुसन्धान मुख्यतः नेपालको जंगली अर्किडहरूको क्यान्सरविरोधी गुण, संरक्षण तथा दिगो उपयोगमा केन्द्रित छ । उनले जैवप्रविधि र अर्किड अनुसन्धानसम्बन्धी ७० भन्दा बढी स्नातकोत्तर र विद्यावारिधि शोधकार्यको निर्देशन गरिसकेकी छन् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा १४० भन्दा बढी अनुसन्धान लेख प्रकाशित गरिसकेकी छन् ।

डा. पन्तले सञ्चारमाध्यम र वैज्ञानिक सम्मेलनहरूमार्फत औषधीय अर्किडबारे जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । यसको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि डा. पन्तले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका थुप्रै प्रतिष्ठित सम्मानहरू प्राप्त गरेकी छन् ।

सन् २०२३ मा ब्राजिलमा आयोजित विशेष समारोहमा उनलाई नेपालको तर्फबाट ‘ट्वास फेलो’ को रूपमा सम्मानित गरिएको थियो । यो विश्वभरका वैज्ञानिकहरूका लागि एक उच्च सम्मान हो । 

यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्राज्ञका रूपमा सम्मानित उनी नइ प्रकाशनबाट ‘नइ कीर्ति रत्न’बाट पनि विभूषित भएकी छन् ।

सन् २०२६ को मार्च-अप्रिलमा जर्मनीमा आयोजित ‘वर्ल्ड अर्किड कांग्रेस’ मा मोडरेटर र प्रमुख वक्ताको रूपमा सहभागी भएकी छन् । पन्तकै पहलमा यसै वर्षको नोभेम्बर महिनामा नेपाल सरकारसहित विभिन्न संघसंस्थाहरूको सहकार्यमा नेपालमा अन्तर्राष्ट्रिय अर्किड गोष्ठी आयोजना  गरिँदैछ, जुन नेपालकै लागि गर्वको कुरा भएको उनी बताउँछिन् । 

पारिवारिक साथ र समर्पण

डा. पन्तको यो सफलतामा उनको परिवारको ठूलो हात छ । उनका पति, वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्त उनको काममा सधैंका सारथि बनेका छन् । दुई छोरा र एक छोरीका साथ डा. पन्तले आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनलाई सन्तुलित रूपमा अगाडि बढाइरहेकी छन् । 

उनको चाहना छ, नेपालका युवा अनुसन्धानकर्ताहरूले विदेश पलायन हुनुको सट्टा यहींका जडीबुटीमा भविष्य देखुन्, जसको उदाहरण उनी आफैं पनि हुन् । 

प्रा.डा. विजया पन्तको जीवन यात्राबाट थाहा हुन्छ- सुनाखरी केवल एउटा वनस्पति होइन, यो नेपालको समृद्धिको एउटा मार्गचित्र हो । त्यसैले उनी भन्छिन्, ‘रिसर्च भनेको कागजमा मात्र सीमित हुनुहुँदैन, यसले मान्छेको जीवनलाई सहज र समृद्ध बनाउनुपर्छ । नेपाल बायोडाइभर्सिटीको देश हो, त्यसलाई डलरमा बदल्ने बाटो खोज्नुपर्छ ।’

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।