९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावप्रति नेकपा मालेले समर्थन जनाएको छ ।
नेकपा मालेका महासचिव सीपी मैनालीले कार्कीको नियुक्ति नै जनभावना विपरीत भएको भन्दै त्यसलाई सच्याउने मौका अहिले आएको बताए ।
संसदमा जारी छलफलमा बोल्दै महासचिव मैनालीले भने, ‘यो आउनैपर्ने प्रस्ताव थियो, हामी खुशी छौं । प्रस्तावमा नेकपा मालेको पूर्ण समर्थन रहन्छ ।’
जनआन्दोलनको बेला दमनकारी आचरण देखाएका कार्कीको नियुक्ति विवादास्पद पृष्ठभूमिमा भएको मैनालीले उल्लेख गरे । अहिले महाभियोग ल्याउने दलहरुकै सिफारिसमा कार्कीको नियुक्ति भएको सन्दर्भ कोट्याउँदै उनले भने, ‘त्यतिबेला गरेको गल्ती सच्याउने र पश्चाताप गर्ने मौका अहिले आएको छ ।’
प्रस्तावमा समर्थन जनाउनुको अर्थ आफ्नो पार्टीले आयोग कमजोर होस भन्ने नचाहेको उनले प्रष्ट पारे । अन्य विषयलाई ढाकछोप गर्ने गरी महाअभियोग प्रस्ताव आएको भन्ने आफूलाई नलागेको मैनालीको भनाइ छ ।
प्रतिक्रिया 4