+
+
Shares

तरकारी उत्पादन र क्षेत्रफल बढेको बढ्यै, घटेन आयात

स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा वर्षैपिच्छे अर्बौं रुपैयाँ बराबरको तरकारी आयात हुँदै आएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ कात्तिक २४ गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा आव २०८०/८१ मा ४४ लाख ४० हजार टन तरकारी उत्पादन भएको छ, जुन विगतका वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको छ।
  • तरकारी उत्पादन र क्षेत्रफल बढ्दा पनि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ८ अर्ब ६४ करोड २८ लाख रुपैयाँ बराबर तरकारी आयात भएको छ।
  • नेपालबाट चालु आव पहिलो तीन महिनामा ३५ करोड ३५ लाख ६१ हजार रुपैयाँ बराबर तरकारी निर्यात भएको छ, तर व्यापार घाटा ८ अर्ब २८ करोड ९३ लाख रुपैयाँ छ।

२४ कात्तिक, काठमाडौं । तरकारी उत्पादनमा नेपालले धेरै ठूलो फड्को मारेको छ । उत्पादन र उत्पादन क्षेत्रफल बर्सेनि बढ्दै जाँदा पनि आयात परिमाण घट्न सकेको छैन ।

यहाँ जति तरकारी उत्पादन हुन्छ, त्यतिले अझै बजार माग धान्न सकेको छैन । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा वर्षैपिच्छे अर्बौं रुपैयाँ बराबरको तरकारी आयात हुँदै आएको छ ।

तर, नेपालबाट छिमेकी भारत, चीन लगायत देशमा करोडौंको तरकारी निर्यात पनि हुँदै आएको छ ।

सरकारी तथ्यांक केलाउने हो भने नेपालमा वार्षिक ४४ लाख टनसम्म तरकारी उत्पादन हुँदै आएको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले मुलुकमा वार्षिक ४१ देखि ४४ लाख टनसम्म तरकारी उत्पादन हुने गरेको देखाउँछ ।

वार्षिक ४४ लाख टनसम्म तरकारी उत्पादन हुँदा पनि त्योभन्दा निकै ठूलो परिमाणमा आयात गर्नुपरिरहेको विद्यमान अवस्था छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४४ लाख ४० हजार टन तरकारी उत्पादन भएको छ । यस्तै २०७९/८० मा ४३ लाख ७६ हजार टन, २०७८/७९ मा ४१ लाख ५३ हजार टन, २०७७/७८ मा ३९ लाख ९३ हजार टन र २०७६/७७ मा ४२ लाख ७१ हजार टन तरकारी उत्पादन भएको थियो ।

यो तथ्यांकले पछिल्लो समय नेपालमा तरकारी उत्पादन बढ्दै गएको देखाउँछ । तरकारी उत्पादन बढ्दै जाँदा उत्पादन हुने क्षेत्रफल पनि बढ्दै गएको देखिन्छ ।

आव २०७६/७७ मा २ लाख ८१ हजार १ सय ३२ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको थियो । २०७७/७८ मा बढेर २ लाख ८४ हजार १ सय २१ हेक्टर पुगेको थियो । यस्तै २०७८/७९ मा तरकारी खेतीको क्षेत्रफल बढेर २ लाख ८९ हजार ८ सय ३९ हेक्टर पुग्यो ।

आव २०७९/८० मा ३ लाख २ हजार १ सय ३५ हेक्टरमा तरकारी खेती गरिएकोमा २०८०/८१ मा क्षेत्रफल बढेर ३ लाख ११ हजार ८ सय ८५ हेक्टर पुगेको सरकारी तथ्यांक छ ।

कति छ तरकारीको उत्पादकत्व ?

कृषि मन्त्रालयको तथ्यांक अनुसार आव २०७६/७७ मा तरकारीको उत्पादकत्व प्रतिहेक्टर १४.०९ टन थियो । २०७७/७८ मा १४.०३  टन र २०७८/७९ मा तरकारीको उत्पादकत्व प्रतिहेक्टर १४.३३ टन रहेको तथ्यांकले देखाउँछ ।

तथ्यांक अनुसार २०७९/८० मा तरकारीको उत्पादकत्व प्रतिहेक्टर १४.४८ टन थियो भने २०८०/८१ मा १४.२४ टन प्रतिहेक्टर उत्पादकत्व छ ।

तरकारी उत्पादनको प्रदेशगत अवस्था

कोशी प्रदेशमा आव २०८०/८१ मा ५५ हजार २ सय ५ हेक्टर क्षेत्रफमा ८ लाख ५० हजार ३ सय ८४ टन तरकारी उत्पादन भएको छ । यस्तै मधेश प्रदेशमा १ लाख ९ सय ८ हेक्टर क्षेत्रफलमा १४ लाख २ हजार ३ सय ३५ टन तरकारी उत्पादन भएको तथ्यांकले देखाउँछ ।

यस्तै मन्त्रालयको तथ्यांक अनुसार बागमतीमा ५३ हजार २१ हेक्टर क्षेत्रफलमा ८ लाख ८७ हजार ८ सय १ टन तरकारी उत्पादन भएको थियो । गण्डकीमा २३ हजार ५ सय ६८ हेक्टर क्षेत्रफलमा २ लाख ७८ हजार ५ सय ८३ टन, लुम्बिनी ४२ हजार ७ सय ८३ हेक्टरमा ५ लाख ४६ हजार ८ ६६ टन, कर्णली १३ हजार ९० हेक्टरमा १ लाख ४६ हजार ६१ टन र सुदूरपश्चिम प्रदेशमा २३ हजार ३ सय १० हेक्टरमा ३ लाख २८ हजार ८५ टन तरकारी उत्पादन भएको मन्त्रालयको तथ्यांकमा छ ।

तरकारी आयातको अवस्था

तथ्यांकमा तरकारी उत्पादन क्षेत्रफल, उत्पादन र उत्पादकत्व बर्सेनि बढ्दै गए पनि अर्बौंको आयात हुने गरेको छ ।

नेपाली उत्पादन महँगो हुँदा वा उत्पादनले नपुग्दा भारत सहित विभिन्न देशबाट नेपालमा हरियो तरकारी र दलहन आयात हुन्छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ पहिलो तीन महिना (साउन–असोज) सम्म ८ अर्ब ६४ करोड २८ लाख रुपैयाँ बराबरको तरकारी तथा दलहन आयात भएको छ ।

आव २०८१/८२ सोही अवधिमा भने ९ अर्ब ७८ करोड रुपैयाँको तरकारी आयात भएको थियो । गत आव तीन महिनाको तुलनामा भने यस वर्ष तरकारी आयात घटेको देखिन्छ ।

यस्तै २०८१/८२ एक वर्षमा ३७ अर्ब ७३ करोड बराबरको तरकारी आयात भएको छ । २०७९/८० मा ३१ अर्ब ८७ करोड, २०७८/७९ मा ३६ अर्ब ५४ करोड र २०७७/७८ मा ३८ अर्ब ५० करोडको तरकारी आयात भएको थियो ।

७७ जिल्लामा तरकारी जोन र सुपर जोन

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा तरकारी जोन र सुपर जोन कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । कार्यक्रम  व्यवस्थापन एकाइका सूचना अधिकारी डा. जितबहादुर चन्दले पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा तरकारी जोन तोकिएको बताए ।

यी जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, लमजुङ, तनहुँ, पर्वत, पाल्पा, कपिलवस्तु, प्युठान, बाँके, रुकुम पश्चिम, सल्यान, सुर्खेत, डोटी र बैतडी समावेश छन् ।

तरकारी सुपर जोन

हाल दुई जिल्लामा तरकारीको सुपर जोन तोकिएको छ । ती जिल्ला कास्की र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुन् । चन्दका अनुसार कास्कीमा तरकारीको सुपर जोन छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्रलाई पहिले जोनका रूपमा रहेकोमा हाल सुपर जोनमा स्तरोन्नति गरिएको छ ।

उत्पादन र उत्पादकत्वमा प्रगति

आव २०८०/८१ को तथ्यांक अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत १८ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदा कुल ३ लाख २६ हजार टन उत्पादन भएको सूचना अधिकारी चन्दले बताए ।

उनका अनुसार यस कार्यक्रमले उत्पादकत्वमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यस कार्यक्रम अन्तर्गत तरकारीको उत्पादकत्व प्रतिहेक्टर १७.७ टन छ, जुन राष्ट्रिय औसत १४.३२ टनभन्दा २० देखि २५ प्रतिशतले बढी हो ।

उत्पादन र उत्पादकत्वमा वृद्धि भए पनि नेपालमा मासिक अर्बौं रुपैयाँ बराबर तरकारी आयात हुने गरेको छ । यसको प्रमुख कारण वर्षभरि निरन्तर उत्पादन गर्न नसक्नु हो । विगतको तुलनामा आयात घटेको भए पनि बाहिरबाट तरकारी ल्याउनुपर्ने अवस्था कायमै छ ।

यस्तो समस्या समाधान गर्न प्रविधिमैत्री उत्पादन प्रणाली, विशेषगरी ग्रिनहाउसमा आधारित संरक्षित खेतीमा जोड दिनुपर्ने चन्दले बताए । सिँचाइको उचित व्यवस्था, बजार पहुँच र युवा सहभागिताले उत्पादन बढाउन सकिने उनको भनाइ छ ।

चन्दका अनुसार नेपाल बीउको गुणस्तरमा पनि कमजोर छ, चाहे त्यो तरकारीको होस् वा धान, गहुँ, मकै । भारतमा उच्च उत्पादकत्व दिने बीउ उपलब्ध छन् । त्यसकारण भारतमा धेरै तरकारी उत्पादन हुन्छ र निर्यात हुन्छ ।

‘गुणस्तरीय बीउबिजन नहुँदा तरकारीमा आत्मनिर्भर बन्न सकिएन’

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ अध्यक्ष भरतप्रसाद खतिवडा नेपालमा तरकारीे उत्पादन समग्रमा बढ्दो क्रममा रहे पनि उचित योजनाबद्ध खेती अभावका कारण किसानले बजार मूल्य र लागत उठाउन नसकेको बताउँछन् ।

‘नेपाल तरकारीमा आत्मनिर्भर बन्न नसक्नुको मुख्य कारण गुणस्तरीय बीउबिजन अभाव हो,’ उनी भन्छन्, यो समस्या तरकारी मात्रै नभएर धान र मकैजस्ता खाद्यान्न बालीमा पनि उत्तिकै छ ।’

यसका साथै उचित समयमा मल, बीउबिजन र सिँचाइ व्यवस्थापनमा कमीजस्ता समस्याले उत्पादनमा असर पारेको अध्यक्ष खतिवडा बताउँछन्  । यी सबै पक्षको उचित संयोजनबाट मात्रै अपेक्षित प्रतिफल पाउन सकिने उनको भनाइ छ ।

भारतको तरकारी उत्पादन प्रणाली नेपालभन्दा फरक रहेको खतिवडाले बताए । ‘भारतले योजनाबद्ध खेती गर्ने र विश्वव्यापी रूपमा तरकारी निर्यात गर्ने गर्छ,’ अध्यक्ष खतिवडाले भने, ‘त्यहाँ किसानलाई अधिकतम अनुदान (सब्सिडी), गुणस्तरीय मल, बीउबिजनको व्यवस्था र सिँचाइको उचित प्रबन्ध छ, यसले गर्दा उनीहरूको उत्पादन लागत कम हुन्छ र ठूलो मात्रामा उत्पादन र विश्व बजारमा सस्तो मूल्यमा तरकारी आपूर्ति गर्न सक्छन् ।’

यस विपरीत नेपालमा भारतीय तरकारीको तुलनामा उत्पादन लागत दोब्बरसम्म पर्ने गरेको छ, जसले गर्दा नेपाली तरकारी महँगो पर्न जान्छ ।

ढुवानी खर्च र आन्तरिक व्यापारका समस्या

तरकारीको मूल्य ढुवानी खर्च दूरीमा निर्भर गर्ने खतिवडा बताउँछन् । धादिङ ५० किलोमिटर टाढा काठमाडौं ल्याउँदा तरकारी ढुवानी खर्च किलोको ३ देखि साढे ३ रुपैयाँ पर्छ । चितवनबाट काठमाडौं ल्याउँदा ढुवानी खर्च अझै बढी लाग्ने उनी बताउँछन् ।

भारतमा आन्तरिक रूपमा एक प्रदेशको उत्पादन अर्को प्रदेशमा सहजै लैजान नदिने र केन्द्रीय सरकारले भन्दा पनि प्रान्तीय सरकारहरूले यसलाई कडाइ गर्ने गरेकाले नेपाली उत्पादनलाई भारतमा निर्यात गर्न कठिन हुने गरेको उनी बताउँछन् ।

‘जब नेपालमा गोलभेँडा अत्यधिक फल्छ, त्यसलाई भारत निर्यात गर्न सके किसानले राम्रो आम्दानी गर्न सक्थे,’ उनी भन्छन्, ‘तर, त्यो सम्भव नहुँदा किसान निरुत्साहित भई उत्पादन घटाउन बाध्य हुने गरेका छन् ।’

अध्यक्ष खतिवडा सरकारले ‘जीटुजी’ (सरकार–सरकार) स्तरमा भारतसँग सहकार्य गरी नेपाली उत्पादनलाई भारतमा सहज पहुँच दिलाउनुपर्नेमा जोड दिन्छन् ।

‘जसरी भारतीय उत्पादन नेपालमा सहजै आउन पाउँछ, त्यसैगरी नेपाली उत्पादनलाई पनि भारतमा पहुँच सुनिश्चित गर्नुपर्छ,’ उनले भने, ‘भन्सारमा पनि सोही अनुसार व्यवस्था हुनुपर्छ र नेपाली उत्पादन बढी हुँदा आयातमा कडाइ गर्नुपर्छ ।’

नेपालबाट कति हुन्छ तरकारी निर्यात ?

नेपालबाट भारत, चीन लगायत देशमा तरकारी निर्यात हुँदै आएको छ । चालु आव पहिलो तीन महिनामा ३५ करोड ३५ लाख ६१ हजार रुपैयाँको तरकारी निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

तथ्यांक अनुसार आव २०८१/८२ को पहिलो महिनामा २२ करोड ३० लाख ८७ हजार रुपैयाँ बराबर तरकारी निर्यात भएको थियो । २०८०/८१ मा ८२ करोड ८६ लाख १७ हजार बराबर तरकारी निर्यात भएको तथ्यांक छ ।

आव २०७९/८० मा ७४ करोड ५९ लाखको तरकारी निर्यात हुँदा  २०७८/७९ मा ७७ करोड ६२ लाख रुपैयाँको निर्यात भएको थियो ।  २०७७/७८ मा भने ६९ करोड ९८ लाखको तरकारी निर्यात भएको थियो ।

तरकारीमा व्यापार घाटा

नेपालले चालु आव पहिलो तीन महिनामा तरकारीमा ८ अर्ब २८ करोड ९३ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ । २०८१/८२ मा ३७ अर्ब १५ करोड ६४ लाख घाटा बेहोरेको थियो ।

यस्तै २०८०/८१ मा २७ अर्ब ४८ करोड ५७ लाख, २०७९/८० मा ३१ अर्ब १२ करोड ६५ लाख, २०७८/७९ मा ३५ अर्ब ७६ करोड ८३ लाख र २०७७/७८ मा ३७ अर्ब ८० करोड ७ लाख बराबर व्यापार घाटा भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा तरकारीका रूपमा आलु, प्याज, काउली, गोलभेँडा, बन्दा, लसुन, बोडी, परवल, सिमी, रायो साग, लट्टेसाग, पालुँगो लगायत खाने गरिएको छ । फर्सी, धनियाँ, गाजर, भेँडे खुर्सानी, खुर्सानी, ब्रोकाउली, जिरीको साग, चुकन्दर, केराउ, मुला, करेला, भन्टा, चम्सुर, घिरौँला लगायत तरकारी बढी उपभोग हुँदै आएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन एकाइका सूचना अधिकारी डा. चन्द नेपालमा तरकारी खपत अत्यधिक रहेको र यसको मुख्य कारण नेपालीहरूको खानामा तरकारीको अधिक प्रयोग रहेको बताउँछन् ।

उनका अनुसार नेपालीहरू तरकारी अत्यधिक मन पराउँछन् र उपभोग गर्छन्, जसलाई विश्वमै तरकारी धेरै खानेमध्ये एक मान्न सकिन्छ ।

‘पहिला नेपालीले दालभात धेरै खाने गरेको पाइन्थ्यो, अहिले त्यसको सट्टा तरकारी खान थालेको पाइन्छ,’ उनले थपे ।

उनका अनुसार विश्वका धेरै कम देशमा मात्र नेपालीले जति तरकारी खान्छन् ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?