काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काव्य ‘भरियाको भूगोल’ सार्वजनिक भएको छ ।
शुक्रबार कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा आयोजित सांगीतिक तथा काव्यिक जमघटमा कृति सार्वजनिक गरियो । अधिकारीले कवि श्रवण मुकारुङलाई पुस्तकको एक प्रति उपहार दिँदै कृति सार्वजनिक भएको जनाएका थिए ।
कवि मुकारुङले अग्रज कविको पुस्तक यसरी ग्रहण गर्दाको सुखद अप्ठेरोपन व्यक्त गर्दै पुरानो समय सम्झिए, ‘हाम्रो पुस्ताले कविता लेख्न सुरु गर्दा लेख्न सिक्ने ठूलो स्कूलमध्ये दिनेश दाइ पनि हुनुहुन्थ्यो । त्यतिबेलाका कविहरुमध्ये गद्य कवितामा उहाँकै नाम अगाडि आउँछ ।’
अग्रज कविलाई गीतकारको परिचयले अझ बढी चिनाएको मुकारुङको भनाइ थियो ।
यसरी गीतकारका रुपमा धेरैले चिन्ने गरेको सर्जक उपस्थित रहेको कार्यक्रम सांगीतिक नहुने कुरै थिएन । त्यसमाथि तीन वर्षदेखि स्थगित रहेको नेपालयको पलेँटी शृंखला फेरि सुरु हुन लाग्दा अधिकारीले लेखेका गीतहरु गुञ्जाउन गायक–गायिका र वाद्यवादनको टोली तम्तयार नै थिए ।
चालीसको दशकमा नारायणगोपालले गाएका ‘यो सम्झिने मन छ’ बाट कार्यक्रमको दैलो उघारियो । पछिल्लो समय ‘ठमेल बजार’ गीतबाट चर्चामा उक्लिएकी पलेँटीकी पुरानो गायिका मिनाले उक्त गीत सुनाएकी थिइन् ।
‘नारायण दाइको अनुरोध अनुसार ०४१ सालमा बैतडीबाट यो गीत पठाएको थिएँ,’ रचनागर्भ खोतल्दै अधिकारीले भने, ‘सरुवा भएर ०४४ सालमा कलैया पुग्दा दाइले पठाइदिनुभएको अडियो चक्का सुनेर निकै रमाएँ ।’
त्यसपछि भक्तराज आचार्यको स्वरमा सजिएको ‘जीवन भन्नु त घात छ’लाई गायक योगेन्द्रले पस्किए ।
त्यसपछि तारादेवीले गाएको ‘सोचेजस्तो हुन्न जीवन’ सुनाइयो । प्रस्तुत गरिएका हरेक गीतको सन्दर्भमा आफ्ना कुरा सुनाउने क्रममा गीतकार अधिकारीले त्यतिबेलाको रेडियो नेपाल र संगीतकार नातिकाजीलाई पनि सम्झेका थिए ।
नारायणगोपालले अधिकारीका गीत पछिल्लो समयको ‘गीतियात्रा’ मा मात्र होइन, त्यसअघिको ‘ब्लू नोट्स’ का निम्ति पनि गाएका थिए । रत्न रेकर्डिङ संस्थानको त्यही एल्बमको ‘तिमी जुन रहरले ममा फुल्न आयौ’ गुञ्जिने क्रममा अधिकारीले यो गीत ०३४ सालमा लेखेको जीवनकै पहिलो गीत भएको सन्दर्भ जोड्दै रचनागर्भ पनि सुनाए ।
यस क्रममा उनले नारायणगोपाल र संगीतकार दिव्य खालिङको मित्रता र खटपट यो गीतले कसरी झेलेको थियो भन्ने रोचक घटना पनि सम्झेका थिए ।
कार्यक्रममा अधिकारीको रचना र रविन शर्माको स्वरमा कुनै समयको अत्यधिक चर्चित गीत ‘तिमी यसै लजायौ’ र फिल्मको निम्ति अधिकारीले लेखेका ‘बोल बोल पाखाहरु’ समेत सुनाइएको थियो ।
अधिकारी लिखित गीतहरु प्रस्तुत गर्ने कार्यक्रमको पहिलो भागको अन्त्य भने ‘पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ’ बाट गरिएको थियो ।
दोस्रो भागमा अधिकारीले काव्य सार्वजनिक गरेपछि केही कविता वाचन पनि गरेका थिए ।
कार्यक्रमको तेस्रो भागमा पलेँटीका प्रस्तोता एवं गायक तथा संगीतकार आभासले ‘भरियाको भूगोल’ को काव्यांशसहित सोही कृतिकै विषयवस्तुमा आधारित अधिकारीको नयाँ गीत सुनाएका थिए ।
आभासले यो कार्यक्रमसँगै पलेँटीको फेरि सुरुवात भएको घोषणा गर्न पाउँदा खुशी लागेको बताए । साथै उनले आगामी महिना पलेँटीमा गायक विधान श्रेष्ठ प्रस्तुत हुने जानकारी समेत गराए ।
प्रतिक्रिया 4