+
+
Shares

४ महिनामै खर्ब नजिक निर्यात, आयात ६ खर्ब माथि

भन्सार विभागका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म निर्यात ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ७७.५१ प्रतिशत बढी हो ।

अच्युत पुरी अच्युत पुरी
२०८२ मंसिर ७ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा वस्तु निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७७.५१ प्रतिशत बढी हो।
  • चार महिनामा वस्तु आयात ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.७१ प्रतिशत बढी हो।
  • नेपालको वैदेशिक व्यापारमा भारत सबैभन्दा ठूलो साझेदार रहेको छ, जहाँ ३ खर्ब ३७ अर्बको आयात र ७६ अर्ब ५० करोडको निर्यात भएको छ।

७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक)मै वस्तु निर्यात १ खर्ब नजिक पुगेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म निर्यात ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ७७.५१ प्रतिशत बढी हो ।

गत वर्ष वस्तु निर्यातले कीर्तिमान बनाएको थियो । सो कीर्तिमानलाई उछिन्ने संकेत यस वर्ष चार महिनाको निर्यात तथ्यांकले देखाएको छ । गत आवमा साउनदेखि कात्तिकसम्म ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष वस्तु आयात समेत बढेको छ । चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १८.७१ प्रतिशत धेरै हो ।

गत आवको साउनदेखि कात्तिकसम्म ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । वस्तु आयात र निर्यात दुबै बढ्दा समग्र वैदेशिक व्यापारको आकार समेत २४.१८ प्रतिशतले बढेको छ ।

विभागका अनुसार कुल वैदेशिक व्यापारको आकार ४ महिनामा ७ खर्ब २ अर्ब ९४ करोड पुगेको छ । कात्तिकसम्म व्यापार घाटा ११.९९ प्रतिशतले बढेर ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ कायम भएको विभागको तथ्यांक छ ।

यस अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ४.४१ प्रतिशत घटेर ८६.७० प्रतिशतमा कायम रहेको देखिन्छ । निर्यातको हिस्सा ४२.९४ प्रतिशतले बढेर १३.३० प्रतिशतमा कायम भएको छ ।

निर्यातमा सबैभन्दा धेरै हिस्सा घ्यू–तेलको देखिन्छ । जुन ४४ अर्ब ७० करोड रुपैयाँ हाराहारी छ ।

कात्तिक मसान्तसम्म पेट्रोलियम पदार्थको आयातमा ९२ अर्ब ४२ करोड रुपैयाँ विदेशिएको तथ्यांकले देखाएको छ । खाद्य घ्यू–तेलजन्य पदार्थ आयात ५० अर्ब १७ करोड रुपैयाँ बराबर भएको देखिन्छ ।

आइरन र स्टिलको आयात ४४ अर्ब २३ करोड रुपैयाँको भएको छ । इलेक्ट्रिकल मेसिनरी तथा उपकरण आयातमा ४३ अर्ब ३८ करोड रुपैयाँ विदेशिएको छ । यस अवधिमा ३७ अर्ब ६९ करोड रुपैयाँ बराबरको सवारी साधन र पार्टपूर्जा आयात भएको छ । मल आयातमा २५ अर्ब २० करोड विदेशिएको तथ्यांक छ । औषधिजन्य पदार्थ मात्र १४ अर्ब रुपैयाँ बराबरको भित्रिएको छ ।

निर्यातमा सबैभन्दा धेरै हिस्सा घ्यू–तेलको देखिन्छ । जुन ४४ अर्ब ७० करोड रुपैयाँ हाराहारी छ । कफी, चिया तथा मसलाको निर्यात ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको भएको छ । नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा भारतले ओगटेको छ ।

भारतबाट नेपालमा ३ खर्ब ३७ अर्बको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ ७६ अर्ब ५० करोडको वस्तु निर्यात भएको छ । नेपालसँगको व्यापारमा भारतपछि दोस्रो ठूलो मुलुक चीन रहेको छ । चीनबाट नेपालमा १ खर्ब ३२ अर्बको वस्तु आयात भएको छ । नेपालबाट भने २९ करोडको मात्र वस्तु निर्यात भएको छ ।

तेस्रो स्थानमा अर्जेन्टिना छ । यस मुलुकबाट ३४ अर्ब ७२ करोडको वस्तु आयात भएको छ । निर्यात नगन्य छ । चौथो स्थानमा संयुक्त अरब इमिरेट्स छ । यस मुलुकबाट २२ अर्ब २२ करोडको वस्तु आयात भएको छ । ६६ करोडको वस्तु निर्यात भएको छ । अमेरिका पाँचौ स्थानमा छ । यस मुलुकबाट ८ अर्ब ८७ करोडको वस्तु आयात भएको छ । निर्यात ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको भएको छ ।

डिजेल भन्दा अगाडि सोयाबिन तेल आयात

तथ्यांक अनुसार कात्तिकसम्म आयात भएका वस्तुमा सबैभन्दा अगाडि कच्चा सोयाबिन तेल रहेको छ । जुन ३७ अर्ब ८६ करोड रुपैयाँ बराबर आयात भएको छ । डिजेल ३१ अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

तेस्रो स्थानमा पेट्रोल छ । जुन २२ अर्ब ३७ करोड रुपैयाँ बराबर आयात भएको तथ्यांक छ । धेरै आयात हुने चौथो स्थानमा खाना पकाउने ग्यासको देखिन्छ । यस अवधिमा १८ अर्ब ८ करोड रुपैयाँको एलपीजी ग्यास आयात भएको छ । स्मार्ट फोन १६ अर्ब १५ करोड तथा सुन आयातमा १५ अर्ब ७२ करोड रुपैयाँ विदेशिएको छ ।

निर्यातमा पनि पहिलो स्थानमा सोयाबिन तेल

तथ्यांक अनुसार कुल निर्यातमा समेत पहिलो स्थान सोयाबिन तेलले ओगटेको छ । चार महिनामा सोयाबिन तेल ३८ अर्ब ४३ करोड रुपैयाँ बराबर निर्यात भएको छ ।

यो अवधिमा निर्यात भएका वस्तुमध्ये अलैंची दोस्रो स्थानमा छ । अलैंची निर्यात ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको भएको छ । कार्पेट निर्यात ३ अर्ब २६ करोडको भएको छ ।

सूर्यमुखी तेलको निर्यात २ अर्ब ७३ करोड रुपैयाँ बराबर भएको तथ्यांक छ । जुट निर्यात २ अर्ब १५ करोडको भएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?