
२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेर संविधान संशोधनबारे छलफल गरेका छन् । तर, विपक्षी दल एमालेले अझै संविधान संशोधनमा सहयोग गर्ने संकेत दिएन ।
सभामुख ओनसरी घर्तीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच झण्डै ४० मिनेट भेटवार्ता भएको छ । दुई नेताबीच संविधान संशोधनबारे छलफल भए पनि ठोस सहमति हुन सकेन ।
छिट्टै संविधान संशोधन विधेयक दर्ता गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले सहयोगका लागि आग्रह गरेका छन् ।
ओलीले भने सकारात्मक देखिएका छैनन् । ओलीले भेटपछि सञ्चारकर्मीहरुलाई भने, संविधान संशोधन केमा, केका लागि, किन गर्ने थाहा पाएको छैन मैले ।’
प्रचण्डले केही प्रस्ताव राख्नुभएन ? सञ्चारकर्मीहरुको प्रश्नमा ओलीले अस्वीकृतिको संकेत गर्दै मुन्टो हल्लाए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने दुई नेताबीच सकारात्मक कुराकानी भएको बताएका छन् ।
एमाले अध्यक्ष ओलीसँँग छलफल गर्नुअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस र आफ्नै पार्टीका नेताहरुसँग छुट्टा-छुट्टै छलफल गरेका थिए । तर, ठोस प्रस्ताव बन्न सकेको छैन ।
प्रतिक्रिया 4