
News Summary
Generated by OK AI. Editorially reviewed.- मणिचूड दह काठमाडौं उपत्यकाको उत्तरी किनारमा शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ र समुद्री सतहबाट करिब २,००० मिटर उचाइमा छ।
- मणिचूड दहलाई हिन्दू र बौद्ध दुवैले पवित्र मान्छन् र यहाँ स्नान गर्नाले पाप मेटिने, रोग हट्ने र मन शान्त हुने विश्वास छ।
- मणिचूड दह पुग्न गागलफेदी, साँखु–वज्रयोगिनी र सुन्दरीजल मार्गहरू छन् जसले पर्यटकलाई वन, पहाड र मनोरम दृश्यहरूको अनुभव दिन्छ।
हरिया वनजंगलले भरिएका पहाडले घेरिनु काठमाडौं उपत्यको विशेषता हो । उपत्यकाको जुनसुकै किनारमा पुगेर केही घण्टा माथि उक्लनेबित्तिकै रमणीय पुग्न सकिन्छ । शहरको कोलहालपूर्ण वातारवणको तनावलाई प्रकृतिको मिठासमा रमाउने अवसर प्राप्त हुन्छ । त्यसैमध्येको एक गन्तव्य हो- मणिचूड दह ।
उपत्यकाको उत्तरी किनारमा, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित यो सुन्दर र पवित्र पोखरी ।
हरियो जंगलको काखमा रहेको मणिचूड दह पुग्न काठमाडौंको मध्य भागबाट करिब १५-२० किलोमिटर यात्रा गर्नुपर्छ । शङ्खरापुर नगरपालिकामा पर्ने यो दह समुद्री सतहबाट करिब २,००० मिटर उचाइमा अवस्थित छ । शहरी जीवनबाट टाढा प्रकृतिमा रमाउने पर्यटकका लागि आदर्श स्थल मानिन्छ।
मडिचूड दहबारे एक किम्बदन्ती छ- धेरै वर्षअघि यहाँ मणिचूड नामका एक ज्ञानी र न्यायप्रेमी राजाले शासन गर्थे । उनको निधारमा बहुमूल्य रत्न ‘मणि’ थियो । यसले उनलाई शक्ति र तेज प्रदान गर्थ्यो। एक दिन राज्यमा महामारी फैलियो । आफ्नो प्रजालाई बचाउन उनले निधारको मणि त्यही तालमा अर्पण गरे । यही कारण राजाको मृत्यु भयो ।
त्यसपछि त्यस ताललाई मणिचूड दह भन्न थालियो ।
यो ताललाई हिन्दू र बौद्ध दुवैले पवित्र मान्छन् । यहाँ स्नान गर्नाले पाप मेटिने, रोग हट्ने र मन शान्त हुने विश्वास छ।
हाइकिङ मार्ग
मणिचूड दह पुग्नका लागि धेरै विकल्पहरू छन् ।
चल्तीका मार्गहरू:
गागलफेदी मार्ग : मुख्य शहरबाट गागलफेदी पुगिसकेपछि २–३ घण्टाको पैदल यात्रा गरेर तालसम्म पुग्न सकिन्छ । बाटो सजिलो र हरियालीको आनन्द लिँदै हिँड्न पाइन्छ ।
साँखु–वज्रयोगिनी मार्ग : साँखु बजार हुँदै वज्रयोगिनी मन्दिरको मार्गबाट जान सकिन्छ। यो मार्ग लामो भए पनि उपत्यकाका मनोरम दृश्य हेर्दै हिँड्ने अवसर प्राप्त हुन्छ ।
सुन्दरीजल मार्ग : सुन्दरीजलबाट सुरु हुने यो मार्ग केही कठिन र लामो छ, तर वन र पहाडी दृश्यहरूको मजा लिन चाहनेहरूका लागि उत्तम विकल्प हो ।
यात्रा गर्दा मार्गमा हरियो वन, चराचुरुङ्गी, र बस्तीहरू भेटिन्छन्, जसले यात्रालाई रमाइलो बनाउँछ।
मणिचूड दह काठमाडौं नजिकैको यस्तो गन्तव्य हो जहाँ प्रकृति, पौराणिक कथा र आत्मशान्ति एकसाथ अनुभव गर्न सकिन्छ ।
प्रतिक्रिया 4