५ जेठ, कञ्चनपुर । पदीय मर्यादा विपरित आफ्ना अभिव्यक्तिहरु सामाजिक सञ्जालबाट लगातार सार्वजनिक गरेको भन्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार दीजराज भट्टविरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् ।
मंगलबारदेखि आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले बुधबार रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले विश्वविद्यालय परिसरभित्रै रजिष्ट्रार भट्टको पुतला पनि दहन गरे ।
भट्टले फेसबुकमा प्रमुख सत्तारुढ नेकपा एमालेको समर्थन र अन्य दलहरुको विरोधमा स्टाटस लेखेका छन् । भट्टले लेखेका छन्, ‘अब चुनाव भए एमालेले बहुमत ल्याउँछ । नेपालीको स्वाभिमान गिराउने भारतीय दलाल नक्कली क्रान्तिकारी पराजित हुनेछन् ।’
‘पदीय मर्यादा बिर्सेर फेसबुक र ट्वीटरमा जथाभाबी लेखेकाले हामीले ध्यानाकर्षण गराएका थियौं, तर उहाँले अटेर गरेपछि आन्दोलनमै जान बाध्य भयौं,’ अखिल क्रान्तिकारीका नेता नवराज ऐरले भने ।
बर्खास्त गर्न माग
विद्यार्थी संगठनहरुले तीन दिनभित्र नैतिकताको आधारमा रजिष्ट्रार भट्टको राजिनामा माग गर्दै विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएका छन् । शिक्षा मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई बोधार्थ लेखिएको ज्ञापनपत्रमा नैतिकताले राजीनामा नदिए सात दिन भित्र बर्खास्त गरिनुपर्ने र त्यसो पनि नभए जुनसुुकै कदम चाल्ने चेतावनी दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै विश्वविद्यालयका उपकुलपति डा. भुषण श्रेष्ठले विद्यार्थीहरुको आन्दोलन जायज भएको भन्दै ज्ञापन शिक्षा मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी दिए ।
विश्वविद्यालय राजनीति गर्ने थलो नभएर हजारौं विद्यार्थीको रगत पसिना र बलिदानीले स्थापना भएको सुदूरपश्चिमको गौरव भएकाले जथाभावि गर्नेहरुविरुद्ध चुप लागेर नबस्ने नेविसंघका प्रकाश थापाले बताए ।
‘विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाउने चेष्टा कसैले पनि नगरोस्,’ थापाले भने, ‘हाम्रा माग सुनुवाई नभए जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौं ।’
विद्यार्थीको विरोधप्रति भट्टद्वारा दुःख व्यक्त
विद्यार्थीहरुको विरोधप्रति भट्टले दुःख व्यक्त गरेका छन् र सबै नेताहरुप्रति आफ्नो सम्मान रहेको बताएका छन् । उनले आफ्ना स्टाटसहरुलाई अतिरञ्जित बनाइएको दाबी समेत गरेका छन् ।
‘मेरा स्टाटसहरुलाई लिएर अतिरञ्जित गर्ने कुराले मलाई दुःख लागेको छ । मेरो कसैप्रति दुराग्रह नरहेको र राष्ट्रका सबै नेताहरु, पार्टीहरु र देशप्रति उच्च सम्मान रहेको जानकारी गराउँदछु ।’