युरोपियन मुलुक कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराधमा २५ वर्षको जेल सजाय सुनाइएको छ । नेदरल्यान्ड्सको हेगस्थित कोसोभो स्पेसलिस्ट चेम्बर्स (केएससी) ले पूर्वराष्ट्रपति थाचीलाई सर्बियाबाट स्वतन्त्रताका लागि भएको युद्धका क्रममा गरिएका युद्ध अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको हो ।
५८ वर्षीय थाचीलाई हत्या, यातना र गैरकानुनी रूपमा थुनामा राख्नेलगायतका अपराधमा बुधबार यस्तो सजाय सुनाइएको हो ।
उनले सन् १९९० को दशकमा सर्बियाबाट कोसोभो अलग हुने क्रममा जातीय अल्बानियालीहरूको कोसोभो लिबरेसन आर्मी (केएलए) का शीर्ष कमान्डरका रूपमा भूमिका निर्वाह गरेका थिए ।
नेदरल्यान्ड्सको हेगस्थित कोसोभो स्पेसलिस्ट चेम्बर्स (केएससी) ले द्वन्द्वका क्रममा केएलएले राजनीतिक विरोधी तथा सर्बियाली सुरक्षा बलसँग सहकार्य गरेको आरोप लागेका ९६ जनाको हत्यामा थाची दोषी रहेको जनाएको छ ।
थाचीले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् । थाचीले अध्यक्ष न्यायाधीश चार्ल्स स्मिथले सजाय सुनाउँदा मौन बसेका थिए ।
केएलएका अन्य तीन पूर्ववरिष्ठ कमान्डरलाई पनि विभिन्न अभियोगमा सजाय सुनाइएको छ । जाकुप क्रास्निकीलाई २५ वर्ष, कद्री भेसेलीलाई हिरासतमा बिताएको समयसमेत जोडेर १८ वर्ष र रेक्सेप सेलिमीलाई हिरासतमा बिताएको समयसमेत जोडेर १३ वर्षको जेल सजाय सुनाइएको छ ।
अदालतको फैसलाविरुद्ध उनीहरूले पुनरावेदन गर्न पाउनेछन् ।
अदालतले मानवताविरुद्धका अपराधका थप ६ अभियोगमा भने चारै जनालाई सफाइ दिएको छ । ती अपराध नागरिकमाथि व्यापक र योजनाबद्ध आक्रमणको हिस्सा भएको प्रमाणित गर्न अभियोजन पक्ष असफल भएको न्यायाधीशहरूले बताएका छन् ।
मुद्दाको कारण के हो ?
कोसोभोमा यो मुद्दा लामो समयदेखि विवादित रहँदै आएको छ । सन् १९९८–९९ को स्वतन्त्रता युद्धमा भूमिकाका कारण धेरै कोसोभो अल्बानियालीले केएलए र थाचीलाई सम्मानित व्यक्तिका रूपमा हेर्छन् ।
कोसोभोको राजधानी प्रिस्टिनामा हजारौँ मानिसले ठूलो पर्दामार्फत फैसलाको प्रत्यक्ष प्रसारण हेरेका थिए । फैसला सुनेपछि केहीले केएलए र थाचीको समर्थनमा नारासमेत लगाएका थिए ।
थाचीलाई कोसोभोका धेरै अल्बानियालीले पूर्वराष्ट्रपतिका रूपमा मात्र नभई कोसोभोको स्वतन्त्रताको प्रतीकका रूपमा समेत हेर्ने गर्दछन् ।
केएलए सन् १९९० को मध्यतिर अस्तित्वमा आएको थियो । सन् १९९७ र १९९८ मा उसका सशस्त्र गतिविधि तीव्र भएका थिए । त्यसको जवाफमा सर्बियाली सेनाले ठूला प्रहरी तथा सैन्य कारबाही सञ्चालन गरेपछि सन् १९९९ मा पूर्ण युद्धको अवस्था सिर्जना भएको थियो ।
उक्त युद्धमा अनुमानित १३ हजार मानिस मारिएका थिए भने लाखौँ मानिस विस्थापित भएका थिए ।
युद्धका क्रममा थाची केएलएको राजनीतिक तथा सूचना निर्देशनालयका प्रमुखमध्ये एक थिए । युद्ध समाप्त भएपछि उनी कोसोभोका प्रधानमन्त्री र विदेशमन्त्री बने । त्यसपछि सन् २०१६ देखि २०२० सम्म राष्ट्रपति पदमा रहे ।
सन् २०२० को नोभेम्बरमा अदालतले उनीविरुद्ध अभियोग लगाएपछि थाचीले राष्ट्रपतिबाट राजीनामा दिएका थिए । त्यसै वर्षको नोभेम्बरमा उनलाई र दोषी ठहर भएका अन्य कमान्डरलाई हेगस्थित हिरासतमा लगिएको थियो ।
त्यसयता कोसोभोमा स्थिर सरकार बन्न सकेको छैन । स्थिर सरकार गठन गर्ने र युरोपेली संघसँग सम्बन्ध थप नजिक बनाउने प्रयासमा कोसोभोमा पटक–पटक निर्वाचन भए पनि सरकार गठनमा अवरोध हुँदै आएको छ ।
यो फैसलाले कोसोभोको राजनीतिक स्थायित्वतर्फको बाटोमा थप चुनौती सिर्जना गर्न सक्ने आशंका व्यक्त भएका छन् । –अलजजीराबाट
प्रतिक्रिया 4