Comments Add Comment

पोखराका ३ मिठाइ पसलमा गुणस्तरहीन तेल प्रयोग

१४ चैत, पोखरा । पोखराका विभिन्न मिठाइ पसलमा गुणस्तरहीन तेल प्रयोग गरी मिठाइ बनाउने गरेको भेटिएको छ ।

अनुगमनका क्रममा पोखराका ३ वटा मिठाइ पसलमा अखाद्य तेल प्रयोग गरी मिठाइ बनाउने गरेको भेटिएको हो ।

अखाद्य तेल प्रयोग गरी मिठाइ बनाउनेमा सृजनाचोकस्थित जयसवाल स्विट एन्ड फास्ट फुड, न्युरोडस्थित आँगन र महेन्द्रपुलस्थित न्यू मारवाडी सेवा भोजनालय छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्की र उपभोक्ता मञ्च कास्कीले संयुक्त रुपमा मिठाइ पसल र डेरी उद्योगका अनुगमन गरेका हुन् ।

ती पसलले एउटै तेलमा खानेकुरा पटकपटक फ्राइ गरेको मानव स्वास्थ्यलाई हानी गर्ने गुणस्तरहीन तेल प्रयोग गरिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । टोलीले नमूनाका रुपमा तेल संकलन गरी तत्काल जाँच गर्दा गुणस्तरहीन रहेको तथ्य खुलेको थियो ।

अनुगमन टोलीले गुणस्तरहीन तेल र उक्त तेल प्रयोग गरी बनाइएका खानेकुरा नष्ट गरेको छ । ‘अघिल्लो दिन प्रयोग गरेको तेल पछि प्रयोग गर्नुु स्वस्थकर हुँदैन । तर, व्यवसायीले एउटै तेल पटकपटक प्रयोग गरेको पाइयो,’ उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले भने ।

कोइरालाले पसलका भान्सासमेत समेत व्यवस्थित नभएको र एउटै कोठामा भान्सा, खाद्यान्न संग्रह, भाँडा माझ्ने ठाँउ, फोहर फाल्ने गरेको भेटिएको जानकारी दिए । उनले भने, ‘ती ३ वटा मिठाइ पसललाई हामीले देखिएका सबै समस्या तत्काल सुधार गर्न निर्देशन दिँदै पत्र काटेका छौं ।’

अनुगमनकै क्रममा अनमोल दूध सप्लायर्स र लवकुश डेरीले समेत सरसफाइमा ध्यान नदिएको पाइएकाले सुधार गर्न पत्र काटिएको टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment