७ असार, संखुवासभा । नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश इञ्चार्ज गोपाल किरातीले मतदाताहरुलाई खसीबोका जस्तो व्यवहार नगर्न आग्रह गरेका छन् ।
प्रथम चरणको चुनावमा एमाले र कांग्रेसले ‘खरीदविक्रीका जघन्य अपराध’ गरेको आरोप लगाउँदै यसलाई लोकतन्त्रको कल)कको संज्ञा दिएका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै किरातीले भनेका छन्- ‘प्रथम चरणको निर्वाचनमा एमाले र कांग्रेसद्वारा भएका खरिदविक्रीका जघन्य अपराधहरु लोकतन्त्रमा कलंक हुन् । इतिहासको निर्माता मतदातालाई खसीबोका तुल्याउने एमाले-कांग्रेसको जंगली हर्कत र त्यसैमा रमाउने मतदाता-प्रवृतिको कारण प्राप्त उपलब्धीको संस्थागत विकास एवं शान्तिपूर्ण रुपमा क्रान्तिकारी परिवर्तनलाई ठाडो चुनौति खडा गर्छ ।’
विगतमा ०४८ सालको चुनावमा यसैगरी तत्कालीन संयुक्त जनमोर्चालाई चुनाव हराउँदा विद्रोह भएको बताउँदै किरातीले वक्तव्यमा भनेका छन्- ‘०४८ को संसद निर्वाचनमा माओवादी समर्थित संयुक्त जनमोर्चालाई पराजित गराउँदा ०५२ मा सशस्त्र विद्रोहको झण्डा उठाउनुपरेको ऐतिहासिक तथ्य विशेष स्मरणीय छ ।’
पूर्वमन्त्री एवं माओवादी नेता किरातीले अगाडि भनेका छन्- ‘शान्तिपूर्ण राजनीतिमा अनेक हथकण्डा प्रयोग गरी उत्पीडित वर्ग, जाति, क्षेत्र र महिलालाई निरन्तर कमजोर तुल्याइन्छ भने महान लेनिनले जस्तै रक्तपातपूर्ण विद्रोहको झण्डा उठाउन सर्वहारावर्गलाई इतिहासको वाध्यता हुनेछ । त्यस्तो रक्तपातपूर्ण राजनीतिक परिस्थितिको जिम्मेवार एमाले-कांग्रेस नै हुनेछन् भन्ने कुरा बेलैमा स्मरण गराउन चाहान्छौं ।’
एक नम्बर प्रदेशका मतदाताले आफ्नो पार्टीलाई न्यया गर्ने विश्वास व्यक्त गर्दै किरातीले वक्तव्यमा भनेका छन्- ‘पूर्वको १३७ तह र ११५७ वडाका मतदाता समक्ष गोलाकारभित्रको हसियाँ हथौडा चिन्ह लिएर उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवारहरुलाई भारी मतले विजयी गराई शान्तिपूर्ण राजनीतिद्वारा क्रान्तिकारी परिर्वतनको जिम्मेवारी दिन हाम्रो प्रदेश पार्टी गम्भीर आव्हान गर्दछ ।’
किरातीले अगाडि भनेका छन्- ‘फेरि पनि गणतन्त्र, संघीयताको सिद्धान्त, समानुपातिक समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, स्वतन्त्र पराराष्ट्र नीति निर्धारण, शिक्षा, स्वास्थ्य, रोजगारीको मौलिक अधिकार र ऐतिहासिक स्थानीय तह सरकार कार्यान्वयनमा नेतृत्वदायी भुमिका खेलेको नेकपा (माओवादी केन्द्र) लाई पूर्वी नेपालका जनताले अवश्य न्याय गर्ने छन् ।’
चुनावी अभियानका क्रममा खाँदबारीमा रहेका किरातीले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका-२ का माओवादी केन्द्रको उम्मेदवार छिनाङ भोटेलाई उम्मेदवारी दर्ता गर्न हटिया केन्द्रतर्फ आउँदै गर्दा ‘एमालेको जत्था’ ले हत्या गरेको आरोप लगाएका छन् ।