 
																			७ असोज, काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीकाे पैसा गाेर्खा मिडिया मार्फत लामिछानेले दुरुपयाेग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयकाे गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चाेककाे चाैतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।
सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता–कार्यकर्ता आमने-सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रशासन तथा शहीद चाेक आसपासमा सुरक्षाकर्मी खटाइएकाे छ ।
विभिन्न सहकारीमा भएकाे अपचलनबारे छानबिन गर्न बनेकाे विशेष संसदीय समितिकाे सिफारिस र गृहमन्त्री रमेश लेखककाे निर्देशनपछि आइतबार गाेर्खा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डीआईजी छविलाल जाेशीलाई पक्राउ परेर पाेखरा ल्याइएकाे छ । जाेशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।
जाेशीलाई अदालत उपस्थित गराउने जानकारीसँगै सहकारी पीडित अदालत गेट बाहिर भेला भएर नाराबाजी सहित प्रदर्शन गरेका हुन् भने रविलाई पनि पक्राउ गर्न पुर्जी जारी हुन लागेकाे भन्दै रास्वपा नेता कार्यकर्ता शहीद चाेककाे चाैतारामा भेला भएर प्रदर्शन गरेका छन् ।

अहिले सहकारी पीडितले बचतकर्तालाई मारेर सहकारीकाे पैसा गोर्खा मिडियामा गएकाे र त्यसलाई अपचलन गर्ने काम रविले गरेकाे बताएका छन् । रविकै संलग्नतामा रकम अपचलन भएकाे भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गाेर्खा मिडिया सहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।
झन्डै डेढ अर्ब अपचलन भएकाे सूर्यदर्शन सहकारीबाट गाेर्खा मिडियामा ५ कराेड रुपैयाँ देखिएकाे छ । सहकारीका अध्यक्ष जीबी राईलाई भगाउन पनि रविकै संलग्नता रहेकाे पीडित संघर्ष समिति संयाेजक किरण श्रेष्ठले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4