Comments Add Comment

रोजको फिल्म छाडेर भागे बलिउड निर्देशक, १६ दिनको दृश्य पनि डिलेट गरिदिए



निर्माता रोज राणाले निर्माण गरिरहेको चलचित्र ‘मेरो पैसा खोई’को चर्चा छायांकन अगाडिबाट नै खुबै थियो । कारण, यो चलचित्रमा ‘भूतनाथ’ जस्तो बलिउड चलचित्र निर्देशन गरेका विवेक शर्मा निर्देशक थिए ।

चलचित्रमा जुहि चावला, राजपाल यादव, संजय मिश्रा र विजय राज लगायतका बलिउडका कलाकारले काम गर्ने चर्चा पनि थियो । चलचित्रको छायांकन करिब १६ दिनसम्म पनि भैसकेको थियो । तर, छायांकन भएका सबै दृश्य डिलेट गरेर निर्देशक शर्मा भागेको निर्माता रोज राणाले जानकारी दिएका छन् । यतिबेला, भकुण्डेवेसीमा निर्देशक रोज राणाले नै यो चलचित्रको निर्देशन गरिरहेका छन् । उनले भने-‘निर्देशकले खिचिएका सबै दृश्य डिलेट गरेर भागेपछि म आफै निर्देशनमा तयार भएको हुँ । ‘मेरो पैसा खोई’ नाम राखेर नयाँ कथामा चलचित्रको छायांकन सुरु भएको छ ।’

रोजले यो लफडाको बिषयमा अनलाइनखबरसँग गरेको कुराकानी उनकै शब्दमाः
छायांकन सुरु हुनुभन्दा अगाडि विवेक ३ पटकसम्म नेपाल आएका थिए । उनले, चलचित्रमा राजपाल यादव, जुहि चावला, संजय मिश्रा, विजय राज जस्ता कलाकारलाई खेलाउने समेत भनेका थिए । कलाकारको पारिश्रमिक स्वरुप, उनी भारत रहँदा २५ लाख आइसी समेत मैले पठाएको थिएँ ।

उनी चौथो पटक नेपाल आएर चलचित्रको छायांकन सुरु गरे । मैले, छायांकन सुरु भएको केहि दिनपछि उनलाई बलिउड कलाकार कहिले आउँछन् भनेर सोधेँ । तर, उनले आउँछन् मात्र भनेर जवाफ दिन्थे । चलचित्रको छायांकन सुरु भएको १६ दिनपछि भने उनले छायांकार हरि लामालाई नै हटाउनुपर्ने भन्न थाले । १६ दिनसम्म हरिको काम मनपर्ने, त्यसपछि मननपर्ने भन्ने नि हुन्छ ? यसपछि, उनले दैनिक कोहि न कोहि हटाउनुपर्ने भन्न थाले । कहिले, छायांकार, कहिले प्रोडक्शन, कहिले ड्रेसम्यान, कहिले स्पर्टकै मान्छेलाई समेत निकाल्नु पर्‍यो, नत्र म काम नै गर्दिन भन्न थाले । उसँग एउटी यूवती पनि थिइन् ।

उनले सुटिङको समयमा सो यूवतीलाई यूनिटका मानिसहरुले हेरेको भन्दै घुर्की लगाउन थाले । मैले उनलाई कि सुटिङमा केटी नल्याउ, ल्याएपछि त हेरिहाल्छन् नि भनेर जवाफ दिएँ । पछि, दोलालघाटमा छायांकन हुँदै गर्दा माथि उल्लेखित टिमका मान्छे निकालिनस् भने काम नै गर्दिन भनेर काम छाडेछ । मलाई प्रोडक्शनको भाइले फोन गरेपछि, म दोलालघाट जान तयार भए । म पुग्दा उनी भागिसकेका रहेछन् ।

१६ दिनसम्म खिचिएका सबै दृश्य डिलेट गरेर विवेक शर्मा भागेछन् । अहिले, हामीले यहि नाममा नयाँ कथामा चलचित्र बनाइरहेका छौ । सौगात मल्ल, बर्षा राउत,  वुद्धि तामाङ, रविन तामाङ, जोगेन्द्र पानवाला, छुल्ठिम गुरुङलाई लिएर मैले छायांकन सुरु गरेको छु । अझै, केहि पुराना नायकलाई पनि चलचित्रमा अनुवन्धित गर्ने काम भैरहेको छ ।

टिमका सबै यूनिटले पनि निकै दुःख दिएको गुनासो गरेका छन् । बलिउडमा पनि एक चलचित्रको छायांकनका समयमा बासु भंगानीले धेरै दुःख दिएपछि उसलाई झापड हानेर निकालेका थिए । उसको व्यवहार नै, खराब रहेछ ।

रोजले निर्देशकको बदमासीका कारण आफ्नो ५० लाखको लगानी त्यसै खेर गएको समेत बताए । रोजले यस अगाडि ‘जय पर्शुराम’ निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment