Comments Add Comment

भान्साको कामः झन्झटिलो कि रमाइलो ?

जब छोरी-बुहारीको कुरा उठ्छ, तब भन्ने गरिन्छ, ‘उनीहरुलाई चुल्हो-चौकामा अल्झाउनुहुन्न ।’ अर्थात छोरी-बुहारीलाई खाना पकाउने, भाँडावर्तन सफा गर्ने काममा मात्र सीमित गर्न हुन्न ।

हाम्रो बुझाई के छ भने, भात र भान्साको कामले छोरी-बुहारीको खुसी खोस्छ । खाना पकाउने चक्करमा उनीहरुको दिन गुज्रन्छ । खाना तयार गर्नु, पकाउनु, भात पस्कनु, भाँडावर्तन सफा गर्नु । यस्तै-यस्तै काम गरिरहँदा उनीहरुले आफ्नो अरु रहर, इच्छा, आकंक्षा, उदेश्य पुरा गर्न पाउँदैनन् ।

यस्तो लाग्छ, भान्सा नै यस्तो बाधक हो जसले छोरी-बुहारीलाई सधै खुम्च्याएर राख्छ ।

तर, यो भनाई र बुझाईमा कति सत्यता छ ?

चुल्हो चौका अर्थात भान्साको काम गरिरहँदा कुनै गृहणीले दुःख महसुष गर्छन् होला ? के थरीथरीका परिकार बनाउने काम झन्झटिलो लाग्छ होला ? भात पकाउने, ख्वाउने काम दिक्कलाग्दो हुन्छ होला ?

जब भान्सा बन्छ बोझिलो 

कुनैपनि काम त्यसबेला दिक्कलाग्दो हुन्छ, जब त्यसलाई हामी केवल ‘काम’ वा ‘ड्युटी’ सम्झन्छौं । साथै भान्साको काम जब बाध्यत्मक बन्छ, तब हामीलाई त्यो बोझिलो लाग्छ ।

घरमा धेरै सदस्य छन् । ति सबैका लागि खाना बनाइदिने, पस्कने, जुठो भाँडावर्तन उठाउने, माझ्ने, भान्सा सफा गर्ने काम एक्लैको जिम्मामा लगाइन्छ भने, त्यो बोझ बन्न सक्छ । अझ घरमा सबैजना एकै किसिमको स्वादमा रमाउँदैनन् । मान्छे अनुसार फरक फरक परिकार बनाउनुपर्ने । सबैलाई एकै समयमा होइन, भिन्न भिन्नै समयमा कुरेर खाना दिनुपर्ने अवस्था आयो भने, त्यो झन्झटिलो बन्छ ।

खाना खाइरहँदा कतिले चित्त बुझाउँदैनन् । कसैले नुन चर्को भयो भन्छन्, कसैले तेल बढी भयो भन्छन् । कसैले पिरो भएन भन्छन्, कसैले मसला पुगेन भन्छन् । यसरी नानाथरीको गुनासो सुन्नुपर्दा पक्कै पनि भान्साको काम असहज लाग्छ ।

भान्साको काम मिलिजुली

भान्सा भनेको हाम्रो खानाको स्रोत हो । खाना भनेको प्राण हो । खाना नै ति सम्पूर्ण स्रोत हुन्, जसले हामीलाई पोषण दिन्छ ।

त्यसो हो भने हामीले स्वास्थ्य एवं तन्दुरुस्त जीवनका लागि भान्सालाई महत्व दिनुपर्छ । यदि भान्सामा राम्रो खानेकुरा भएन, पकाउने शैली राम्रो भएन, फोहोर भयो भने त्यसले परिवारलाई रोगी बनाउँछ । यी कुरा सबैले बुझेका छन् ।

तर नबुझेका कुरा के भने, भान्साको काम गृहणीले मात्र गर्नुपर्छ । अर्थात छोरी-बुहारीले मात्र भात-भान्साको काम गर्नुपर्छ । मानौ, भान्साको काम छोरी-बुहारीको पेवा हो ।

यो पुरातन मान्यता हो । घर-परिवारमा कामको बाँडफाड सन्तुलित र न्यायोचित ढंगले हुनुपर्छ । यसर्थ छोरी-बुहारीले भात वा भान्साको काम सम्हाल्नु हुँदैन भन्ने होइन । यद्यपी भान्साको काममा परिवारका सबैले मिलिजुली किन नगर्ने ?

श्रीमान्ले सागसब्जी पकाइरहँदा श्रीमतीले अचार बनाउन सक्छिन् । यसमा छोराछोरी पनि सहभागी हुन सक्छन् । सबैले मिलिजुली काम गर्दा भान्साको माहौल रमाइलो हुन्छ । साथसाथै खानामा विविधता पनि ।

सधै एकैथरी हातले पकाएको खानेकुरा स्वादिलो नहुन सक्छ । वा एकैथरी स्वाद हामीलाई मन नपर्न सक्छ । जब परिवारका सबै सदस्यले आ-आफ्नै ढंगले परिकार बनाउँछन्, स्वादमा विविधता आउँछ । खाना पस्कने क्रममा होस् वा खाना खाइरहँदा, एक कसिमको रोमाञ्चकता पनि हुन्छ ।

भान्साको काम रमाइलो पनि

विभिन्न अध्ययनले के देखाएको छ भने, भान्साको कामले कतिपय मानसिक तनाव कम गर्छ । जब तपाईं कुनै मिठो खानेकुरा बनाउने सोच्नुहुन्छ । थरीथरीका सागसब्जी तयार गर्नुहुन्छ । नयाँ नयाँ परिकार बनाउने अभ्यास गर्नुहुन्छ । तपाईंको ध्यान ति परिकारमा केन्दि्रत हुन्छ । अन्यत्र ध्यान जाँदैन ।

खानेकुरा आफुले भनेजस्तै स्वादको बन्छ ? आफुले ट्राइ गरेको परिकार खाएर अरुले के भन्छन् ? उनीहरु नयाँ स्वादमा रमाउनेछन् ?

यस्ता कौतुहलताले खुसी पनि दिन्छ ।

भान्साको काममा सबै सहभागी हुने । थरीथरीका परिकार बनाउने । कसरी परिकार स्वस्थ्य हुन्छ ? कसरी मिठो हुन्छ ? कसरी स्वादमा विविधता ल्याउन सकिन्छ ? यस्ता कुरामा रमाइलो होडबाजी गर्न सकिन्छ ।

भान्साको काम कला पनि

खाना पकाउनु आफैमा एक सीप हो । कला हो । यसलाई परम्परागत भाषामा ‘पाककला’ भनिन्छ । अर्थात कुलिनरी आर्ट ।

कुन खानेकुरा कसरी पकाउने ? कसरी पकाउँदा मिठो हुन्छ ? कसरी पकाउँदा छिटो हुन्छ ? कसरी पकाउँदा स्वस्थ्यकर हुन्छ ? यी ज्ञान खाना पकाउनेसँग हुन्छ ।

साथै कुनैपनि खानालाई फरक स्वादमा बनाउन सकिन्छ । थरीथरीको परिकारबाट एकैथरी स्वाद निकाल्न सकिन्छ । खाना पकाउनु आफैमा कला हो । भान्साको काम बोझ होइन, एक कला हो । सीप हो । सीपालु हातले नै मिठो र स्वस्थ्यकर खाना बनाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment