Comments Add Comment

जाँच्नुहोस्, तपाईंहरुबीच कति गहिरो सम्बन्ध छ ?

मानौं, तपाईंहरुले हालसालै विवाह गर्नुभएको छ । विवाहको सुरुवाती दिनहरु रोमाञ्चक हुन्छन् । जीवनको यो एउटा बेग्लै अध्याय हो । अब तपाईंहरु एक्लो रहनुभएन । तपाईंका खुसीहरु, तपाईंका उमंगहरु, तपाईंका दुःखहरु, तपाईंका समस्याहरु आपसमा बाढिनेछन् । साझेदार हुनेछन् । तपाईं कुनै रेष्टुरेन्ट जानुहुन्छ, दुई जनाका लागि खानेकुरा मगाउनुपर्छ । तपाईं सिनेमा हेर्नुहुन्छ, दुई जनाको लागि टिकट खरिद गर्नुहुनेछ । तपाईं कतै घुम्ने योजनामा हुनुहुन्छ, दुई जनाकै लागि व्यवस्था गर्नुपर्नेछ ।

खानपानमा, किनमेलमा, मनोरञ्जनमा, घुमफिरमा तपाईंहरु साथ-साथ रहनुहुनेछ । घर-व्यवहार, करियर, पारिवारिक योजना जस्ता कुरामा पनि तपाईंहरु साझेदार रहनुहुनेछ । दुःख, अभाव, समस्या, अहसज स्थितीमा पनि एकअर्काले साथ-सहयोग गर्नुहुनेछ ।

दाम्पत्य जीवन एक फरक अनुभूति हुन् ।

रोमाञ्चक तर द्विविधा पनि

विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छ, उत्तिनै द्विविधाग्रस्त पनि । किनभने यतिबेला एकअर्कालाई राम्ररी बुझेकै हुँदैनन् । त्यसैगरी दाम्पत्य जीवनमा उनीहरु अभ्यस्त भएका हुँदैनन् । कतिपय कुराहरुमा उनीहरुको मत मिल्दैन । मन मिल्दैन । व्यवहार मिल्दैन । यस्तो अवस्थामा कसरी आपसी समझदारी गर्ने भन्ने कुरा पनि जानेका हुँदैनन् । त्यही कारण विवाहको सुरुवाती दिनमा एक किसिमको तनाव र द्विविधामा गुजि्ररहेका हुन्छन् दम्पतीहरु ।

त्यती मात्र होइन, दाम्पत्यको पूवार्द्धमा नै उनीहरुबीच शंका-उपशंका पनि रहन्छ । किनभने एकअर्काको आनीबानी, सोंच, स्वभावबारे दुबै राम्ररी परिचित भएका हुँदैनन् । एउटाको व्यवहार, स्वभाव अर्कोलाई मन नपर्न सक्छ । उनीहरुबीच ठाकठुक हुने पनि यस्तै असमझदारी र भ्रमले हुन् ।

कतिले के पनि सोच्छन् भने, कतै पार्टनरले मलाई प्रेम नगर्ने त होइन ? के मलाई भरोसा नगर्ने त होइन ? मलाई यथार्थ नखुलाउने त होइन ?

एकअर्कालाई समाहित गर्ने निर्णय

विवाह गर्ने निर्णय तब गरिन्छ, जब दुबैले एकअर्कामा आफुलाई समाहित गर्ने सोंच बनाउँछन् । पुरा जीवन एकअर्काको साथ विताउने योजना बनाउँछन् । तब न विवाह हुन्छ ।

त्यसो हो भने, कुनै युवती जीवनसाथी बनेर आफुकहाँ आउँछ वा कुनै पुरुष आफ्नो लागि जीवनसाथी बन्न तयार छ । तब दुबैले एकअर्कालाई रुचाएका छन् । मन पराएका छन् । एकसाथ जीवनको लामो यात्रा तय गर्ने विचार गरेका छन् । यसर्थ विवाह भइसकेपछि सानोतिनो मनमुटाव हुँदैमा, ठाकठुक पर्दैमा, मतभेत रहँदैमा भयांकर शंका गर्नु, अविश्वास गर्नु आवश्यक छैन ।

अपेक्षाले बढाउँछ दुरी

कोही पनि मान्छे सम्पूर्ण रुपले पोख्त, पूर्ण हुँदैनन् । हरेकमा कमजोरी हुन्छन् । हरेकमा समस्या हुन्छन् । तर, हामी के गर्छौ ?

आफ्नो अपेक्षा अनुरुप पार्टनर ठिकठाक देख्न चाहन्छौं । हामी चाहन्छौं, मेरा पार्टनरसँग आर्थिक अभाव नहोस् । समाजमा प्रतिष्ठा वा ख्याती होस् । आकर्षक होस् । समझदार होस् । सहयोगी होस् । मायालु होस् । सबै कुरा ठिकठाक होस् । कुनै कमी कमजोरी नहोस् ।

यी हाम्रा अपेक्षा हुन् ।

तर, हाम्रा ति तमाम अपेक्षा पुरा हुन्छ वा हुनुपर्छ भन्ने छैन । किनभने हामी पनि त पूर्ण रुपमा त्यस्ता हुँदैनौ, जो हाम्रा पार्टनरले अपेक्षा गर्छन् ।

कमजोरी सबैमा हुन्छ, समस्या सबैमा हुन्छ । तर, त्यसलाई कसरी लिने, कसरी बुझ्ने र कसरी सुधार गर्ने भन्ने कुरा बुझ्नुपर्छ ।

एकअर्कालाई स्विकार गरौ

दाम्पत्य सुख त्यसबेला मात्र प्राप्त हुन्छ, जब एकअर्कालाई स्विकार गरिन्छ । एकअर्कालाई बुझिन्छ । हामी के ठान्छौ भने भौतिक सुख सुविधाले दाम्पत्य जीवन पूर्ण हुन्छ । सुख सयल दिएपछि पार्टनर खुसी हुन्छन् ।

तर, दाम्पत्य सुखका लागि भौतिकभन्दा भावनात्मक कुरा बढी महत्वपूर्ण हुन्छ । अतः एकअर्कालाई भावनात्मक रुपले सहयोग र साथ दिनुपर्छ ।

कतिपय अवस्थामा पार्टनरले एक्लो अनुभव गर्न सक्छन् । उनमा निरासा छाउन सक्छ । कतिपय अवस्थामा कामको बोझले पनि तनाव दिन्छ । बेलाबखत आर्थिक समस्या आइपर्छ । शारीरिक वा मानसिक समस्याहरु देखापर्छ । यस्तो अवस्थामा पार्टनरको खुसी कसरी फर्काउने ? जान्नुपर्छ ।

पार्टनरलाई मानसिक रुपमा ढाडस दिएर, उत्साहित गरेर, सान्तवना दिएर पनि खुसी तुल्याउन सकिन्छ ।

दाम्पत्य सुखको खोजी

दम्पतीले आपसी खुसी पनि खोज्न सक्नुपर्छ । जस्तो भान्सामा दुबैले रमाइलो पल बिताउन सक्छन् । मिठो मसिनो परिकार बनाउने होडबाजी गर्न सक्छन् । कुनै खेल खेल्ने, ख्याल ठट्टा गर्ने, सरप्राइज दिने जस्ता स-सानो गतिबिधिले पनि दम्पतीलाई भावनात्मक रुपमा एकाकार गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment