+
+

त्यो रातको घटनामा मलाई गर्व छ

एमाअाेवादी नेता एवं सिँचाइ मन्त्री उमेश यादवको नाम लिनासाथ मानिसहरु गत माघ ५ गते संसदमा भएको तोडफोडलाई सम्झन्छन् । तर, मन्त्री यादवलाई भने त्यो घटनाप्रति ग्लानी हैन, गर्व रहेछ । संसदको तोडफोड र मधेस आन्दोलनबारे केन्द्रित रहेर मन्त्री यादवसँग गरिएको छोटो सम्वाद :

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २३ गते १४:०२

Umesh Yadavउमेश यादव, सिंचाइ मन्त्री

एमाअाेवादी नेता एवं सिँचाइ मन्त्री उमेश यादवको नाम लिनासाथ मानिसहरु गत माघ ५ गते संसदमा भएको तोडफोडलाई सम्झन्छन् । तर, मन्त्री यादवलाई भने त्यो घटनाप्रति ग्लानी हैन, गर्व रहेछ । संसदको तोडफोड र मधेस आन्दोलनबारे केन्द्रित रहेर मन्त्री यादवसँग गरिएको छोटो सम्वाद :

माघ ५ मा तपाई संविधानसभाको कुर्सी भाँच्न अग्रपंक्तिमा हुनुहुन्थ्यो, अहिले मन्त्री हुनुभयो । त्यो घटना सम्झिँदा आत्मग्लानी हुँदैन ?

संविधानसभाको माघ ५ गतेको घटना ऐतिहासिक विद्रोह थियो । त्यो ऐतिहासिक विद्रोह नभइदिएको भए एमाले र कांग्रेस १६ बुँदे सहमतिसम्म आउनेवाला थिएनन् । त्यति झुक्ने अवस्थामा उनीहरु आउँदैनथे । त्यो १६ बुँदे सहमतिले संविधानसभाबाट संविधान निर्माण गर्ने आधार तयार गर्यो र नयाँ संविधान आज बन्यो । माघ ५ गतेको ऐतिहासिक घटनाक्रमले हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पाएका छौं । त्यसैले माघ ५ को घटनाले कोशेढुंगाको काम गर्‍यो । तसर्थ म आज पनि माघ ५ गतेको त्यो घटनाप्रति गर्व गर्दछु ।

मन्त्री भएपछि तपाईँलाई चिन्ने घटना पनि संविधानसभामा मध्यरातमा गरेको तोडफोडमा तपाईँको तस्विर छ, नि । अप्ठ्यारो लाग्दैन ?

यो समाज वर्गीय हो । वर्गीय समाजमा सवै वर्गका आ आफ्ना दृष्टिकोण हुन्छन् । मलाई लाग्छ, उत्पीडित वर्ग, समुदाय, जनता र जातिले त्यसलाई प्रशंसा गरे । स्याबासी दिए र मेरो हौसला बढाए । तर, उत्पीडक समुदाय, वर्गले त्यसलाई घृणा गर्ने एउटा बहाना बनाए । मलाई लाग्छ, ती बहाना बनाउनेको अभियान पनि जारी छ । गर्व गर्नेहरुको अभियान पनि जारी छ ।

ए, त्यसो भएर नै तपाईँले मन्त्रीको बक्सिस पाउनुभएको हो ?

यो मलाई लाग्छ, सोच्नेहरुको भ्रम हो । म माओवादी आन्दोलनमा गाउँ कमिटीदेखि पार्टीको केन्द्रीय सदस्यसम्म आएँ । के म माघ ५ गतेपछि केन्द्रीय समितिसम्म आएको हो ? के मैले मधेसी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष हुँदै पार्टीको यो निर्वाचित हुने ठाउँसम्म आइपुग्दा माघ ५ गतेको घटनाले गराएको हो ? त्यो त होइन ।

दोस्रो कुरा, मैले जनयुद्धको समयमा र राजनीतिक आन्दोलनमा खेलेका भूमिकाहरुलाई पार्टीले मूल्यांकन गर्‍यो । त्यो माघ ५ गतेलाई मात्र होइन । कतिपय भन्नेहरुले माघ ५ लाई बाहना बनाएका छन् । यहाँसम्म कि जो कम्युनिष्ट आन्दोलनमा कुनै बेला लागेका थिए, विद्यार्थी आन्दोलनमा चर्चित नेता थिए, त्यसले पनि त्याहाभन्दा ठूला-ठूला घटना घटेर ठूलो कुटनीतिक पदहरु पनि पाए । त्यसले आफ्ना सबै कुरा बिर्सिए । तर, मलाई लाग्छ, म एउटा मधेसीको छोरो हुनुको नाताले गर्दा पनि यहाँ शासकीय चिन्तन र मनोविज्ञानबाट ग्रसितहरुले त्यो घटनालाई मेरो परिचय बनाउँदैछन् ।

रियल कुरो त्यो होइन । मेरो बैचारिक अडान, मेरो संघर्षको इतिहासले र पार्टी एचक्यू (हेडक्वाटर) प्रतिको मेरो आस्था र विश्वासले पार्टी एचक्यूले विश्वास गरेर मलाई यो ठाउँसम्म पुर्‍याएको हो ।

फरक प्रसंगमा कुरा गरौं, तपाईँ मधेसी समुदायको मान्छे, मधेस आन्दोलन चर्किरहेका बेला तपाईँ मन्त्री हुनुभएको छ, मधेस समुदायको आन्दोलन जायज छ ?

मधेस आन्दोलन भइरहँदा मैले मन्त्री हुँदा मैले जो गणतन्त्रका लागि लडेँ, जो संघीयताका लागि लडेँ, जो समानुपातिक समावेशिताको लागि लडेँ, माओवादी जनयुद्धले जुन मुद्दाहरु स्थापित र पैदा गर्‍यो, म त तिनै गणतन्त्र अन्तरगत संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत न मन्त्री भएको छु । म शाहीकालमा उनीहरु मन्त्री भएजस्तो भएको छैन । मधेसी समुदायको मुख्य दुश्मन को ? यहाँको एकल सम्प्रदाय राज्यसत्ता र तिनका नाइके सामन्ती राजतन्त्र होइन र ? तर, तिनै राजतन्त्रलाई संवैधानिक राजतन्त्रको नाममा तिनै नेताहरु दर्जनौं पटक मन्त्री भएका छन् ।

जतिबेला हामीले मधेस स्वायत्त सरकारहरु घोषणा गर्दै अगाडि बढ्दै थियौं, उत्पीडित जनताहरुको अधिकार सम्पन्न गर्ने अभियानमा बलिदानी गर्ने यात्रामा हामी हिँड्दै थियौं, त्यतिबेला यिनीहरुले कांग्रेस र एमाले मिलेर संकटकाल लगाएर हाम्रो रगत खाएको होइन ?

मात्र भनिदिनोस् न मन्त्रीज्यू, मधेस आन्दोलन जायज छ कि छैन ?

मधेस आन्दोलनले अहिले मधेसमा जे मुद्दाहरु उठाएको छ, जुन मुद्दाहरु सीमांकनका मुद्दाहरु मिलेको छैन भनिराखेको छैन भनेर हामीले पनि भनिराखेका छौं । हाम्रो पनि फरक मत त दर्ज नै छ नि । एकीकृत माओवादी पनि फरक मतसहित संविधान निर्माण प्रक्रियामा यो संविधानलाई आत्मसाथ गरेको छ । भनेपछि हाम्रो माओवादीको पनि सबै मत यो संविधानमा आएको छैन । अरुको पनि छैन होलान् ।

अहिले सीमांकन सन्दर्भको जो अवधारणा हो, मधेसमा दुई प्रदेश । यो सन्दर्भमा उहाँहरुसँग हाम्रो विमति यतिमात्र के हो भने नि झापा, मोरङ, सुनसरीका मधेस बाहुल्य क्षेत्रहरुलाई २ नम्बर प्रदेशमा दिनुपर्छ ।

पहिलो, कांग्रेस-एमाले आफैले नौ बुँदे प्रस्तावमा जो पश्चिमको प्रदेशमा थरुहट प्रदेशमा जुन अवधारणा सारेको थियो, तयसमा कम्तीमा कैलाली, कञ्जनपुरसम्म नभए पनि कैलालीको खुरियाखोलासम्म भए पनि त्यसलाई मिलाइदिनुपर्दथ्यो भन्ने मेरो मत हो । र हाम्रो पार्टीको पनि त्याहाँ थारु बाहुल्य क्षेत्रहरुको एउटा क्लष्टर दिनुपर्छ, एउटै क्लष्टर दिनुपर्छ भन्ने न हो । भनिसकेपछि मागमा त अन्तर आएन । फेरि उनीहरुका आशय एक ढंगका छन् । हामीले मधेसका गरिबहरुलाई, उत्पीडितहरुलाई, मजदुर र किसानहरुलाई नेता बनाउन चाहन्छौं ।

उहाँहरुको मधेसका सामन्त र जमिन्दारहरुलाई पुनःस्थापित गराउने अभियानमा लाग्नु भएको छ । हाम्रो बिमति त्यहाँ हो । हाम्रो लडाईँ, हाम्रो अन्तरविरोध त्यहाँ हो । मूल कुरो यही हो ।

जतिबेला तपाईँहरुले संविधानसभामै तोडफोड गर्दा ऐतिहासिक विद्रोह भयो, आफ्नो समुदायको आक्रोश भन्नु भयो, मधेसको अहिलेको आन्दोलन चाँही मधेसी समुदायको आक्रोश होइन ?

नेतृत्वको सन्दर्भमा विचारको सन्दर्भमा मैले कुरा राखेँ । अहिले पनि आक्रोशको कुरा गर्ने हो भने कांग्रेस र एमालेले संघीयताको स सुन्न नचाहेको थियो ? समानुपातिकको स सुन्न चाहेको थियो ? महिलाहरुको प्रतिनिधित्वमा ३३ प्रतिशत ग्यारेन्टी गरियो । दलितहरुको समावेशिताको कुरा उनीहरुले सुन्न चाहेका थिएनन् ।

संघीयता नै बनाउन नदिने, पाँच विकास क्षेत्रलाई नै संघीयता बनाउने, कसैले तीन वटाको कुरा गरिदिने भनेर भन्ने उनीहरुको स्थिति थियो । धर्म निरपेक्षताको कुरा पनि उनीहरु सुन्न चाहिरहेका थिएनन् । भने पछि माघ ५ गतेको घटनाले नै यी कुराहरुमा पुनर्विचार गर्न उनीहरुलाई बाध्य पार्यो । अहिले संघीयताका सैद्धान्तिक अवधारणामा, पहिचानका पाँच र सामथ्र्यका चार आधार तय गर्यो । हो, यो मिलेको छैन सम्पूर्ण आधार । तर यो कुरामा कांग्रेस र एमालेलाई सहमत गर्न बाध्यता पार्‍यो नि त । समानुपातिकमा ४० र ६० नै किन नहोस्, यहाँसम्म ल्याउन हामीले बाध्यता पार्‍यौं नि त ।

कर्मचारीहरुका सन्दर्भमा सरकारी सेवा आयोगअन्तर्गत समानुपातिक समावेशीका कुराहरुसम्म ल्याउन बाध्यता पार्‍यौं । उनीहरु खुशीले आएका होइनन्, हामीले पनि खुशीले यो संसदीय ब्यवस्था मानेका होइनौं । हामीले पनि केही गुमाएका छौं, केही पाएका छौं । सम्पूर्ण कुरा हामीले पनि पाएका छैनौं । हामी २४० हुँदा हामी संविधान बनाउन सकेनौं । कारण जे जे भए पनि । आज हाम्रो संख्या निर्णायक नहुँदा पनि यो देशमा भूकम्पपछिको घटनाक्रम हेर्ने हो भने वा ५ माघकै घटनापछि एकीकृत माओवादी वरपर वा पार्टी अध्यक्ष प्रचण्डको वरपर यो देशको राजनीति घुमिरहेको अवस्थालाई इन्कार गर्न सक्छौं ? कसैले इनकार गर्न सक्दैन ।

तपाईँ मधेसी समुदायको मान्छे सरकारमा हुनुहुन्छ, अब मधेसको आन्दोलनलाई कसरी सम्बोधन गर्नुपर्छ भन्नुहुन्छ ?

मधेसको आन्दोलनलाई मधेसमा दुई वटा प्रदेश दिएर पहिचान र सामथ्र्यका आधारलाई ग्यारेन्टी गरिदिएर त्याहाँको समस्या समाधान गरिदिनुपर्छ ।

अर्को मधेसी जनतामाथि अनावश्यक शंका राख्नु वाइयात हो । मण्डने राष्ट्रवाद र महेन्द्रपथले यो देशलाई मजबुत गर्दैन । आन्तरिक राष्ट्रियता जति मजबुत भयो, हाम्रो नेपाली राष्ट्रियता त्यति नै मजबुत हुँदै जान्छ । यो कुरालाई हामीले आत्मसाथ गर्नुपर्छ । माओवादीले आत्मसाथ गरिसकेको छ ।

जुन ब्यक्तिको नेतृत्वमा चार दर्जन जति मान्छे शहादत भए । तिनैलाई उहाँहरुले भोट हाल्न लगाउनु भयो । कम्युनिष्टहरुको विरुद्धमा उहाँहरु एउटा प्रचार अभियान चलाउनुभएको छ । उहाँहरुको मधेस मुक्तिको अभियानमा लाग्नु भएको छ या मधेसका मजदुर किसानहरुको विरुद्धमा लाग्नुभएको छ । कम्युनिष्टहरुका विरुद्धमा उहाँहरुले सुशील कोइरालासँग रातारात घाँटी जोड्नु भयो । माओवादी फुट्दैछ भन्ने हल्ला चलेर नै उहाँहरु उत्साहित हुनुभएको थियो ।

मधेस आन्दोलनलाई सम्बोधन गर्न र निकास दिन सम्भव देख्नुहुन्छ ?

मधेस आन्दोलनलाई सम्बोधन गरी निकास दिन सम्भव छ । अहिले आन्दोलनरत दलका नेता अथवा मोर्चाका नेताहरुले सीमांकनको विषयलाई नै मुख्य बटमलाइन बनाउनुभएको छ । सीमाकंनको विषय मिल्यो भने सबैकुरा मिल्छ । तर संविधानमा हामीले धेरै कुराहरु समृद्ध र परिस्कृत गर्दै जानुपर्छ ।

अहिले पनि शासकीय वर्ग ज्ञान र प्रवृत्ति त्याग्न यो देशको ठूला दुई वटा दल तयार हुनुपर्छ । त्यो भयो भने तुरुन्त निकास निस्किन्छ । त्यो कुरा भएन भने उहाँहरुमाथि धेरै कुरा भर पर्छ । यी मुद्दाहरु हाम्रै मुद्दाहरु भएकाले एकीकृत माओवादी तयार छ । यी पसिनाले स्थापित भएका मुद्दा हुन् । हामीलाई ती मुद्दामा माया छ । त्यसैले मधेसी जनता आन्दोलनमा आइरहँदा हामी त्यहाँ पनि हुन्छौं, अर्कोतर्फ संविधान कार्यान्वयनको चरणमा हामी तपाईँलाई यहाँ पनि भेट्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?