अमेरिकी मल्टिनेसनलकी एआई अगुवा
नेपाली-अमेरिकी प्रविधि विज्ञ र उद्यमी हुन् डा. रोशा पोखरेल । आर्टिफिसियल इन्टेलिजेन्स डेटा साइन्सको क्षेत्रमा विश्वकै ठूला कम्पनीमा नेतृत्वदायी तहमा काम गरिसकेकी रोशा हाल आफ्नै स्टार्टअप ‘सोल्भड्याट’ चलाउँछिन् । त्यसबाहेक यूएसटी हेल्थप्रुफमा ‘चिफ एआई आर्किटेक्ट’ को रूपमा समेत कार्यरत छिन् ।
डा. रोशाले यसअघि विश्वप्रसिद्ध कम्पनीहरु आईबीएममा लिड डेटा साइन्टिस्ट, सेन्टिन कर्पोरेसनमा डाइरेक्टर अफ मेसिन लर्निङ र डेटाभान्ट हेड अफ एआई जस्ता नेतृत्वदायी पदमा बसेर काम गरिसकेकी छन् ।
उनले विद्यालय शिक्षासँगै काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल एन्ड कम्प्युटर इन्जिनियरिङसम्मको शिक्षा आर्जन गरिन् ।
त्यसपछि उनले अमेरिकाबाटै पीएचडी गर्न आवेदन हालिन् । उनको ग्रेड अब्बल थियो । । युनिभर्सिटी अफ फ्लोरिडाबाट फेलोसिपमा पीएचडी गरिन्- सन् २०१४ मा । त्यो शिक्षा नै उनको जीवनमा टर्निङ प्वाइन्ट बन्न पुग्यो ।
रोशाका प्रोफेसर जोसे प्रिन्सिपे आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको ‘न्यूरल नेटवर्क’ भन्ने एल्गोरिदममा किताब लेख्ने व्यक्ति थिए । प्रोफेसरको मार्गदर्शनमा उनले यो विषयवस्तुलाई निकै गहिराइमा बुझ्ने र शोधपत्रहरू प्रकाशित गर्ने अवसर पाइन् ।
‘मैले विद्यावारिधि गर्ने समयसम्म अहिलेको जस्तो एआईको चर्चा व्यापक भइसकेको थिएन । तर ‘डेटा साइन्स’ निकै ठूलो विषय मानिन्थ्यो’, उनी भन्छिन् । उनले मस्तिष्कका तरंग (ब्रेन सिग्नल्स) देखि राडार सिग्नलसम्मको विश्लेषणका लागि विशेष एल्गोरिदम डिजाइन गरेर पीएचडी पूरा गरिन् ।

पीएचडी सकेपछि रोशाले सन् २०१४ मा द वेदर कम्पनी जसले वेदरडटकम च्यानल चलाउँछ, त्यसमा डेटा साइन्टिस्टको रूपमा काम शुरु गरिन् । त्यहाँ उनले एआई मोडलहरू बनाएर मौसम सम्बन्धी तथ्यांकका आधारमा आगामी १५ दिनसम्म कुन क्षेत्रमा कति विद्युत् खपत हुन्छ भन्ने पूर्वानुमान गर्ने काममा सहभागी हुने मौका पाइन् । त्यहाँको पहिलो काम ती मोडलहरूलाई परिष्कृत गर्नु थियो ।
वेदर कम्पनीलाई विश्वकै ठूलो प्रविधि कम्पनी आईबीएमले खरिद गरेपछि उनी आधिकारिक रूपमा आईबीएमकै कर्मचारी भइन् । आईबीएममा उनले ‘लिड डेटा साइन्टिस्ट’ का रूपमा काम गर्न पाइन् । त्यहाँ ‘वाट्सन आउटेज प्रेडिक्सन’ भन्ने एआई प्रोडक्टमा काम गर्ने अवसर पाइन्, जसले मौसमको अवस्था- हावाहुरी, भारी वर्षा वा अत्यधिक गर्मीको विश्लेषण गरेर कुन ठाउँमा कतिखेर बिजुली जान सक्छ भन्ने कुरा कम्तीमा २४ घण्टा अगाडि नै पत्ता लगाउँथ्यो ।
अमेरिका जस्ता विकसित देशहरूमा केही कारण बिजुली गयो भने विद्युत् सेवा प्रदायक कम्पनीहरूले निश्चित अवधिमा पुनर्बहाली गर्नुपर्ने कानूनी प्रावधान हुन्छ । नत्र उनीहरूले लाखौं डलर जरिवाना तिर्नुपर्छ । ‘हाम्रो एआई मोडलले दिएको पूर्वसूचनाका कारण ती कम्पनीहरूले प्राविधिक टोलीलाई पहिल्यै सम्बन्धित ठाउँमा परिचालन गर्न सक्थे, जसले गर्दा सेवा छिटो सुचारु हुन्थ्यो र उनीहरूको ठूलो जरिवाना जोगिन्थ्यो’ उनी भन्छिन्, ‘त्यसो हुँदा हाम्रो मोडेल यस्ता कम्पनीमाझ लोकप्रिय भयो ।’
यो प्रोडक्टको नेतृत्व गर्दा उनले इटाली, जापान, क्यानडा र ब्राजिल जस्ता देशका अन्तर्राष्ट्रिय ग्राहकहरूसँग काम गर्ने र सम्मेलनहरूमा प्रस्तुतीकरण दिने मौका पाइन् । यसले उनलाई अन्तर्राष्ट्रिय एक्स्पोजर पनि प्रदान गर्यो ।
अमेरिकी प्रविधि कम्पनी आईबीएमलाई ‘बिग ब्लू’ भनिन्छ । किनभने यस कम्पनीको ब्रान्ड कलर नीलो मात्रै छैन, कम्पनीको आकार नै विशाल छ, विश्वव्यापी बजारमा प्रभावशाली उपस्थिति छ । १०० वर्षभन्दा पुरानो कम्पनीमा कर्मचारीको सम्मान र नैतिक मापदण्ड निकै उच्च छ । ‘त्यो कम्पनीमा काम गर्न पाउनु मेरा लागि अद्भुत भयो’, डा. रोशा भन्छिन् ।
आईबीएमको कर्पोरेट कल्चर नै ‘वन्स एन आईबीएमर, अलवेज एन आईबीएमर’ (एक पटकको आईबीएमर सधैंका लागि आईबीएमर) भन्ने हो । ‘आईबीएममा रहँदा मलाई सधैं ‘म सुरक्षित छु’ र ‘मेरो कदर भएको छ’ भन्ने महसुस भयो । विश्वका जुनसुकै देशको आईबीएम अफिसमा जाँदा पनि जुन सम्मान र पहुँच पाइन्थ्यो, त्यो अनुभव मेरा लागि सधैं अविस्मरणीय रहनेछ’, उनी भन्छिन् ।
सन् २०२० सम्म उनी आईबीएममा ‘लिड डेटा साइन्टिस्ट’ भइसकेकी थिइन्, एउटा महत्वपूर्ण एआई प्रोडक्ट लन्च गरिसकेकी थिइन् । त्यसपछि उनलाई लाग्यो, अब अझै माथिको नेतृत्वदायी भूमिकामा जानुपर्छ । नेतृत्व तहमा महिलाहरू निकै कम छन् । ‘म नेतृत्वमा पुग्न सकें भने कार्यक्षेत्रमा महिला सहभागिता र उनीहरूको विकासका लागि धेरै कुरा परिवर्तन गर्न सक्छु भन्ने अठोट पलायो’, उनी भन्छिन् ।
संयोगले आईबीएममा म्यानेजर महिला थिइन्, जो उनका लागि ठूलो प्रेरणा बनिन् । ‘यू क्यान वन्ली बी, ह्वाट यू क्यान सी’ (तपाईं त्यही मात्रै बन्न सक्नुहुन्छ, जे तपाईं देख्न सक्नुहुन्छ’ भन्ने भनाइ नै छ ।
तर, आईबीएम जस्तो ठूलो संस्थामा व्यवस्थापकीय पदमा पुग्न निकै समय लाग्थ्यो । त्यसैले उनले आफ्नो करिअरलाई गति दिन त्यहाँबाट बाहिरिने निर्णय गरिन् ।

त्यसपछि उनी स्वास्थ्य सेवासँग सम्बन्धित सेन्टिन कर्पोरेसन भन्ने संस्थामा आबद्ध भइन् । ‘त्यही समयमा मलाई ‘हेल्थ केयर’ (स्वास्थ्य सेवा) क्षेत्रमा एआईको माग बढ्छ भन्ने लागेको थियो र त्यसैले मैले सेन्टिन कम्पनी रोजें’, उनी भन्छिन् । त्यहाँ पनि उनी ‘लिड डेटा साइन्टिस्ट’ कै रूपमा गएकी थिइन् । तर सिनियर डिरेक्टरलाई सिधै रिपोर्ट गर्ने पद थियो त्यो । त्यहाँ उनलाई संस्थाको एआई रणनीति तयार पार्ने जिम्मेवारी थियो ।
त्यो कम्पनीमा तीन वर्ष काम गर्दा उनले निकै मिहिनेत गरिन्, दिनकै १२ देखि १६ घण्टासम्म काम गरिन् । कारण स्पष्ट थियो- स्वास्थ्य सेवा सुधार्न एआई प्रयोगलाई उन्नत बनाउने हुटहुटी र नेतृत्वदायी भूमिकामा चाँडै पुग्ने चाहना । मिहिनेतले परिणाम पनि दियो- एक वर्षमै उनी म्यानेजर भइन्, त्यसको दुई वर्षपछि एआई डिरेक्टर बनिन् । फर्च्युन ५०० कम्पनीको २३औं स्थानमा रहेको र ६० हजारभन्दा बढी कर्मचारीले काम गर्ने सेन्टिन कर्पोरेसनमा उनी इतिहासकै पहिलो आधिकारिक ‘एआई प्रडक्ट लाइन टिमको डिरेक्टर’ बनेकी थिइन् ।
एआईमा काम गर्ने एक्लो कर्मचारीका रुपमा प्रवेश गरेकी उनले ७ वटा टिम र ५० जनाभन्दा बढी कर्मचारीको समूह बनाइन् । उनको नेतृत्वामा सेन्टिनले स्वास्थ्य बीमा र सेवाका क्षेत्रमा यस्ता एआई प्रडक्ट बनाए, जुन ‘फर्स्ट अफ इट्स काइन्ड’ थिए । उनी प्रविधिमा बलियो थिइन् नै, सेन्टिनमा रहँदा नेतृत्व क्षमता तिखार्ने मौका पनि पाइन् ।
अझै फराकिलो दायरामा काम गर्ने चाहना उनमा बढिरहेको थियो । त्यहीबीचमा ‘डेटा भ्यान्ट’ नामक स्वास्थ्य क्षेत्रमै काम गर्ने उदाउँदो स्टार्टअपले उनलाई ‘हेड अफ एआई’ बन्न प्रस्ताव गर्यो । उनी त्यो कम्पनीमा गइन् । तर, त्यहाँ केही महिना काम गरेर एउटा मुख्य प्रोडक्ट लन्च गरेपछि उनको ‘ले-अफ’ भयो, अर्थात् कम्पनीले जागिर छोडायो । अमेरिकामा नेतृत्वदायी भूमिकामा रहेकाहरूको जुनसुकै बेला लेअफ हुनसक्छ ।
त्यसपछि पनि जागिरका लागि निकै राम्रा अवसर आएका थिए । तर, उनले सोचिन्, अरूको कम्पनीमा काम गर्ने चक्र कहिलेसम्म चलाइरहने ? त्यसपछि आफ्नै एआई कन्सल्टिङ कम्पनी ‘सल्भ ड्याट’ स्थापना गरिन् । यो कम्पनीले अन्य कम्पनीहरूको एआई रणनीति बनाउने, प्रडक्टहरू विकास गरिदिनेदेखि जनशक्ति उपलब्ध गराइदिनेसम्मका काम गर्छ ।
‘म यस क्षेत्रमा लागेको करिब १५ वर्ष भयो । तर, धेरै मानिसले एआई भन्नाले ‘च्याट जीपीटी’ लाई मात्र बुझ्छन् । एआईले व्यावसायिक जगतमा कस्तो मूल्य सिर्जना गर्न सक्छ भन्ने धेरैलाई थाहै छैन, त्यही खाडल पुर्न मैले यो स्टार्टअप शुरु गरेकी हुँ,’ उनी भन्छिन् ।
एआई लिडरका रूपमा उनले देखिन्, कम्पनीहरू एआई प्रोडक्ट बनाउन त चाहन्छन्, तर कसरी शुरु गर्ने, कस्तो सीप भएको मान्छे हायर गर्ने भन्ने ज्ञानको अभाव छ । यही ग्यापलाई पुर्न सल्भ ड्याटले भूमिका खेल्ने गरेको छ । यही कम्पनीमार्फत रोशाले अन्य कम्पनीहरूमा ‘एक्जिक्युटिभ लिडरसिप’ र टिम निर्माणमा सहयोग गर्छिन् ।
कम्पनीको मुख्य काम हो, एआई स्ट्राटेजी, प्रोडक्ट डेलिभरी र टेक्निकल सपोर्ट गर्नु । उनले यी कम्पनीमार्फत ‘यूएसटी हेल्थ प्रुफ’ का लागि सेवा दिन्छिन्, जहाँ उनी ‘चिफ एआई आर्किटेक्ट’ भएर एआई प्रोडक्ट डिजाइन र लन्च गर्न सहयोग गर्छिन् । यसअघि संसारकै ठूलोमध्येको हेल्थ केयर कम्पनी सीभीएस हेल्थमा सिनियर एआई एड्भाइजरका रूपमा काम गरेकी थिइन् ।
एउटा नेपालीले एआई क्षेत्रमा यति ठूलो उपलब्धि हासिल गर्दा कस्तो लाग्छ ? हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘मेरो जग नेपाल नै हो ।’ नेपालले आफ्नो प्रणालीलाई स्थिर बनाउने र सुरक्षाको प्रत्याभूति दिने हो भने नेपाल प्रविधिको अर्को ठूलो हब बन्न सक्ने उनको बुझाइ छ । ‘पश्चिमी देशहरू अहिले उच्च गुणस्तर र कम लागतको खोजीमा पूर्वतिर मोडिएका छन् । यसमा इन्डिया र बंगलादेश मात्र होइन, नेपालको पनि ठूलो अवसर छ’, उनको भनाइ छ ।

व्यावसायिक क्षेत्रमा मात्रै होइन, सामाजिक क्षेत्रमा पनि उनको योगदान विशिष्ट छ । उनी ‘तिम्रो सुरक्षा, हाम्रो कर्तव्य (टीएसएचके)’ नामक सामाजिक संस्थाको संस्थापक तथा अध्यक्ष हुन् । गैरनाफामूलक संस्थाले बालबालिका र किशोरीहरूमाथि हुने उत्पीडन र शोषणका विषयमा जनचेतना जगाउने काम गर्दै आएको छ ।
सन् २०१९ तिर उत्पीडन र शोषणका पुराना घटनाहरू धेरै नै सार्वजनिक हुन थालेपछि खासगरी स्कूले विद्यार्थी र शिक्षकलाई जनचेतना बढाउनुपर्छ भनेर उनले यो संस्था शुरु गरेकी हुन्, जसमा अन्य धेरै जना महिलाहरू जोडिएका छन् ।
नेपालका विद्यालयमा बालबालिकालाई ‘गुड टच’ र ’ब्याड टच’ बारे कम मात्रै सिकाइन्छ । शिक्षकहरूलाई पनि यस्तो अवस्थामा कसरी प्रतिक्रिया दिने भन्ने थाहा छैन । ‘हाम्रो संस्कारले गुरु र अभिभावकलाई प्रश्न नगर्न सिकाउँछ, दुर्व्यवहार हुँदा पनि बच्चाहरू बोल्न डराउँछन् । त्यसैले हामीले तालिमप्राप्त चाइल्ड साइकोथेरापिस्टहरू मार्फत एउटा सजिलो कोचिङ प्याकेज बनायौं, र १ देखि १० सम्मका विद्यार्थीलाई क्याम्पेन चलायौं’, उनी भन्छिन् । शुरुका दुई वर्षमा नेपालका करिब २० वटा सरकारी र विपन्न क्षेत्रका विद्यालयहरूमा पुगेर करिब ५ हजार विद्यार्थीलाई ज्ञान दिएको उनी बताउँछिन् ।
हाल यो संस्था अमेरिकामा दर्ता छ । संस्था पाँच वर्ष पनि पुगेको हुँदा चाँडै नेपालमै एउटा संस्था दर्ता गरी अझै सक्रिय भएर लाग्ने योजना रहेको रोशा बताउँछिन् ।
‘हामीले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण पनि गराउन थालेका छौं, यो एउटा सद्भावको अभियान हो; २० जना प्रशिक्षकको तालिम पाए भने अरू २० जनालाई सिकाउँदै जाँदा सामाजिक सचेतना बढ्नेछ भन्ने हाम्रो विश्वास छ’, उनी भन्छिन् ।