+
+
Shares

मोरङ-१ कांग्रेस अधिवेशन : पूर्वमन्त्रीले सभापतिका उम्मेदवारलाई स्टेजमै धकेले

‘बोल्न पाउँछु नि है’ भन्दै बोल्न सुरु गरेका चाम्लिङलाई स्टेजमा रहेका जिल्ला सभापति लिम्बूले रिसाउँदै धकेले । त्यसपछि दुई नेताबीच भनाभन भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १७:४१

१३ असोज, विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को अधिवेशनका क्रममा पार्टीका जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच विवाद भएको छ ।

मंगलबार अधिवेशनको निर्णय सार्वजनिक गर्नका लागि आयोजना गरिएको भेलामा सभापति लिम्बू र चाम्लिङबीच विवाद भएको हो । दुई नेताबीचको विवादको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।

के हो विवाद ?

नेपाली कांग्रेस मोरङ-१ को अधिवेशनमा पाँच जना सभापतिका आकांक्षी थिए । तर तीन जना ब्याक भएपछि अर्जुनकुमार तुम्रुक र देवराज चाम्लिङ राई बाँकी रहे ।

जिल्ला सभापति लिम्बू आफ्नो क्षेत्र भएकाले सर्वसम्मत सभापति बनाउन लागिपरेका थिए । सोमबार बेलुका तुम्रुकलाई सभापति बनाउने सहमति भयो ।

यो सहमतिमा चाम्लिङको पनि हस्ताक्षर छ । तर बन्द कोठामा भएको सहमति नमान्ने भन्दै लगत्तै चाम्लिङले आफ्नो दाबेदारी कायम रहेको सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिए ।

नेतृत्वको आलोचना भएपछि मंगलबार सहमति सार्वजनिक गर्ने भन्दै प्रतिनिधिको भेला बोलाइएको थियो । भेलामा लेटाङ नगरपालिकाका पूर्वमेयर शंकर राईले कार्यक्रम चलाइरहेका बेला चाम्लिङ बोल्नका लागि पोडिएममा गए ।

बोल्न पाउँछु नि है भन्दै उनले बोल्न सुरु गरेपछि स्टेजमा रहेका जिल्ला सभापति लिम्बूले रिसाउँदै चाम्लिङलाई धकेले । त्यसपछि दुई नेताबीच भनाभन भयो ।

स्टेजमा रहेका र दर्शकदीर्घामा रहेका नेताहरूले दुवै नेतालाई रोके । अधिवेशनस्थलमा विवाद भएपछि केही समय कार्यक्रम रोकिएको थियो ।

जिल्ला सभापति लिम्बू चाम्लिङले समय नलिई बोलेका कारण सामान्य विवाद भएको बताउँछन् । मञ्च कब्जा गर्ने र अनर्गल प्रचारबाजी गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन हस्तक्षेप गर्नुपरेको उनले बताए ।

सभापति लिम्बूका अनुसार पालिका सभापतिहरू र क्षेत्रीय नेताहरूबीच पटकपटक भएका छलफलपछि अर्जुनकुमार तुम्रुकलाई सर्वसम्मत रूपमा क्षेत्रीय सभापति चयन गर्ने सहमति भइसकेको थियो ।

सहमतिअनुसार देवराज चाम्लिङ र तुम्रुकबीचको विवाद मिलाई सहमतिपत्रमा हस्ताक्षरसमेत भइसकेको र हिजै बधाई ज्ञापन गरिसकिएको उनले दाबी गरे ।

तर, सहमति भइसकेपछि पनि कोठामा बन्धक बनाएर निर्णय गराइयो भन्दै सामाजिक सञ्जालमा भ्रामक र अनर्गल प्रचार गरिएको लिम्बूको आरोप छ ।

‘हामीले निर्वाचन समितिको अनुमतिमा स्पष्ट पारिएका भ्रमहरूबारे प्रतिनिधिहरूलाई जानकारी गराउन मञ्च तयार गरेका थियौँ,’ लिम्बूले भने, ‘तर समय र अनुमति नलिई जबरजस्ती मञ्च कब्जा गरेर अनुशासनहीन काम गर्न खोजिएपछि त्यसलाई रोकिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?