सरीर स्वस्थ तथा तन्दुरुस्त राख्नको लागि दिनमा कति समय व्यायाम गर्नुपर्ला ? अहिलेसम्म स्वास्थ्य सम्बन्धि विज्ञ तथा संस्थाहरुले दिने गरेको सल्लाह हो, कम्तिमा साढे दुइ घण्टा । तर पछिल्लो अध्ययनले भने स्वास्थ्यका लागि दैनिक साढे दुइ घण्टा लामो व्यायाम आवश्यक नपर्ने र एक घण्टा व्यायाम गरे पुग्ने देखाएको छ ।
अमेरिकाको हार्वार्ड विश्वविद्यालयका शोधकर्ताहरुले ६ लाख ६१ हजार जना मानिसमा गरेको अध्ययनले यस्तो देखाएको छ ।
न्युयोर्क टाइम्समा छापिएको खबर अनुसार शोधकर्ताहरुले अध्ययनमा संलग्न गराइएका प्रौढहरुलाई उनीहरुको साप्ताहिक व्यायाम समयका आधारमा विभिन्न समूहमा विभाजन गरेका थिए र १४ वर्षसम्म उनीहरुको मृत्युको रेकर्डमा तुलना गरेका थिए ।
त्यसक्रममा व्यायाम नै नगर्ने मानिसहरु छिटो मर्ने उच्च जोखिमा रहेको पाइयो । दिनमा कम्तिमा थोरै समय भएपनि व्यायाम गर्नेहरुमा अल्पायु मरणको जोखिम २० प्रतिशतले घटेको पाइएको छ । हप्तामा १ सय ५० मिनेट सम्म व्यायाम गर्नेहरु अल्पायुमै रोगका कारण मर्ने जोखिम व्यायाम नगर्ने भन्दा ३१ प्रतिशत कम रहेको पाइएको छ ।
त्यस्तै दैनिक झण्डै एक घण्टा वा हप्तामा साढे ४ सय मिनेट व्यायाम गर्ने मानिसहरुमा अल्पायुमा मर्ने जोखिम ३९ प्रतिशतले घट्ने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।
दैनिक एक घण्टाभन्दा बढि जतिधेरै व्यायाम गरेपनि त्यसको उल्लेखनीय फाइदा नहुने अध्ययनले देखाएको छ । दैनिक एक घण्टा व्यायाम गर्ने र त्यसको १० गुणा बढि व्यायाम गर्ने मानिसमा समेत मृत्युको जोखिमको न्यूनिकरण बराबर रहेको देखिएको छ ।
यसअघिका अध्ययनहरुले आवश्यकता भन्दा बढि व्यायाम गर्नु सरीरका लागि उल्टै हानिकारक हुने बताएका भएपनि पछिल्लो अध्ययनले भने आवश्यकता भन्दा बढि व्यायाम गर्नु हानिकारक र फाइदाजनक दुबै नहुने निष्कर्ष निकालेको छ ।