+
+
Shares

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भीमफेदीको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई भेट्न सभामुख डीपी अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन्।
  • सभामुख अर्यालले शोकसन्तप्त परिवारलाई समवेदना दिँदै राहत र पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • कात्तिक २६ गते चिसापानी गढीबाट खसेको माइक्रोबस दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए, जसमध्ये १३ जना सुन्दरपुरका थिए।

३० कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारलाई भेट्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन् ।

सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरी समवेदना व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कडा कदम चालिने बताए ।

पीडित परिवारलाई राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

भेटका क्रममा पीडित परिवारका सदस्यहरूले दुर्घटनापछिको अवस्था, आफूहरूले भोग्नुपरेका समस्या तथा राहत र पुन:स्थापनाका विषयमा सभामुखसमक्ष आफ्ना कुरा राखेका थिए ।

सभामुख अर्यालसँगै सर्लाही निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य नितिमा कार्की, क्षेत्र नम्बर २ का सांसद रविन महतो, क्षेत्र नम्बर ३ का सांसद नरेन्द्र साह कलवार र पर्साबाट निर्वाचित सांसद रहबर अन्सारी पनि सुन्दरपुर पुगेका थिए । भ्रमणमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी पनि सहभागी थिए ।

गत २६ कात्तिकमा छठ पर्व मनाउन काठमाडौंँबाट सर्लाही आउँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा एउटै टोलका १३ जनासहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

मृतकमध्ये १३ जना चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका स्थानीय थिए । एउटै टोलका धेरै जनाको एकैपटक मृत्यु भएपछि सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनाले कैयौँ परिवारका सदस्य गुमेका छन् भने गाउँमा अझै शोकको वातावरण छ ।

सभामुख अर्याल कात्तिक २८ गते पर्सा र बारा जिल्लाको भ्रमण तथा छठ पर्व मनाउन मधेश आएका थिए । यसअघि आइतबार नेपाली कांग्रेसका सभापति गगन थापा पनि दुर्घटनामा ज्यान गुमाएका परिवारलाई भेट्न सुन्दरपुर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?