७ असोज, ललितपुर । सिङ्गापुरमा जन्मेर उतै भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् ।
जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रममार्फत ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन् ।
करिब ४५ सहभागीबाट उनी छनोट हुन सफल भएकी हुन् । क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरे ।
ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशा जेम्स उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ कि छात्र हुन् । उनको बुवा सिङ्गापुर प्रहरी भएकोले उनको बाल्यकाल सिङ्गापुरमै बित्यो । उनले सिङ्गापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन् । सन् २०२२ मा उनको बुवा सेवानिवृत्त भइसकेपछि उनी सहित सपरिवार नेपाल फर्किए ।
पहिलोपल्ट व्यावसायिक भलिबलतर्फ पाइला सार्दै गरेकी उनी उत्साहित साथै नर्भस भएको बताउँछिन् । ‘ठुलो प्रतियोगिताबाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु नै, साथै नर्भस पनि महसुस हुँदै छ,’ छनोट भएपछि ज्याक्युशाले भनिन्, ‘स्कुल हुँदा अतिरिक्त क्रियाकलाप (इसीए) मा भलिबल छनोट गरेर खेल्न थालें । भलिबललाई आफ्नो हबीको रुपमा मात्र अघि बढाएकी थिए, व्यावसायिक रुपमा नै खेल्छु भनेर कल्पना गरेकी थिएन । तर, अब अवसर प्राप्त भएको छ, यसको सदुपयोग गर्छु ।’
पाँच फिट ८ इन्च कद भएकी आउटसाइड हिटरको भूमिकामा खेल्छिन् ।
ज्याक्युशाको आगमन सँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ । क्लबले विदेशी खेलाडी पनि अनुबन्धन गरिसकेको छ । विदेशी खेलाडीको विवरण भने केही दिनमा सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया 4