+
+
Shares

काठमाडौं महानगरमा हाइ मास्ट लाइट, ६२ वटामध्ये १२ वटा भइसक्यो जडान

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत ६२ वटा हाइ मास्ट लाइट १० करोड लागतमा जडान गर्ने मेयर बालेन साहले जानकारी दिए।
  • हालसम्म १२ वटा हाइ मास्ट लाइट जडान भइसकेको र दशैंअघि बाँकी सबै लाइट जडान गरिसक्ने योजना छ।
  • सडक बत्ती खरिद तथा जडानका लागि करिब ८५ करोडको तयारी अन्तिम चरणमा पुगेको र रात्रिकालीन समयमा पूर्ण उज्यालो रहने मेयर साहले बताए।

७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न स्थानमा ६२ वटा हाइ मास्ट लाइट (अत्यधिक उज्यालो दिने विद्युतीय बत्ती) जडान गर्ने भएको छ ।

उज्यालो महानगर योजना अन्तर्गत महानगरपालिकाले करिब १० करोडको लागतमा हाइ मास्ट लाइट जडान गर्न लागेको मेयर बालेन साहले जानकारी दिए ।

उनका अनुसार हालसम्म १२ वटा लाइट जडान भएर बल्न थालिसकेको र दशैंअघि नै बाँकी सबै लाइट जडान गरिसक्ने योजना छ । यी लाइटहरू कहाँकहाँ जडान गर्न लागिएको भन्ने मेयर साहले खुलाएका छैनन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले विगत तीन वर्षदेखि रोकिएको उज्यालो महानगर योजना अब अघि बढाउन लागिएको उल्लेख गरेका छन् ।

यस्तै अघि आर्थिक वर्षमा जडान गरिएका सोलारमा आधारित सडक बत्तीलाई विद्युतीय बत्तीले विस्थापित गरिसकिएको उनले बताए ।

मेयर साहले करिब ८५ करोडको स्ट्रिट लाइट (सडक बत्ती) खरिद तथा जडानका लागि तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

उक्त परियोजनाले पूर्णता पाएपछि काठमाडौं महानगर रात्रिकालीन समयमा पनि पूर्ण उज्यालो रहने उनको भनाइ छ ।

के हो हाइ मास्ट लाइट ?

हाइ मास्ट लाइट भन्नाले अग्लो पोल वा टावरमा राखिने अत्यधिक उज्यालो दिने विद्युतीय बत्ती हो । यो रंगशालाहरूमा जडान गरिने फ्लड लाइट सरह नै हो ।

यो प्राय: २० देखि ५० मिटर अग्लो पोलमा जडान गरिन्छ । एउटै पोलमा धेरै उज्यालो दिने लाइटहरू जडान गरिएको हुन्छ ।

यस्ता लाइटलाई विमानस्थल, धेरै भीडभाड हुने चोक, चौतारा, औद्योगिक क्षेत्र, राजमार्ग, रंगशालाहरूमा प्रयोग गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?