+

साइ-फाइ फिल्ममा किराती महिलाको शक्ति

शान्ता नेपालीको सिंगो सिने करिअरलाई निङ्वासुम अघि र पछि भनी बाँडेर विश्लेषण गर्न सकिन्छ किनकि नेपाली फिल्म इतिहासमा यस्तो कलात्मक प्रयोगशीलता यसअघि कहिल्यै देखिएको थिएन । ५ हजार मिटरभन्दा माथिको हिमाली भेगमा खिचिएको निङ्वासुमले याक्थुङ नेपाली लोकजीवन र भविष्यको पृथ्वीबारे अनि महिलाको शक्तिबारे नारीवादी कोणबाट अध्ययन पनि गर्छ ।
पूरा सूची
Shares
शान्ता नेपाली

धरानको खुला साङ्गीतिक वातावरणमा हुर्किएकी शान्ता नेपाली आज धरानभन्दा धेरै पर, एउटा फराकिलो अन्तर्राष्ट्रिय क्यानभासमा उभिएकी छिन्। उनी धरानको त्यो सानो र सीमित घेरामा मात्र रमाइरहन चाहिनन्। त्यहाँको सीमितता तोड्दै उनी बाहिर निस्किइन् र आफ्नो बाटो आफैं खन्न थालिन्।

शान्ता नेपाली फिल्म मेकिङ, डकुमेन्ट्री निर्माण र सिनेम्याटोग्राफीको क्षेत्रमा एउटा परिचित र प्रभावशाली नाम बन्न पुगेकी छन् । यहाँसम्म पुग्न उनले गरेको वर्षौं वर्षको सङ्घर्ष चानचुने छैन। आज ती दिनहरू सम्झँदा जति रोमाञ्चक लाग्छ, पुराना दिनहरू उत्तिकै चुनौतीपूर्ण थिए।

ब्लास्ट खबर हुँदै काठमाडौं  

शान्ताको जन्म र हुर्काइ धरानमै भयो। परिवार ‘लाहुरे संस्कृति’ सँग जोडिएकाले उनको बाल्यकाल सुखमय नै बित्यो। घरबाटै अनुशासन सिकेकी उनी धराने कला र सङ्गीतको वातावरणसँग सानैदेखि प्रेममा परिन्।

विद्यालयमा पढ्दै गर्दा उनको मनभित्र एउटा अज्ञात इच्छाले तीव्र गतिमा दौड लगाइरहन्थ्यो। त्यो इच्छा के थियो र त्यसले कता लैजान्छ भन्ने कुराको स्पष्ट खाका उनीसँग थिएन। तर, त्यही अज्ञात हुटहुटीका कारण अनपेक्षित रूपमै उनको करिअर पत्रकारिताबाट शुरु भयो।

२०५९ सालमा एसएलसी दिएपछि उनले पूर्वकै चर्चित पत्रिका ब्लास्ट खबरमा इन्टर्नसिप गर्दै पत्रकारिता थालिन्। १७/१८ कै उमेरमा पत्रिकाको पानामा बाइलाइन छापिएपछि नजिकका मानिसहरूले गरेको प्रशंसाले उनी फुरुङ्ग हुन्थिन्। त्यहींबाट उनले मिडिया र शब्दको शक्ति बुझिन्।

यो वैचारिक र प्राविधिक युद्धमा उनी एक्लै मात्र लडिरहेकी छैनन् । १९ वर्ष लामो यो सङ्घर्षपूर्ण यात्रामा उनलाई मेन्टर गर्ने कोही भेटिएनन् ।

शान्तालाई त्यही सानो परिधिभित्र मात्र अल्झिनु भने थिएन। एकातिर घरबाट नयाँ कुरा सिक्न पाएको स्वतन्त्रता र अर्कोतिर मनभित्रको त्यही अज्ञात इच्छा पछ्याउँदै अन्ततः २०६१ सालतिर उनी खल्तीमा केही रुपैयाँ र मनभरि सपनाका भारीहरू बोकेर काठमाडौं छिरिन्।

अडियोबाट भिजुअल हुँदै फिल्म मेकिङसम्म 

नयाँ शहर, अपरिचित अनुहार र बाँच्ने ठूलो चुनौती। तर, शान्तासँग रहरको भोक मरेको थिएन। काठमाडौंमा एउटा बलियो आधार बनाउने सपना बुन्दै गर्दा उनले उज्यालो एफएममा इन्टर्नसिपको विज्ञापन देखिन्।

उनले आवेदन दिइन् र छनोट पनि भइन्। त्यसपछि उनको पत्रकारिताको अर्को ‘इनिङ्स’ शुरु भयो। रेडियोको माइक्रोफोन बोकेर काठमाडौंका गल्ली–गल्ली चहारिन्, फरकफरक क्षेत्रका मानिसहरू भेटिन् र अनुभव बटुल्दै गइन्। त्यसपछि माध्यम परिवर्तन गर्दै उनी अडियो (रेडियो) बाट भिजुअल (टेलिभिजन) तिर लागिन्। शिखर तराई टेलिभिजनमा रहेर उनले प्रोडक्सन र प्राविधिक ज्ञान हासिल गरिन्।

पत्रकारिताको यो यात्रा उनका लागि सधैँ सुन्दर भने रहन सकेन। मिडिया क्षेत्रमा रहेको चरम पुरुषप्रधान मानसिकता र आन्तरिक राजनीतिका कारण उनलाई आफ्नो सिर्जनशीलता हराउँदै गएको महसुस भयो। 

जति नै राम्रो काम गरे पनि सोचे जस्तो सामाजिक प्रभाव नदेखेपछि उनले पत्रकारितालाई सधैंका लागि बिदा दिंदै फिल्म मेकिङतर्फ पाइला मोडिन्।

हिमालका कथादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म 

फिल्म मेकिङमा प्रवेश गरेपछि उनले विभिन्न परियोजनामा स्वतन्त्र काम गर्न थालिन्। कृपा स्टुडियोमा प्रबन्ध निर्देशकको रूपमा काम गर्दा उनकै अगुवाइमा बनेको ‘कृपा अनप्लग्ड’ शोले नेपाली साङ्गीतिक क्षेत्रमै ठूलो तरङ्ग ल्याएको थियो, जुन आज पनि युट्युबमा उत्तिकै लोकप्रिय छ। चर्चित रियालिटी शो हिमालय रोडिजको पहिलो सिजनमा पनि उनी जोडिएकी थिइन्।

शान्ताको प्यास यतिमै मेटिनेवाला थिएन। उनलाई अझै केही नयाँ, साहसिक र अर्थपूर्ण काम गर्नु थियो। त्यसपछि उनी उच्च हिमाली क्षेत्रका कथाहरू खिच्न क्यामेरा बोकेर हिमालतिर लागिन्। हाई अल्टिच्युड सिनेम्याटोग्राफी गर्दै गर्दा उनले ७ हजार मिटरभन्दा अग्ला हिमालहरू समेत चढिन्। यही साहसिक कामले गर्दा उनले हलिउड सहित अन्य थुप्रै अन्तर्राष्ट्रिय एजेन्सीसँग काम गर्ने दुर्लभ अवसर पाइन्।

पत्रकारिताबाट शुरु शान्ता नेपालीको यात्रा आज ७ हजार मिटर अग्ला हिमालदेखि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलसम्म पुगेको छ। उनी आफू मात्र सफल फिल्ममेकर बनेकी छैनन्, बरु ‘विमेन इन फिल्म नेपाल’ मार्फत आफू जस्तै थुप्रै महिलालाई क्यामेरा र लाइटिङ जस्ता प्राविधिक विधामा सक्षम बनाइरहेकी छिन्।

 

शान्ताले ‘जातको प्रश्न’ र ‘कास्ट कन्भर्सेसन’ जस्ता लाखौंले हेरेका र समाजमा गहिरो विमर्श छेडेका टेलिभिजन शोहरूको निर्माण तथा निर्देशन गरिन्। त्यस्तै, सगरमाथा क्षेत्रका शेर्पाहरूको कथा र जलवायु परिवर्तनको असरबारे बोल्ने डकुमेन्ट्री ‘क्लाइम्बिङ टेम्परेचर’ उनैले निर्माण तथा निर्देशन गरेकी हुन्, जुन क्यानडाको प्रतिष्ठित ‘बान्फ’ फिल्म फेस्टिभलमा समेत छनोट भएको थियो।

मुस्ताङका मानिसहरूले जलवायु परिवर्तनकै कारण आफ्नो जन्मथलो छाड्नुपर्दाको पीडामा आधारित ‘ध्ये ड्रिम’ नामक वृत्तचित्रले त काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ नै जित्न सफल भयो। 

त्यसैगरी, ‘निङवासुम’ र ‘काङसोरे’ जस्ता आदिवासी र सीमान्तकृत समुदायको पहिचान बोल्ने ‘साइ-फाइ’ फिल्महरूमा समेत उनले सिनेम्याटोग्राफरको रूपमा उत्कृष्ट काम गरिन्। निङ्वासुम फिल्ममा उनले प्राचीन किराती लोककथा र भविष्यको विश्वमा मान्छेको उपस्थिति अनि अर्थ बुझाउने गरी साइन्स फिक्सनको मद्दतले यस्तो कथा भनेकी छन् जहाँ विज्ञान र अध्यात्म अनि विगत र आगत एकै क्षितिजमा भेटिन्छन् । 

शान्ताको सिंगो सिने करिअरलाई निङ्वासुम अघि र पछि भनी बाँडेर विश्लेषण गर्न सकिन्छ किनकि नेपाली फिल्म इतिहासमा यस्तो कलात्मक प्रयोगशीलता यसअघि कहिल्यै देखिएको थिएन । ५ हजार मिटरभन्दा माथिको हिमाली भेगमा खिचिएको निङ्वासुमले याक्थुङ नेपाली लोकजीवन र भविष्यको पृथ्वीबारे अनि महिलाको शक्तिबारे नारीवादी कोणबाट अध्ययन पनि गर्छ ।

कला : प्रतिरोध र महिला सशक्तीकरणको हतियार 

शान्ताका लागि कला केवल सौन्दर्य मात्र होइन, र फिल्म बनाउनु मनोरञ्जन मात्र हुँदै होइन। उनी कलालाई एउटा बलियो प्रतिरोध मान्छिन्। त्यसैले त उनी आफ्नो क्यामेराको लेन्सबाट सीमान्तकृत, दलित र आदिवासी समुदायका ती कथाहरू भन्छिन्, जसलाई राज्य र मूलधारको मिडियाले लामो समयदेखि ओझेलमा पार्दै आएका छन्।

यो वैचारिक र प्राविधिक युद्धमा उनी एक्लै मात्र लडिरहेकी छैनन्। १९ वर्ष लामो यो सङ्घर्षपूर्ण यात्रामा उनलाई मेन्टर गर्ने कोही भेटिएनन् । एकलव्यले जस्तै उनले आफ्नो बाटो आफैं खन्दै अघि बढ्नुपर्‍यो। तर, अब आउने नयाँ पुस्ताका महिला फिल्ममेकरहरूले त्यो नियति भोग्न नपरोस् भन्ने उनको गहिरो चाहना छ।

त्यसैले त उनले शान्ता फाउन्डेसन र आफू संस्थापक रहेको ‘वुमेन इन फिल्म नेपाल’ मार्फत महिलाहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको प्राविधिक क्षमता बढाउने काम गरिरहेकी छिन् । भोलिका दिनमा नेपाली फिल्म क्षेत्रमा महिलाहरू नामका लागि वा ग्ल्यामरका लागि मात्र नभएर सिनेम्याटोग्राफी, लाइटिङ, साउन्ड र निर्देशन जस्ता कठोर प्राविधिक विधामा समेत अब्बल भएको हेर्न उनी चाहन्छिन्।

पछिल्ला केही वर्षयता फिल्म मेकिङमा महिलाहरूको सङ्ख्या बढ्दै गए पनि त्यो अझै पर्याप्त नभएको उनको बुझाइ छ। ‘यसका लागि व्यक्तिगत रूपमा मात्र नभएर राज्यस्तरबाटै ठोस नीति र लगानी आवश्यक छ’, उनी भन्छिन्।

आफूले खनेको बाटोमा अब सिङ्गो इकोसिस्टम नै तयार गरेर थुप्रै महिलालाई सँगसँगै अघि बढाउने शान्ता नेपालीको यो अभियान आफैंमा एउटा सुन्दर सिनेमा भन्दा कम शक्तिशाली छैन।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।