Comments Add Comment

आईपीएल : एउटा गल्ती, जसबाट पन्जाब हार्‍यो

Photo Credit : IPL

१३ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बुधबारको खेलमा किंग्स इलाभेन पन्जाब कलकत्ता नाइटराइडर्ससँग २८ रनले पराजित भयो ।

पन्जाबले जितका लागि २१९ रनको लक्ष्य पाएको थियो तर उसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै केबल १९० रन बनाउन सक्यो ।

पन्जाबलाई शुरुमा तब ठूलो झड्का लाग्यो, जब केएल राहुल जम्मा एक रन बनाएर आउट भए । त्यसपछि अघिल्लो खेलमा ७९ रन बनाएका क्रिस गेल २० रनमा आन्द्रे रसेलको शिकार भए । क्रिस गेलपछि रसेलले सरफराज खानलाई पनि सस्तैमा आउट गरे । सरफराज खानले केबल १३ रन बनाए ।

यदि मयंक अग्रवालले ५८ र डेभिड मिलरले अभिजिन ५९ रनको पारी नखेलेको भए उसको हालत झनै खराब हुने थियो । आन्द्रे रसेलले २१ रन खर्चिएर दुई विकेट झारेका थिए ।

कलकत्ताका लागि ‘आर फ्याक्टर’ साबित भए राणा (नितिश), रोबिन (उथप्पा) र रसेल (आन्द्रे)

रोबिन उथप्पा ब्याटिङ गर्दै

यद्यपि टस हारेर पहिले ब्याटिङ गर्ने मौकाको राम्रै फाइदा उठायो कलकत्ताले । उसले नितिश राणाको ६३, रोबिन उथप्पाको अभिजित ६७ र आन्द्रे रसेलको ४८ रनको मद्दतमा २१८ रनको योगफल तयार पारेको थियो ।

यसअघि सुनील नारायणले केबल ९ बलमा तीन छक्काको मद्दतमा २४ रन बनाएर उच्च योगफलको संकेत दिएका थिए । पन्जाबका बलरले यो म्याचमा १७ छक्का खाए ।

यस म्याचमा कलकत्ताका कप्तान दिनेश कार्तिकले नितिश राणालाई सलामी ब्याटसम्यानको ठाउँमा मध्यम क्रममा उतारेका थिए । उनको यो रणनीति सही सावित भयो । नितिश राणाले लगातार दोस्रो म्याचमा ६० भन्दा बढी रन जोडेर कलत्ताको जीतमा आफ्नो अहम् योगदान दिए ।

मिड विकेटमा लामो शट हान्ने नितिश राणालाई सन् २०१५ मा मुम्बई इन्डियन्सले केबल १० लाख भारुमा अनुबन्ध गरेको थियो । यद्यपि त्यसबेला उनले आईपीएलको एउटा पनि म्याच खेल्ने अवसर पाएनन् ।

नितिशको पर्खाइ सन् २०१७ मा समाप्त भयो । उनले त्यो सिजनमा १३ म्याच खेलेर ३३३ रन बनाए । त्यतिबेला मुम्बईको शुरुवाती जितमा उनको अहम् योगदान थियो ।

उनको खेल देखेर मुम्बईका कोच रिकी पोन्टिङले भनेका थिए नितिश राणाले यदि भारतको टी-२० टिममा खेलेको देखिएमा कुनै आश्चर्य मान्नुपर्दैन । उनको तारिफ माइकल क्लार्कले पनि गरेका थिए ।

नितिश राणाको पछिल्लो आईपीएल क्रिकेट पनि निकै सफल रह्यो । उनले सन् २०१८ मा १५ खेलबाट ३०४ रन बनाएका थिए ।

कलकत्ताका रोबिन उथप्पाको कमाल पनि देख्ने मौका मिल्यो । रोबिनले ५० बलमा ६ चौका र दुई छक्काको मद्दतमा अभिजित ६७ रन बनाइदिए । रोबिन र आन्द्रे रसलको साझेदारी जम्यो । रोबिनले धेरैजसो स्ट्राइक आन्द्रे रसेललाई दिए । उनलाई थाहा थियो कि शक्तिशाली रसेलको ब्याट पन्जाबमाथि भारी पर्ने छ । र, भयो पनि त्यस्तै । रसेलले नितिश राणा आउट भएपछि मोर्चा सम्हाले । रसेलले केबल १७ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ४८ रन बनाइदिए ।

आन्द्रे रसेल

१९ औं ओभरमा त उनले हलचल मचाइदिए । बलिङमा योभर योर्करमा माहिर मोहम्मद शामी थिए । रसेलले उनको लगातार तीन बलमा छक्का प्रहार गरे । चौथो बलमा चौका गयो । रोबिन उथप्पा र रसेलबीच चौथो विकेटका लागि ६७ रनको साझेदारी भयो । रसेल म्यान अफ दि म्याच भए ।

रसेलले यसअघि सनराइजर्स हैदरावादविरुद्ध पनि केबल १९ बलमा अभिजित ४९ रन बनाएका थिए ।

यसअनुसार उनले एक प्रकारले पुरानै खेल दोहोर्‍याए । उनको प्रहारको टाइमिङ यति शानदार थियो कि पन्जाबका फिल्डर्स हेरेको हेर्यै भए । अन्तमा उनी एन्ड्रयू टाइको बलमा छक्का प्रहार गर्न खोज्दा ठीक बाउन्ड्री लाइनमा मयंक अग्रवालको हातबाट क्याचआउट भए ।

म्याचको टर्निङ प्वाइन्ट

मोहम्मद शामी बलिङ गर्दै

यो खेलमा टर्निङ प्वाइन्ट त्यतिबेला आयो जतिबेला मोहम्मद शामीको बलमा आन्द्रे रसेल बोल्ड भए, तर बल ‘नो-बल’ भयो ।

पन्जाबका केबल तीन जना फिल्डर सर्कलमा थिए जबकी त्यहाँ चार जना हुनुपर्थ्यो । यहाँ कप्तानको रुपमा रविचन्द्रन आश्विन (आर आश्विन)को सबैभन्दा ठूलो भूल भयो ।

हो, यहीँ नै खेलको नतिजा आफ्नो पक्षमा पार्ने मौका पन्जाबले गुमायो । त्यतिबेला रसेल केबल तीन रन बनाएर खेलिरहेका थिए र १७ औं ओभर चलिरहेको थियो ।

पन्जाबका कप्तान आश्विनले आफ्नो गल्ती स्वीकार गरे तर खेल हातबाट फुत्किइसकेको थियो । अन्तमा कलकत्ताले लगातार दोस्रो जित निकाल्यो ।

बिहीबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर आफ्नै घरमा मुम्बइ इन्डियन्ससँग खेल्ने छ ।

तस्वीरहरु : आईपीएलको वेबसाइट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment