संसारलाई नेपालको कथा सुनाउने ट्राभल फिल्ममेकर
नेपालका सुन्दर हिमाल, पदमार्ग र लुकेका गाउँबस्तीहरू संसारभरका यात्रुका लागि सधैं आकर्षणको केन्द्र हुन्। तर, ती ठाउँको कथा कसरी सुनाइन्छ भन्ने कुराले अझ ठूलो अर्थ राख्छ। पछिल्ला केही वर्षयता युट्युब र डिजिटल माध्यम मार्फत नेपाललाई बिल्कुलै नयाँ र आकर्षक ढङ्गले विश्वसामु चिनाउने एउटा बलियो नाम हो- स्मृति सुवेदी (३३)।
सिनेम्याटिक शैलीका भिडियो, मन छुने कथावाचन र प्राकृतिक दृश्यसँग जोडिएका मानवीय अनुभूति- स्मृतिका भिडियोहरू हेर्दा सामान्य ‘भ्लग’ जस्ता लाग्दैनन्। ती त यात्रा, संस्कृति र जीवनको गहिरो दर्शन बोकेका साना डकुमेन्ट्री प्रतीत हुन्छन्। शायद यही कारण हो, उनका भिडियोहरू नेपालभन्दा बढी अन्तर्राष्ट्रिय दर्शकमाझ हेरिन्छन्।
‘डार्क होल’ जस्तो अमेरिकी जीवन
काठमाडौंको नयाँबानेश्वरमा जन्मिएकी स्मृति घरकी कान्छी छोरी हुन्। सानैदेखि नयाँ कुरा सिक्न र व्यावसायिक काममा रुचि राख्ने उनले अमेरिकाको मिजौरीबाट अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातकोत्तर अध्ययन पूरा गरिन्।
१८ वर्षको उमेरमै अमेरिका पुगेकी उनी त्यहीं बसेर राम्रो जागिर खाने र विलासी जीवन बिताउन सक्थिन्। अमेरिका जस्तो विकसित मुलुकमा राम्रो जागिर, घर र गाडी सहितको सुविधायुक्त जीवन उनीसँग थियो पनि। तर, समय बित्दै जाँदा उनलाई एउटा प्रश्नले निरन्तर पछ्याउन थाल्यो- ‘मैले वास्तवमा जीवनमा के गरिरहेकी छु? मेरो पहिचान के हो? मेरो खुसी कहाँ छ?’
यी भौतिक सुख–सुविधा उनीसामु विस्तारै फिक्का लाग्न थाले। ‘त्यहाँ बस्दै जाँदा मलाई आफ्नो जीवन एउटा ‘डार्क होल’ (अँध्यारो सुरुङ) जस्तो लाग्न थाल्यो’ उनी आफ्नो अनुभूति सुनाउँछिन्, ‘जति धेरै सुविधा बढ्दै जान्छ, नयाँ कुराको खोजी गर्ने र जीवनलाई अनुभव गर्ने अवसर त्यति नै कम हुँदै जाँदो रहेछ।’
त्यसपछि उनले गम्भीर भएर सोचिन्- ‘मैले त आफ्नो देशलाई राम्रोसँग चिनेकै छैन। अब आफ्नै माटोमा फर्किएर वास्तविक खुसी खोज्नुपर्छ।’
यही अनुभूतिको बलमा सन् २०१९ मा उनले अमेरिकी जीवनको मोह त्यागेर सधैंका लागि नेपाल फर्कने साहसिक निर्णय गरिन्।
‘म हिंड्न जन्मेकी हुँ’
अमेरिका जानुअघि स्मृतिले नेपाल खासै घुमेकी थिइनन्। परिवारको मुख्य ध्यान पढाइमै हुन्थ्यो, घुमफिरलाई त्यति महत्त्व दिइँदैनथ्यो। सानो छँदा आमासँग लुम्बिनी, बागलुङ र पोखरा आसपास पुगे पनि त्यो स्वतन्त्र यात्रा थिएन।
‘म नेपाल घुम्छु भनेरै अमेरिकाबाट फर्किएकी हुँ। म त हिंड्नकै लागि जन्मेकी हुँ जस्तो लाग्छ’, उनी भन्छिन्। नभन्दै, नेपाल फर्किएको तेस्रो दिनमै उनी राराताल पुगिन्। त्यो यात्राले उनको जीवनलाई नयाँ दिशा दियो। त्यसपछि पदयात्रा (ट्रेकिङ) उनको जीवनशैली नै बन्यो।
पश्चिम नेपालका रारा, डोल्पा, मुस्ताङ र मनाङदेखि पूर्वका कञ्चनजङ्घा, सगरमाथा क्षेत्र, थामे, च्छो रोल्पा र रोल्वालिङ उपत्यकासम्म उनले पैदल यात्रा गरिसकेकी छिन्। यी यात्रा केवल सुन्दर दृश्य हेर्नका लागि मात्र थिएनन्, प्रकृतिको काखमा पुगेर मानिस र संस्कृतिसँग नजिक हुने माध्यम थिए।

स्मृतिका अनुसार, पहाडमा हिंड्दा प्रकृतिसँग एक प्रकारको ध्यान गरे जस्तो अनुभूति हुन्छ, जसले मानिसलाई भित्रैबाट रूपान्तरण गर्छ।
‘ट्राभर-आर्ट’ को जन्म र सिनेम्याटिक यात्रा
कोभिड महामारीको समयमा स्मृतिको भेट व्यावसायिक फोटोग्राफर सार्थक कार्कीसँग भयो। दशैंताका सार्थकले स्मृतिलाई ट्रेकिङ जाने प्रस्ताव गरे। उनीहरू लाङटाङदेखि गोसाइँकुण्डसम्मको करिब दुईहप्ते पदयात्राका लागि निस्किए- तामाङ हेरिटेज ट्रेल । त्यही यात्राले उनीहरूको सहकार्यको जग बसाल्यो।
त्यो यात्रामा सार्थकले धेरै फुटेज खिचेका थिए भने स्मृतिले पनि केही भिडियो लिएकी थिइन्। फर्किएपछि ती भिडियो सम्पादन गरेर युट्युबमा राखियो। नेपालमा सामान्यतया देखिने ‘क्याजुअल’ भ्लगभन्दा बिल्कुलै फरक र सिनेम्याटिक शैलीको भिडियो भएकाले दर्शकले अत्यधिक रुचाए। त्यसपछि उनीहरू मनाङ पुगे। दोस्रो भिडियो सार्वजनिक भएपछि त युट्युब च्यानल ‘मनिटाइज’ नै भयो।
यही उत्साहजनक प्रतिक्रियापछि उनीहरूले ‘ट्राभर-आर्ट’ नामक युट्युब च्यानल र मिडिया कम्पनी शुरु गरे। शुरुमा सार्थकले प्राविधिक पक्ष सम्हाल्थे, तर विस्तारै स्मृतिले पनि क्यामेरा चलाउन र सम्पादन गर्न सिकिन्। आज उनीहरू दुवै जना मिलेर उत्कृष्ट ‘ट्राभल फिल्म’ बनाइरहेका छन्।
भिडियो बनाउँदा उनीहरू ‘भ्युज’ को पछाडि कुद्दैनन्। आफूलाई हेर्न मन लाग्ने किसिमको गहिरो र अर्थपूर्ण कथा भन्छन्। अहिलेसम्म ‘ट्राभर-आर्ट’ च्यानलका भिडियोहरू करिब साढे दुई करोड (२५ मिलियन) पटक हेरिएका छन्। एउटै भिडियो ३० लाख पटकसम्म हेरिएको छ।
सबैभन्दा रोचक कुरा त के छ भने, यस च्यानलका करिब ९० प्रतिशत दर्शक विदेशी छन्। भारत, अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानडाबाट सबैभन्दा धेरै भ्युज आउँछ। ‘धेरै विदेशी दर्शकले हाम्रो भिडियो हेरेकै कारण नेपाल घुम्न आएको भनेर म्यासेज गर्नुहुन्छ’, स्मृति खुसी व्यक्त गर्छिन्। धेरै वर्षअघि अपलोड गरिएको ‘घुम्नैपर्ने नेपालका १२ गन्तव्य’ जस्ता भिडियोले आज पनि पर्यटकलाई नेपाल तानिरहेका छन्।
दर्शक भेट्दाको त्यो भावुक पल
सामाजिक सञ्जालका लाइक र कमेन्टभन्दा वास्तविक जीवनमा दर्शक भेटिंदा स्मृतिलाई निकै भावुक बनाउँछ। एकपटक बौद्धमा कफी पिउँदै गर्दा न्युयोर्कबाट आएका एक अमेरिकी युवाले उनलाई चिनेर भनेका थिए- ‘तपाईं ट्राभर-आर्टको स्मृति हुनुहुन्छ नि ? म मेरो परिवारसँग नियमित तपाईंको भिडियो हेर्छु।’
त्यस्तै, सन् २०२४ मा सगरमाथा क्षेत्रको थामे गाउँतिर पदयात्रा गर्दा एक अमेरिकी परिवारले उनलाई टाढैबाट चिनेर नेपाल आउनुअघि उनका भिडियो हेरेको बताएका थिए। ‘यसरी अपरिचित विदेशीहरूले चिनेर कुरा गर्दाको अनुभूति शब्दमा बयान गर्नै सकिंदैन। यसले अझ राम्रो काम गर्न ऊर्जा दिन्छ’, उनी भन्छिन्।
युट्युबदेखि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलसम्म
‘ट्राभर–आर्ट’ को काम युट्युबमै मात्र सीमित छैन। उनीहरूले बनाएका ट्राभल डकुमेन्ट्रीहरू अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि छनोट हुन थालेका छन्।
सन् २०२४ मा ‘म्यारिड टु टु ब्रदर्स’ (बहुपति प्रथामा आधारित कथा) नामक फिल्म दुईवटा अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट भएको थियो। त्यसैगरी, ‘द हिडन ट्रेल अफ डोल्पा’ नामक फिल्म जापानमा हुने ‘वर्ल्ड टुरिजम फेस्टिभल’ मा आधिकारिक रूपमा छनोट भएको छ। यसैको प्रस्तुतिको लागि उनीहरू मार्चको तेस्रो साता जापान जाने तयारीमा छन्।

यसका साथै, स्मृतिले नयाँ पुस्ताका महिला फिल्ममेकरहरूलाई प्रोत्साहित गर्न निकोन जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्यमा ‘थ्रु हर लेन्स’ नामक कार्यशाला पनि सञ्चालन गरिरहेकी छिन्, जहाँ युवतीहरूलाई क्यामेरा र दृश्य कथावाचनबारे प्रशिक्षण दिइन्छ।
यात्रा: जीवन बुझ्ने खुला विश्वविद्यालय
किताबमा पाइने ज्ञानभन्दा यात्राले दिने अनुभव निकै फराकिलो हुने स्मृतिको विश्वास छ। ‘नेपालका हिमाल र यहाँका मानिसमा एउटा चुम्बकीय आकर्षण छ। त्यही आकर्षणले मलाई तानिरहन्छ’ उनी भन्छिन्, ‘नेपालको पर्यटन प्रवर्धन गर्न ठूलो र कृत्रिम प्रयास आवश्यक छैन। यहाँको प्रकृति र संस्कृतिलाई इमानदार ढङ्गले मात्र देखाउन सकियो भने संसारको ध्यान आफैं तानिन्छ।’
स्मृतिको सन्देश एकदमै सरल छ- ‘आफूलाई मन पर्ने काम गर्नुपर्छ। अरूले के भन्छन् भनेर चिन्ता गर्न आवश्यक छैन । गुनासो गर्नु भनेको हल्ला मात्र हो, मुख्य कुरा भनेको काम गर्दै अघि बढ्नु हो।’
अमेरिकाको सुखसयललाई चटक्कै माया मारेर आफ्नै माटोको सुगन्ध खोज्दै निस्किएकी स्मृति सुवेदी आज एक सफल ‘ट्राभल फिल्ममेकर’ का रूपमा संसारलाई नेपाल चिनाइरहेकी छिन् । नेपालका विकट पदमार्गहरूबाट शुरु भएको उनको यो सिनेम्याटिक यात्राले अझै धेरै कथाहरू सुनाउन बाँकी नै छ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी