+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

नेपाली भान्सामा बर्सेनि ३ अर्बको विदेशी जिरा, स्थानीय उत्पादन शून्य

हरेक नेपालीका भान्सामा हरेक दिन प्रयोग हुने जिरा नेपालमै उत्पादन हुन्छ ? अँहँ, हुँदैन । भन्सार विभागको तथ्यांकले ९९ प्रतिशत जिरा भारत र बाँकी १ प्रतिशत अन्य देशबाट आयात भएको देखाउँछ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ मंसिर ९ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा जिरा मुख्य रूपमा आयातमा निर्भर छ, जहाँ ९९ प्रतिशत जिरा भारतबाट र बाँकी अन्य देशबाट आयात हुने गरेको छ।
  • आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा २५ लाख ३६ हजार किलो जिरा आयात भएको छ, जसको मूल्य १ अर्ब ९९ लाख रुपैयाँ छ।
  • नेपालमा जिरा खेती शून्यप्राय: छ र राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले यसमा पर्याप्त अनुसन्धान र विकास कार्यक्रम सञ्चालन गरेको छैन।

८ मंसिर, काठमाडौं । नेपालीको कुनै त्यस्तो भान्सा छैन होला जहाँ मरसलामा जिरा प्रयोग नहोस् । जिरालाई सामान्य मसलामात्र नभई नेपाली भान्सा र परम्परागत उपचार पद्धतिको अभिन्न अंग मानिन्छ ।

अझ भन्नुपर्दा पूर्वीय समाजका हरेक भान्सामा जिराको व्यापक प्रयोग हुने गर्छ । मिठो सुगन्ध साथै हल्का पिरो र सामान्य तितो स्वाद हुने जिरा नेपाली भान्सामा अत्यधिक प्रयोग हुने प्रमुख मसलामध्ये एक हो ।

यो एकवर्षीय झार वर्गमा पर्ने बाली हो, जसलाई मसला र जडीबुटी दुवै प्रयोजनका लागि उत्पादन गरिन्छ । यसले धेरै औषधीय गुण बोकेको अनुसन्धानहरूले देखाएका छन् ।

नेपालमा जिरा प्रयोग प्राय: सबै प्रकारका तरकारी, दाल, माछा, मासु, अचार र केकसम्ममा गरिन्छ । यसले खानाको स्वाद बढाउनुका साथै भोक जगाउनमा पनि मद्दत गर्छ । प्राय: हरेक नेपाली भान्सामा यो नभई नहुने मसलाका रूपमा रहेको छ । दाल फ्राई गर्दा, तरकारी भुट्दा वा अचार बनाउँदा यसको प्रयोगले खानामा छुट्टै स्वाद थप्छ ।

पोषणविद् तथा स्वास्थ्य विशेषज्ञका अनुसार जिरा एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसमा पाइने फ्लेभोनोइड्स, जस्तै एपिजेनिन र ल्युटोलिनले शरीरमा फ्रि रेडिकल्सबाट हुने कोषिका क्षति न्यूनीकरण गर्न मद्दत गर्दछ । दीर्घकालीन रोगहरूको जोखिम घटाउन सहायक हुन्छ ।

जिराको सबैभन्दा परम्परागत र आधुनिक अध्ययनबाट पुष्टि भएको फाइदामध्ये एक यसको पाचन क्षमता बढाउने गुण हो । यसले पाचन इन्जाइमहरूको गतिविधिमा बढावा दिन्छ, जसले खानाको राम्रोसँग ब्रेकडाउन गर्न र ब्लोटिङ तथा ग्यासजस्ता समस्या कम गर्न मद्दत गर्ने उनीहरूको भनाइ छ ।

तर, हरेक नेपालीका भान्सामा हरेक दिन प्रयोग हुने जिरा नेपालमै उत्पादन हुन्छ ? अँहँ, हुँदैन । भन्सार विभागको तथ्यांकले ९९ प्रतिशत जिरा भारत र बाँकी १ प्रतिशत अन्य देशबाट आयात भएको देखाउँछ ।

विश्वमा जिरा उत्पादन गर्ने प्रमुख देशमा भारत, इरान, टर्की, सिरिया, मेक्सिको, इजिप्ट, अफगानिस्तान, पाकिस्तान, मध्य एसियाका केही देश पर्दछन् । साउदी अरब, इराक, दक्षिणी रुस, इन्डोनेसिया, जापान, चीन लगायत देशमा पनि यसको उत्पादन हुने भए पनि भारत विश्वको सबैभन्दा ठूलो जिरा उत्पादक राष्ट्र हो, जसले विश्वको कुल उत्पादनको करिब ७० प्रतिशत हिस्सा ओगटेको छ । सिरिया दोस्रो ठूलो उत्पादक हो भने टर्की, इरान र युनाइटेड अरब इमिरेट्स (यूएई) पनि प्रमुख उत्पादकमा पर्छन् ।

नेपालमा कस्तो छ जिरा आयात अवस्था ?

भन्सार विभागको तथ्यांक केलाउँदा बर्सेनि करिब ३ अर्ब रुपैयाँ बराबरको जिरा आयात हुने गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ पहिलो चार महिना (साउन–कात्तिक) सम्म १ अर्ब ९९ लाख रुपैयाँको जिरा आयात भएको छ । यस अवधिमा २५ लाख ३६ हजार किलो (२ हजार ५ सय ३६ टन) जिरा आयात भएको तथ्यांकले देखाउँछ ।

आव २०८१/८२ मा २ अर्ब ८४ करोड २ लाख रुपैयाँको ७ हजार टन जिरा आयात भएको थियो । यस्तै २०८०/८१ मा नेपालले २ अर्ब ९८ करोड ९७ लाखको ६ हजार ७ सय ७ किलो जिरा आयात गरेको तथ्यांकले देखाउँछ ।

यसैगरी २०७९/८० मा नेपालले २ अर्ब १० लाख रुपैयाँको ६ हजार ४६ टन आयात गरेको थियो । २०७८/७९ मा ८ हजार ४ सय ६२ टन  आयात भएको थियो जसको मूल्य २ अर्ब ७ करोड ८० लाख बराबर थियो ।

आव २०७७/७८ मा २ अर्ब ४५ करोड ८९ लाख रुपैयाँको ११ हजार ७ सय ८० टन जिरा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । २०७६/७७ मा २ अर्ब २६ करोड ६८ लाखको ८ हजार ७ सय ८६ टन र २०७५/७६ मा १ अर्ब ८९ करोड ६१ लाखको ७ हजार ३ सय ९२ टन  जिरा आयात भएको थियो ।

यसैगरी २०७४/७५ मा १ अर्ब ४६ करोड १३ लाख रुपैयाँको ६ हजार ४ सय ४६ टन र २०७३/७४ मा १ अर्ब २३ करोड ९१ लाखको ६ हजार २ सय ४६ टन जिरा आयात भएको थियो ।

नेपालमा वार्षिक ३ अर्ब रुपैयाँ हाराहारीमा जिरा आयातको औपचारिक तथ्यांक रहे पनि भारतसँगको खुला सीमाका कारण अवैध हिसाबमा पनि थप ठूलो परिमाणमा भित्रिने गरेको छ ।

नेपालमा जिरा खेती शून्यप्राय:

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रले नेपालमा जिरा खेती शून्यप्राय: रहेको जनाएको छ ।

केन्द्र प्रमुख पदमप्रसाद अधिकारी अहिलेसम्म नेपालमा जिरा खेती र उत्पादन भएको तथ्यांक नरहेको बताउँछन् । ‘मोरङ र सुनसरीका केही स्थानमा गत वर्षदेखि भारतबाट ल्याइएका जिराको बीउबाट सानो परिमाणमा परीक्षण खेती सुरु गरिए पनि यो पर्याप्त छैन,’ उनले थपे ।

नेपालमा हालसम्म कुनै पनि जिराको जात दर्ता भएको छैन । कहिलेकाहीँ परीक्षण हुने गरे पनि ती सबै बीउ भारतीय जातका हुन् ।

अधिकारीका अनुसार करिब १५–२० वर्षअघि जिरा खेतीको केही परीक्षण भए पनि त्यसपछि रोकिएको थियो ।

भएन पर्याप्त अनुसन्धान र प्रयास

मसला बाहेक जिराको औषधीय गुणका कारण ठूलो मात्रामा आयात भए पनि नेपालमै यसको उत्पादनका लागि पर्याप्त अनुसन्धान र प्रयास नभएको बाली विज्ञ राम केसी बताउँछन् ।

बाली विज्ञ केसीका अनुसार भारतमा अत्यधिक मात्रामा जिरा उत्पादन हुने गरे पनि नेपालमा भने यसको खेती किन हुन सकेको छैन भन्नेबारे खासै अध्ययन भएको छैन । ‘केही सामान्य अध्ययन भए पनि विस्तृत अनुसन्धान अभाव खड्किएको छ,’ उनी थप्छन् ।

केही समय पहिले केसीले भारतको राजस्थानबाट ‘आरजे–१९’ नामक जिराको जात ल्याएर नेपालगञ्जमा परीक्षण खेती गरेका थिए । उक्त परीक्षणमा सुरुमा बाली राम्रो देखिए पनि पछि शीतलहर र ढुसी रोग (पाउड्री मिल्ड्यु) का कारण उत्पादन हुन नसकेको उनको अनुभव छ ।

केसीका अनुसार जिरा खेतीका लागि माटोमा चिस्यान आवश्यक भए पनि वातावरणमा आर्द्रता कम हुनुपर्छ । ‘फूल फुल्ने र दाना लाग्ने समयमा सुक्खा वातावरण चाहिन्छ,’ उनी भन्छन्, ‘यस्ता वातावरणीय आवश्यकता पूरा गर्ने जातको विकास र रोग प्रतिरोधात्मक क्षमता भएका जातहरूको पहिचानका लागि अनुसन्धानको खाँचो छ ।’

जिराको अनुसन्धान राष्ट्रिय प्राथमिकतामा नपरेका कारण यसमा खासै चासो नदेखिएको केसीको भनाइ छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नाार्क) ले सानातिना अध्ययन गर्न सक्ने भए पनि हाल खाद्यान्न, तरकारी, फलफूल जस्ता क्षेत्रमा बढी ध्यान केन्द्रित भएकाले जिरा ओझेलमा परेको छ ।

यद्यपि, राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रले जिराका विभिन्न जात संकलन गरी प्रारम्भिक अध्ययन (कुन ठाउँमा लगाउने, कुन जात उपयुक्त हुन्छ, कहिले लगाउने आदि) गर्न सक्ने र यसका लागि ठूलो राष्ट्रिय बजेट आवश्यक नपर्ने केसीले सुझाए ।

जिरामा नार्कको कुनै विशेष अनुसन्धान कार्यक्रम सञ्चालन छैन

नार्कले जिरा खेती अनुसन्धानमा खासै प्रगति नभएको जनाएको छ । नार्कका प्रवक्ता भानुभक्त पोखरेल हाल नार्कले जिरामा कुनै विशेष अनुसन्धान कार्यक्रम सञ्चालन नगरेको बताउँछन् ।

‘बर्सेनि करिब २ देखि ३ अर्ब रुपैयाँको जिरा आयात हुने गरेको छ, जुन ठूलो मात्रा हो,’ उनी भन्छन्, ‘यद्यपि, नार्कसँग मसाला बालीका लागि अनुसन्धान कार्यक्रम रहे पनि यसको मुख्य ध्यान हाल अदुवा र बेसारमा केन्द्रित छ ।’

नार्कले बिस्तारै जिरा लगायत मसला बालीमा काम गर्ने सोच बनाएको पोखरेलले बताए । ‘यसका लागि विशेष वैज्ञानिकहरूको अभाव छ,’ उनले थपे ।

जिरा खेती पाल्पा, अर्घाखाँची, झापा र इलामको सीमा क्षेत्र लगायत केही स्थानमा फाट्टफुट्ट हुने गरे पनि व्यावसायिक हिसाबले उत्पादन सम्भावना र अनुसन्धानमा भने कमी रहेको उनले औँल्याए ।

‘नार्कले हाल कुन–कुन बाली बढी मात्रामा आयात भइरहेका छन् र कुन निर्यातजन्य छन् भन्नेबारे अध्ययन गरिरहेको छ,’ प्रवक्ता पोखरेल भन्छन्, ‘यो अध्ययनपछि निर्यातजन्य बाली (जस्तै, चिया र अदुवा) प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न सकिने बालीलाई प्राथमिकता दिएर काम गर्ने योजना छ ।’

जिराजस्ता ठूलो मात्रामा आयात हुने बाली पनि प्राथमिकतामा राखेर आगामी कार्यक्रममा समावेश गरिने नार्कको योजना रहेको पोखरेलको भनाइ छ ।

यी हुन् धेरै जिरा उत्पादन गर्ने ५ देश

भारत

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व जनसंख्या समीक्षा २०२३–२०२४ को तथ्यांक अनुसार जिराको सबैभन्दा ठूलो उत्पादक देश भारत हो ।

भारतको सुक्खा र बन्जर हावापानी जिरा खेतीका लागि उपयुक्त छ र देशले विश्वव्यापी उत्पादन र निर्यात बजार दुवैमा प्रभुत्व जमाएको छ ।

राजस्थान र गुजरात राज्यमा जिराको मुख्य खेती हुन्छ, जहाँ यसलाई चाहिने तातो र सुक्खा हावापानी पाइन्छ । यसलाई बलौटे दोमट माटोमा उमारिन्छ ।

भारतले वार्षिक ९ लाख टनभन्दा बढी जिरा उत्पादन गर्छ, जसले विश्वको कुल जिरा उत्पादनको ७० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्दछ । भारतले अमेरिका, यूएई, बंगलादेश र बेलायत जस्ता देशमा ठूलो मात्रामा निर्यात पनि गर्छ ।

सिरिया

सिरिया जिराको दोस्रो ठूलो उत्पादक हो । विशेषगरी यसको सुक्खा उत्तरी क्षेत्रमा जिरा उत्पादन हुन्छ । सिरियामा ४० हजार टन जिरा उत्पादन हुने तथ्यांकमा उल्लेख छ ।

टर्की

टर्कीले कोन्या र गजियान्टेप जस्ता प्रान्तमा ठूलो मात्रामा जिरा उत्पादन गर्छ । टर्कीको जिरामा उच्च मात्रामा तेल पाइने बताइन्छ । यसको प्रयोग टर्की र भूमध्यसागरीय परिकारहरूमा व्यापक रूपमा गरिन्छ । यसले युरोप र उत्तरी अफ्रिकामा पनि जिरा निर्यात गर्छ । टर्कीमा ३५ हजार टन जिरा उत्पादन हुने तथ्यांकमा उल्लेख छ ।

इरान

इरानले खोरासान र फार्सजस्ता सुक्खा प्रान्तमा जिरा खेती गर्छ । इरानी जिरा परम्परागत फारसी स्ट्यु, भातका परिकार र जडीबुटी औषधिमा प्रयोग गरिन्छ । इरानमा २५ हजार टन जिरा उत्पादन हुन्छ ।

चीन

चीनले मुख्यतया सिन्जियाङ क्षेत्रमा जिरा उब्जाउँछ । चिनियाँ जिरा स्थानीय खाना र विशेषगरी भेडाको मासुका परिकार र बारबिक्युमा प्रयोग गरिन्छ । घरेलु खपत उच्च भए पनि चीनले केही जिरा दक्षिणपूर्व एसिया र रुसमा निर्यात गर्ने गरेको छ । चीनले १० हजार टन जिरा उत्पादन गर्ने तथ्यांकमा उल्लेख छ ।

यस्तै जिरा उत्पादन गर्ने अन्य राष्ट्रमा इजिप्ट, पाकिस्तान, अफगानिस्तान र मोरक्को पर्छन् । यद्यपि, उनीहरूको उत्पादन थोरै छ ।

जिरा बजार २०३३ सम्म साढे २ अर्ब डलर बराबर पुग्ने

विश्वव्यापी जिरा बजार सन् २०२४ मा १ अर्ब ३० करोड अमेरिकी डलरबाट बढेर १ अर्ब ५० करोड डलर हाराहारी मूल्यांकन गरिएको छ । आगामी दशकमा यस बजारमा निरन्तर वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

बजार विश्लेषण अनुसार जिरा बजार २०३० देखि २०३३ सम्म १ अर्ब ९० करोडदेखि २ अर्ब ४७ करोड डलर बराबर पुग्ने अपेक्षा छ । यो अवधिमा बजार ४ देखि ५.५ प्रतिशतको वार्षिक वृद्धिदरमा बढ्ने अनुमान छ ।

के छ जिराको महत्त्व ?

जिरा परम्परागत औषधिको परिभाषामा नपरे पनि यसको शक्तिशाली पाक र औषधीय गुणका कारण लामो समयदेखि विशेषगरी आयुर्वेदिक चिकित्सामा प्रयोग हुँदै आएको छ ।

विशेषज्ञहरू र आधुनिक अनुसन्धानले यसका सक्रिय यौगिकमा धेरै स्वास्थ्य–प्रवर्द्धक गुण रहेको देखाएको छ, जसले यसलाई पूरक स्वास्थ्य पद्दतिका रूपमा समर्थन गर्दछ । यद्यपि, यसलाई चिकित्सा उपचारको पूर्ण प्रतिस्थापनका रूपमा भने हेर्न नमिल्ने उनीहरू बताउँछन् ।

चिकित्साकर्मी, पोषणविद् र अनुसन्धानकर्ता जिराले उल्लेखनीय स्वास्थ्य लाभ प्रदान गरे पनि यसलाई रोगको एकल उपचारको सट्टा सहायक आहार घटकका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिन्छन् ।

आधुनिक अनुसन्धानले जिराका धेरै परम्परागत प्रयोग प्रमाणित गरेको छ । विभिन्न अध्ययनले यसमा क्युमिनल्डिहाइड, थाइमोक्विनो र फ्लेभोनोइड्स जस्ता लाभदायक वनस्पति यौगिक पत्ता लगाएका छन् । यी यौगिकमा एन्टिअक्सिडेन्ट, एन्टी–इन्फ्लेमेटरी (सुन्निएको कम गर्ने) र एन्टिमाइक्रोबायल (सूक्ष्मजीव विरोधी) गुण पाइन्छन् ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?