२४ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत र नेपाल भ्रमणमा रहेकी अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेतृ एवम् पूर्व सभामुख न्यान्सी पेलोसीबीच भेटवार्ता भएको छ । न्यान्सीलु परराष्ट्र मन्त्रालयमा डा. महतलाई भेटेकी हुन् ।
शिष्टाचार भेटमा नेपाल अमेरिका सम्बन्ध, दुई देशबीचको आपसी हित र अन्य द्विपक्षीय समसामयिक साझा विषयहरुमा कुराकानी भएको मन्त्री डा. महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।
भेटमा परराष्ट्रमन्त्री डा.महतले नेपालको वर्तमान समसामयिक राजनीति, आसन्न स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रिया र यसको सफलता एवम् नयाँ संविधानको घोषणा र कार्यान्वयनका बारेमा जानकारी गराएका थिए ।
मन्त्री डा. महतले अमेरिकामा रहेका नेपालीहरुको लागि अमेरिकी सरकारले प्रदान गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे । नेपालको आर्थिक, सामाजिक एवम् बृहत्तर क्षेत्रमा अमेरिकाले पुर्याउँदै आएको सहयोगप्रति अमेरिकी जनता र अमेरिकी सरकारलाई मन्त्री डा. महतले धन्यवाद ज्ञापन गरेका थिए ।
भेटमा अमेरिकी नेतृ न्यान्सी पेलोसीले नेपालको संविधानमा गरिएको महिला सहभागिता एवम् समावेशिताको व्यवस्थाको प्रसंशा गरिन् ।
साथै उनले नेपालमा जुनसकै सरकार आए पनि अमेरिकाले नेपाललाई पुर्याउँदै आएको सहयोग आगानी दिनहरुमा पनि निरन्तर रहने बताइन ।
प्रतिक्रिया 4