Comments Add Comment

इटालियन ब्रुमरले यसरी सफा पार्दैछ काठमाडौं !

१४ चैत, काठमाडौं । काठमाडौं शहरबासी निदाउँदै गर्दा राष्ट्रिय सभागृहमा भने बेग्लै चटारो थियो ।

युद्धमा जान तयारी हालतमा राखिएका सैन्य ट्यांक झै पाँच वटा ब्रमुरतयारी अवस्थामा थियो । गाडी अगाडि उभिएका एक जनाले आदेश दिए, कसैको कुरा नसुन्नू आफ्नो काममा अघि बढ्नू । कसैले जिस्क्याए मुख लागेर नबस्नू । मलाई नतिजा चाहिन्छ ।’

मंगलबार राति अनलाइनखबरको टोली राष्ट्रियसभा गृहमा पुग्दा महानगरका वातावरण विभाग, कार्य सञ्चालन शाखाका प्रमुख मीनबहादुर थापा यसरी नै निर्देशन दिइरहेका थिए ।

नगर प्रहरी निरीक्षक समेत रहेका थापाकै कमाण्डमा एक/एक जना नगर प्रहरी जवानलाई वाकीटकीसहित ब्रुमरका चालकसँगै खटाइएको छ । धुलोले आक्रान्त महानगरवासीको मनोदशा बुझेका थापा भइपरिआउने जोखिम बहन गर्न उनीहरुलाई सचेत गराउँदै थिए । ‘हाम्रो ब्रुमरले पानी जमेको हिलो, ठूल्ठूला ढुंगा टिप्दैन, ब्रस भाँच्चिन्छ, त्यस्तो ठाउँमा ब्रुमर नचलाउनू, बुझ्यौ हैन ?’, उनी भन्दै थिए ।

‘महानगरले काम पाएन भनेर जिस्काउलान्, कोही जोरी खोज्न आउलान्, सामान्य भइन्जेल नबोल्नु, अवरोध नै गर्न खोजे मलाई खबर गर्नू । सबैसँग मेरो नम्बर छ हैन ?’

जवाफमा यस सर गुन्जिएपछि थापाले चालक र नगर प्रहरीलाई फरकफरक पाँच रुटमा खटाए । काठमाडौं महानगरपालिकाले इटलीबाट भित्र्याएका सडकको धुलो टिप्ने पाँच वटा ब्रुमरले अब हरेक दिन रातिराति सडक सफा गर्नेछ ।

रातभर सफाइ

काठमाडौंका सडकमा दिउँसो ब्रुमर चलाउन सकिने अवस्था छैन । अत्यधिक सवारी चापका कारण जाम हुन सक्ने भएकाले ब्रुमर रातिको समयमा चलाउने निर्णय गरिएको हो ।

‘दिउँसो घ्याच्चघ्याच्च रोकिएर काम गर्नुभन्दा रातमा गाडी चल्न कम भएपछि सहज सफाई गर्न पाइन्छ भनेरै हो’ वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर श्रेष्ठले भने ।

बुधबार राति नौ बजेपछि राष्ट्रियसभागृहबाट छुटेका ब्रुमरले बिहानसम्मै (८ घण्टा) सडकको धुलो टिपे ।

गाडीका चक्कासँगै आएका माटो, निर्माण सामग्री, सडक खनेर निस्किएको धुलो सवारी गुड्दा बुँङबुङ्ती उड्ने गर्छ । त्यहि धुलोलाई ब्रुमरको ब्रसले हल्का पानी छर्कँदै सोहर्छ । ब्रुमरमा ४ वटा ब्रससँगै ५ सय लिटर क्षमता पानीको ट्यांकी पनि छ ।

यो ट्यांकीबाट स्वचलित रुपमा एकदमै न्युन पानी ब्रसमा खस्छ । अगाडि एउटा, दायाँ–बायाँ दुईवटा र बीचमा रुहेको एउटा तारको ब्रस जाँतो जसरी घुम्दै धुलो सोहर्छ ।

बुधबार राति ब्रुमरले सफा गरेको ठाउँमा पनि गाडीका चक्काले कुदिएर पिठो जस्तो भएको धुलो अझै बाँकी नै देखिन्थ्यो । यद्यपि निरन्तर सफा गर्ने हो भने धुँलाबाट आजित भएका काठमाडौंबासीले थोरै भएपनि राहत पाउने आश गर्न सकिन्छ ।

एकै दिन १८ टन धुलो संकलन

पाँच वटा ब्रुमरले बुधबार राति सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोड, सोल्टी होटलसम्म सफाइ गरे । जसमध्ये रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रको सडकबाट बढी धुलो संकलन भएको छ । यो क्षेत्रमा सफाई गरेर झण्डै १८ टन धुलो संकलन भएको कार्य सञ्चालन शाखाका प्रमुख थापाले जानकारी दिए ।

ब्रुमरमा संकलन भएको फोहोर टिपरमा अनलोड गरी फोहर संकलन केन्द्र टेकुमा बिसर्जन गरिएको छ । १० किलिमिटर प्रतिघण्टा क्षमताका ब्रुमरले सडकको न्युनतम् २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौंडाईमा सफाइ गर्न सक्छ ।

सडक बनाउने कि बढार्ने ?

राष्ट्रियसभागृहबाट निस्किएर एउटा ब्रुमर बुधबार राति प्रदर्शनीमार्ग हुँदै पुतलीसडकतर्फ अघि बढ्यो । उसैगरी अन्य ब्रुमर आ–आफ्नो रुटमा लागे । प्रदर्शनीमार्गको मुख्य सडक हेर्दा राम्रै छ । त्यसैले ब्रुमर धुलो सोहोर्दै अघि बढ्दै थियो ।

तर, सडक सतह भन्दा केही तल रहेको ढलमा माटोको थुप्प्रो, पानीका बोतल, झार पतिगंर थुप्रिएका थिए । त्यहाँसम्म ब्रुमरले भ्याउन सकेन । ब्रुमरको अगाडि रहेको ब्रसले धुलो कोतरे फिँजाएपछि दायाँ–बायाँ र बीचको ब्रसले त्यसलाई सोहोर्छ । तर, ढलका ‘जालिजार’ स्ल्याभको धुलो तान्न खोज्दा ब्रस भाँचिने खतरा हुन्छ । त्यसैकारण ब्रुमरका चालकलाई मुख्य सडक क्षेत्र नै सफाई गर्न निर्देशन दिइएको छ ।

ब्रुमरले टिप्न नसकेको कुनाकाप्चाको धुलो अब कुचो लगाएर सोहोर्नुको विकल्प छैन । नभए त्यो धुलो दिनभर गाडि गुड्दा पुनः उडेर सडकमा आउनेछ । फुटपाथको धुलो त छँदैछ ।

अव्यवस्थित ढल, पसल र घर अगाडि गाडि उकाल्न राखिएका स्लेभ क्षेत्रलाई छोड्दै ब्रुमरलाई मुख्य लेनकै धुलो टिप्न भनिएको छ । यसका साथै सडक पनि ब्रुमर चलाउन योग्य बनाउन जरुरी छ । सडकका खाल्डाखुल्डी, साइड लेन मर्मत गरी ब्रुमर चलाउन योग्य बनाइदिन सडक विभागलाई भनिएको मेयर विद्यासुन्दर शाक्य बताउँछन् ।

तस्वीर/भिडियो : विकास श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment