Comments Add Comment

साफ च्याम्पियनसीपमा जर्सी नम्बर ११

'रमाइलो क्लबदेखि राष्ट्रिय टिमसम्म'

झुम्रोको बलदेखि फुटबलसम्म, रमाइलो क्लबदेखि राष्ट्रिय टिमसम्म… मेरो फुटबल यात्राको सुरुवात र अहिलेको उपस्थिति यही नै हो । भर्खरै साफ महिला च्याम्पियनसिपमा धेरैले ११ नम्बर जर्सी भनेर मलाई चिन्नुभयो ।

मैदानमा उपस्थित भएर हौसला दिने हजारौं दर्शकदेखि सामाजिक सञ्जालमा ‘तपाईँको खेल मन पर्‍यो’, ‘फाइनलमा हारे पनि तपाईँहरुले हाम्रो मन जित्नुभएको छ’ भन्ने सन्देशहरुले उत्साह बढाएका छन् । यो सबै कुराले दिएको खुशी निकै छ ।

यसैले यतिका मान्छेले मेरो खेल हेरिरहँदा, हौसला दिइरहँदा मैले मेराबारे पनि केही भन्नुपर्छ । मेरो कथा सुरुवातका दिनहरुबाट सुरु गरौं कि भर्खरै सकिएको साफ च्याम्पियनसिपबाट भन्ने अन्योलमा छु ।

एकछिन मेरो ममी र मेरो एउटा संवाद सुनाउँछु…

फुटबल खेल्न जानेबेला मैले बाबासँग ‘म खेल्न जान्छु है’ भनेर कहिल्यै पनि सीधा अनुमति माग्न सकिनँ । जहिल्यै ममीलाई सोध्थेँ । ममीचाहिँ ‘बाबालाई भन अनि जाऊ’ भन्नुहुन्थ्यो ।

खेल हुँदैछ भन्ने बाबालाई थाहा हुन्थ्यो, म खेल्न जान्छु भन्ने पनि बाबालाई थाहा हुन्थ्यो । तर पनि मलाई सोध्न भने डर नै लाग्थ्यो । एकदिन खेल्न जाने अघिल्लो रात बेलुका सुत्ने बेलामा ममी नजिकै गएर भनेँ, ‘ममी म भोलि फुटबल खेल्न जान्छु है ।’

ममीले भन्नुभयो, ‘तेरो बाबालाई भनेर जा, फेरि पछि मलाई गाली गर्नुहुन्छ ।’

मैले भनेँ, ‘बाबालाई तपाईँ नै भनिदिनु न है ।’

म ममीसँग असाध्यै जिद्दि गर्थें, बाबालाई तपाईँ नै भनिदिनु न भनेर ढिपी कसेर बस्थेँ । ममीले नजाऊ कहिल्यै भन्नुभएन तर, जाऊ पनि भन्नुभएन । जहिल्यै बाबालाई भनेर जाऊ भन्नुहुन्थ्यो । अनि उही, मैले बाबालाई कहिल्यै भन्नै सकिनँ ।

त्यो बेला पनि एकछिनमा ममीको नजिकै गएर सोधेँ, ‘ममी बाबालाई भनिदिनु भयो ?’

ममीले गाली गर्न खोज्नुभयो, म भागिहालेँ ।

खेल्न जान स्वीकृति नपाए पनि म जान्छु भन्ने मलाई पनि थाहा थियो, घरमा पनि थाहा थियो । किनभने सधैँ त्यसरी नै चलिरहेको थियो ।

अहिले त परिस्थिति भिन्न छ । मेरो मात्रै होइन, गाउँकै मजस्तै बहिनीहरुको पनि । कसरी ? यो पढिसक्दा तपाईँले बुझ्नुहुन्छ ।

****

मेरो घर तेह्रथुमको सम्धु भन्ने ठाउँमा हो । अहिले फेदाप गाउँपालिकामा पर्छ । मेरो फुटबलको सुरुवात झुम्रोको बलबाट भयो । त्यो विकट ठाउँमा खेल सामग्रीको सुविधा सोचभन्दा बाहिरको कुरा भयो । झुम्रोको बल नै भएपनि केटीहरुको लागि खेल्न सजिलो थिएन । त्यसमाथि फुटबल संघसमेत नभएको तेह्रथुमबाट एउटी छोरीले फुटबल खेलाडी बन्छु भनेर सोच्नु त असम्भव काम चिताएजस्तो नै हो ।

मैले केटाहरुसँग मिसिएर नै फुटबल खेल्न थालेँ । सानैदेखि फुटबल खेल्ने रहरले जहाँ मिल्छ खेल्न पुग्न थालेँ । ठूलो हुँदै गएपछि केटाहरुको समूहमा खेल्न असहज जस्तो लाग्न थाल्यो । त्यसैले केटीहरुको छुट्टै टिम बनाएर खेल्न थालेँ ।

हामी केटीहरुको क्लबको नाम थियो ‘रमाइलो क्लब’ । त्यो पनि टिम दर्ता गर्ने बेला मैले यसै राखिदिएको नाम । फुटबल खेल्नु बडो रमाइलो हुन्थ्यो, त्यसैले ‘रमाइलो क्लब’ राखेँ ।

राति ३ बजे झ्यालबाट हाम फालेर फुटबल खेल्न भागिदिएँ । अचम्म त के भने राति नै म भागे पनि घरबाट खोजी भएन

दशैँ तिहारको बेला हुने प्रतियोगिताहरुमा तेह्रथुम जिल्लाभरि खेल्न गयौँ । हामी खेल्न गएका प्रतियोगितामा अरुले जित्न सकेनन् । विस्तारै जिल्लामा फुटबलबाट चिनिँदै गएँ । अहिले अनिता बस्नेत भनेर चिनिए पनि घरतिर अनु बस्नेत भनेर चिन्नुहुन्छ । अनुले फुटबल राम्रो खेल्छे भन्ने कुरा जिल्लातिर त्यतिबेलै चलिसकेको थियो ।

मलाई भने अन्यत्र पनि केटीहरुले फुटबल खेल्छन् भन्ने थाहै थिएन । हामीले मात्रै रहरमा खेलिरहेको होला जस्तो लाग्थ्यो ।

रमाइलो क्लबमै केटी साथीहरु जम्मा पार्न सजिलो थिएन । सबैलाई खेल्ने इच्छा भए पनि घरबाट स्वीकृति पाउन गाह्रो थियो । ‘छोरी मान्छेले पनि बल खेल्छन् ?’ भनेर कुरा काट्नेहरु धेरै थिए । त्यसैले साथीहरु मलाई नै उनीहरुको पनि घरमा सम्झाइदेउ न भन्थे । मैले आफ्नै आमा-बाबासँग कसरी अनुमति माग्थेँ, त्यो सुनाइहालेँ । अब उनीहरुको बाबा-आमासँग गएर बोल्न त मलाई पनि डर नै लाग्थ्यो ।

विकल्प के त ? हामी फुटबल खेल्न भागेर जान्थ्यौँ ।

****

त्यसरी नै भागेर फुटबल खेल्न गएको बेला भएको एउटा घटना भने अलि नमजा लाग्ने छ । साथीहरुले अलि टाढा नै खेल्न बोलाएका थिए । गाउँतिर ७/८ घण्टा हिँडेर पुगिने ठाउँमा पनि म फुटबल खेल्न पुग्थेँ । त्यो बेला त एसएलसीको परीक्षा आउन १० दिन मात्रै बाँकी थियो । त्यस्तोमा पनि मैले ममीलाई ‘ममी म फुटबल खेल्नु जान्छु नि है’ भनेर सोधेँ । उही पहिले भने जसरी नै ।

तर, यो पटक ममीले ‘तिमी नजाऊ, परीक्षा छ’ भन्नुभयो । मैले तत्काल त केही भनिनँ तर राति उठेर झोला बोकेर राति ३ बजे झ्यालबाट हाम फालेर फुटबल खेल्न भागिदिएँ ।

अचम्म त के भने राति नै म भागे पनि घरबाट खोजी भएन । सबैलाई थाहा थियो, ‘त्यो केटी पक्कै फुटबल खेल्न गई ।’ त्यतिको विश्वास भने मैले कमाएकी थिएँ ।

हुन त अहिले जस्तो मोबाइलको सुविधा भएको भए फोन गरेर सोध्नुहुन्थ्यो होला । म पनि गएपछि फोन गरेर भनिदिन्थेँ होला । तर, त्यो बेला म नआउँदासम्म उहाँहरुलाई कुनै वास्ता नै भएन ।

त्यो समय मसँग न फुटबल खेल्ने जुत्ता थियो न मोजा नै । फुटबल खेल्ने ठाउँमा गएपछि अरु दाइहरुको मागेर खेल्थेँ । आफ्नो खुट्टामा फिट पनि हुनुपर्दैनथ्यो । अलिअलि ठूलो भए पनि जुत्ता भनेको जुत्तै हो भनेर त्यही लगाएर खेलिन्थ्यो ।

घरमा नभनेर परीक्षाको बेला फुटबल खेल्न जाँदा मेरो हात भाँचियो । हुन त हामीले फाइनल जितेर पाँच हजार रूपैयाँ पुरस्कार पाएका थियौं । तर त्यसले मेरो हातकै उपचार गर्न पनि नपुग्ने भयो । हात भाँचिएको छ भनेर घरमा भन्न पनि सकिनँ । असाध्यै गाह्रो भयो । तेह्रथुममा भिडियो एक्सरे गर्ने अस्पताल थिएन । हामी धरान जानुपर्ने भयो । बजार आएर ट्याक्सी खोज्दा भाडा मात्र ८ हजार रुपैयाँ लाग्ने भयो । हामीसँग पैसा थिएन । एक दिन हात भाँचिएको पीडा लुकाएरै बसेँ । अर्को दिन पनि त्यसरी कसरी बस्नु ? त्यसैले साथीहरुले पैसा उठाएर धरान लैजाने कुरा गरे ।

धरानमा उपचार गर्न गएपछि भने साथीहरुले मेरो घरमा पनि भनिदिए । ममी असाध्यै रुनु भएछ ।

म घर फर्किर्एपछि पनि ममी धेरै रुनुभयो । उहाँले ‘तिमीलाई मैले फुटबल नखेल कहिले भनेँ र ? मैले यत्रो बनाएर हुर्काउँदासम्म एउटा चोट लाग्न दिएकी थिइनँ’ भन्दा मलाई पनि धेरै नरमाइलो लाग्यो । ममीसँग केही भन्न सकिनँ । उहाँसँगै रोएँ… ।

यति हुँदा पनि मैले फुटबल खेल्न भने छाडिनँ ।

भाँचिएको हात लिएर एसएलसी दिने बेलामा पनि फुटबल छाडिनँ । बाबाले अरुलाई लेखाउने हो कि भन्ने कुरा गर्नुभएको थियो तर मैले भाँचिएकै हातले पनि कलम समातेर लेखेँ । किनभने आफूले गरेजस्तो अरुलाई भनेर लेखाउँदा हुँदैन भन्ने लाग्यो । पहिलो दिनको परीक्षा दिएपछिको एक दिन बिदामा पनि फुटबल खेल्न गएँ । जाँच दिएर झण्डै तीन घण्टा हिँडेर गएर फुटबल खेलेँ । भाँचिएको हात लिएर पनि गोल गरेर टिमलाई जिताएँ । एसएलसी पनि राम्रै भयो । तर मेरो हातको चोट भने बल्भिmएको रहेछ । दोहोर्‍याएर उपचार गर्नुपर्‍यो ।

हात भाच्चिएको होस् कि परीक्षा चलेको होस्, जस्तो बेला पनि फुटबल नछाडेपछि ममी-बाबालाई पनि ‘यसलाई नसकिने भइयो’ भन्ने लागेछ क्यारे, तिमीले जसरी पनि फुटबल खेल्न छाडेनौँ, अब राम्ररी खेल भन्नुभयो । हौसला दिन थाल्नुभयो ।

****

एकपटक जिल्लामै प्रतियोगिता खेल्न जाँदा क्षेत्रीय प्रतियोगिता खेलिसकेका साथीहरु भेटेँ । उनीहरुसँग चिनजान भएपछि ‘तिमी पनि खेल्न हिँड’ भनेर पाँचथर लगे ।

जिल्ला बाहिर खेल्न गएको पहिलो पटक त्यही हो । साथीहरुसँगै नवलपरासीसम्म खेल्न आएँ । त्यो बेला आर्मी, पुलिस, सशस्त्रका टिमहरु पनि देखेँ । अनु लामा, जमुना गुरुङहरुको नाम सुनेँ । उहाँहरुको खेल हेर्न पाएँ । अनि त फुटबल मोहले झन रफ्तार लियो ।

नवलपरासीमा खेलेपछि पूर्वाञ्चलबाट २०६८ फागुनमा छैठौं राष्ट्रिय खेलकुदमा पनि खेल्न पाएँ । त्यसको केही समयमै एपीएफबाट करार सम्झौता गरेर टिममा राख्ने भनेर फोन आयो । सबै कुरा छिटोछिटो भइरहेको जस्तो लागेको थियो ।

एपीएफमा महिनाको ५ हजार रुपैयाँ दिने भयो । तेह्रथुमबाट काठमाडौं आएर बस्नुपर्ने मलाई महिनाको ५ हजारले खर्च पुर्‍याउन सहज थिएन, तर मेरो लक्ष्य फुटबल खेल्ने भएकाले अरु कुरा नसोची हुन्छ भनेँ । घरबाट पनि पढाइ नछाड, तिमीलाई राम्रो हुन्छ भने जाऊ, खेल भन्नुभयो । परिवारबाट सहयोग भएकाले एपीएफमा आउन सकेँ ।

एपीएफमा आएपछि नियमित अभ्यासको अवसर पाएँ । मेरो खेलमा क्रमशः सुधार हुँदै गयो । तर, टिममा धेरै सिनियर खेलाडी भएकाले सेटमा खेल्न मैले एक वर्ष पर्खन पर्‍यो । अतिरिक्त खेलाडीको रुपमा भने आएदेखि नै सधैँ टिममा नै थिएँ ।

खेलभन्दा बाहेक पनि हामी रमाइलो कुराकानी गर्छौं । रेखा पौडेल बहिनी टिममा ऊर्जा भरिरहन असाध्यै हँसाउछिन्, सबैको नक्कल गर्छिन् । म पनि साथीहरुसँग रमाइलो गर्ने कुरामा पछि पर्दिनँ

साफ २०१४ का लागि खेलाडी छनोट हुने प्रतियोगिता चितवनमा भएका बेला एपीएफबाट सेटमै खेल्न पाएँ । त्यसले नै राष्ट्रिय टिममा प्रवेशका लागि ढोका खोल्यो किनभने त्यो समय प्रतियोगिताकै उत्कृष्ट मिडफिल्डरको उपाधि पाएकी थिएँ । राष्ट्रिय टिमको पनि प्लेइङ ११ मा पर्न सजिलो थिएन तर, निरन्तरको मेहनतले सफल भए ।

राष्ट्रिय टिममा परेपछि मैले एडिडासको आफ्नै बुट पाएँ । त्यो पाउँदा असाध्यै खुशी लाग्यो । पहिलो पटक आफ्नै फुटबल बुट पाएको त काठमाडौं आएपछि नै हो ।

****

२०१४ मा पाकिस्तानमा भएको साफ महिला फुटबल च्याम्पियनसीपमा मैले राष्ट्रिय टिमबाट डेब्यू गरेँ । राष्ट्रिय टिमको जर्सीमा खेल्न पाउँदा असाध्यै गर्व लागेको थियो । ममी-बाबा पनि असाध्यै खुशी हुनुभएको थियो । २०१६ मा भारतमा भएको साफमा पनि खेलेँ । हालै बिराटनगरमा भएको पाँचौ साफ त सबैलाई थाहै छ ।

यो पटक घरेलु मैदानमा भारतलाई हराएर पहिलो पटक साफ च्याम्पियनसीपको उपाधि जित्नेमा हामी ढुक्क थियौं । ओलम्पिक छनोटमा बराबरी खेलेको हामीले हिरो गोल्डकपमा उसलाई घरेलु मैदान मै हराएकाले यो पटक जित्छौं भन्ने लागेको थियो ।

तर, भनेजस्तो नहुने रहेछ । शायद भाग्य पनि हुन्छ कि ? सारा नेपालीलाई खुशी दिन सकिएन, दुःख लाग्यो ।

हुन त हामी भारतसँग पटक्कै डराएका थिएनौं । हरि खड्का प्रशिक्षक भएपछि हामी जसरी अगाडि बढिरहेका थियौं, साफको नतिजा भने त्यसअनुसार हुन सकेन । गोल खाए पनि हार नमान्ने बानी पर्न लागेको थियो, तर फाइनलमा त्यसो हुन सकेन ।

पहिलो गोल फर्काउँदासम्म हामीमा जोश थियो, तर दोस्रो गोल खाएपछि निराशा देखियो । हामी यसपटक चुकेकै हौं । सेमिफाइनलमा श्रीलंकाविरुद्ध गोल गरेपछि पाएको खुशी फाइनलमा हार्दा नमज्जामा परिणत भयो । हिरो गोल्डकपमा इरानविरुद्ध गोल गरेको मैले साफमा श्रीलंकाविरुद्ध बललाई जाली चुमाउन पाएकी थिएँ ।

जर्सी नम्बर ११ लगाएर गोल गरेपछि मैले पाउलो डिबालाको शैलीमा सेलिब्रेट गरेको धेरै दर्शकहरुले याद गर्नुभएको रहेछ । डिबाला मलाई मनपर्ने खेलाडी भएकाले मैले यो सेलिब्रेसन गरेकी हुँ । देशको लागि महत्वपूर्ण खेलमा गोल गर्न पाउँदाको खुसी बयानै गर्न सकिँदैन ।

जितेको बेला खुशी लाग्ने र हारेको बेला दुःख लाग्ने त छँदैछ, साथीहरुसँग खेलभन्दा बाहेक पनि हामी रमाइलो कुराकानी गर्छौं । हाँसीमजाक गर्छौं । अहिले रेखा पौडेल बहिनी टिममा ऊर्जा भरिरहन असाध्यै हँसाउछिन्, सबैको नक्कल गर्छिन् । रमाइलो वातावरण बनिरहन्छ । म पनि साथीहरुसँग रमाइलो गर्ने कुरामा पछि पर्दिनँ ।

अब हामी ओलम्पिक छनोटको दोस्रो चरणको तयारीमा जुटेका छौं । पहिलो खेल अप्रिल ३ तारिखमा म्यानमारसँग, दोस्रो खेल ६ तारिखमा भारतसँग र ९ तारिखमा अन्तिम खेल इन्डोनेसियासँग छ । त्यहाँ हामीले गर्न नसक्ने भन्ने केही छैन । भारतसँग त अझ इख थपिएको छ । उनीहरुलाई हराउन सक्छौं र त्यो देखाउन चाहन्छौं ।

****

झुम्रोको बल बनाएर खेल्दै गर्दा कुनै दिन देशका लागि खेल्छु, सबैको माया पाउँछु भन्ने सोचेको थिइनँ । रहरै रहर र रमाइलोका लागि फुटबल खेलेँ, आज फुटबल नै मेरो परिचय बन्यो । ममी-बाबाको परिचय मेरो नामसँग जोडिएको छ । यसले असाध्यै गर्व लाग्छ ।

गाउँतिर बहिनीहरु पनि फुटबल खेल्न थालेका छन् । भेट्दा ‘दिदी जर्सी ल्याइदिनु है’ भन्छन् । गाउँमा गाडी पुगेको छ । मोबाइल पुगेको छ । अरु नभए पनि देशमा के भइरहेको छ भनेर फेसबुकबाटै थाहा पाउँछन् । यसले छोरीहरुलाई खेलकुदमा लाग्न सघाएको छ । आफ्नो छोरीले पनि मैले जस्तै गर्न सके हुन्छ भन्नुहुन्छ । म पनि गाउँमा पुगेको बेला बहिनीहरुसँग खेल्न छुटाउदिनँ । किनभने उनीहरुको ‘रमाइलो क्लब’ मा पनि फुटबल खेल त रमाइलो नै हुन्छ !!!

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : विकास श्रेष्ठ/शंकर गिरी

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को २९ औं श्रृङ्खलामा यो हप्ता फुटबल खेलाडी अनिता बस्नेतको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment