५ बैशाख, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विधानमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र भन्ने प्रावधान निर्वाचन आयोगले हटाएका विषयमा देशभरका स्थानीय तहमा विरोध सभा गरेको छ ।
राप्रपाको काठमाडौ महानगर समितिले रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजना गरेको विरोधसभामा नेताहरुले पार्टीको आदर्शलाई नै प्रभावित हुने गरी निर्वाचन आयोगलाई आफूले गरेको निर्णय सच्याउन आग्रह गरे ।
पार्टीका उपाध्यक्ष टङ्क ढकाल, पार्टीका प्रवक्ता भुवन पाठक, राप्रपा काठमाडौँ महानगर समितिका अध्यक्ष कृष्ण वज्राचार्य, नेता राजाराम श्रेष्ठ लगायतले लोकतन्त्रमा सबैको वैचारिक स्वतन्त्रता सुरक्षित हुने बताउँदै सबै दलका फरक फरक विचार आवधिक निर्वाचनमार्फत जनतामा गएर टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।
उनीहरूले आयोगले गरेको निर्णय वैधानिक नरहेको भन्दै समयमा नसच्याएमा स्थानीय निर्वाचन प्रभावित हुन सक्ने चेतावनी दिए ।
आयोगले गत चैत ४ गते गरेको सो निर्णय संविधान र आफ्नो पार्टीको सिद्धान्त प्रतिकूल भएको भन्दै राप्रपाले विरोधका कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस
प्रतिक्रिया 4