+
+

फेवा किनारमा चैत २९ देखि नयाँ वर्ष उत्सव

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १९:३७

१४ चैत, पोखरा । पोखरा उत्सव मनाउँछ । भर्खरै होलीमा मनाएको उत्सवको रङ पखालेको पोखराले । कहिले अंग्रेजी नयाँ वर्षको उत्सव त कहिले साहित्यको उत्सव मनाउँछ । फेरि अब पोखरा नेपाली नयाँ वर्षको उत्सवको तयारीमा छ ।

नेपाली नयाँ वर्ष होस् या अंग्रेजी नयाँ वर्ष फेवा आँगनमा हजारौं पाहुना आउँछन् र गर्छ पोखराले सेलिब्रेसन । नेपाली नयाँ वर्षको अवसरमा फेवा किनारामा हुन लागेको यो, उत्सव १६ औं संस्करणको हो । फेवा नव वर्ष महोत्सव नाम दिएर फेवा आँगनमा पाहुना बोलाउने चाँजो मिलाउने संस्था हो, पश्चिमाञ्चल होटल संघ पोखरा ।

संघले गर्ने मेलामा नेपाली संस्कृति, खाना र संगीतको उत्सव लाग्छ । गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई केन्द्रमा राखेर संघले यसपटक फेवा किनार कोमागाने पार्कमा महोत्सव गर्दैछ । चैत २९ देखि बैशाख १ गतेसम्म महोत्सव चल्ने छ । यतिबेला संघले नयाँ वर्ष मनाउन पोखरा आउन निम्ता बाँडिरहेको छ ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्दै पर्यटन विकास गर्ने अभियानमा संघ लागिरहेको अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

‘महोत्सवमा देश विदेशमा प्रवर्द्धनका लागि छानिएका विभिन्न २५ खानाको प्रस्तुति र विक्रीवितरण हुने छ । गण्डकी प्रदेशका विभिन्न चार प्रकारका खानालाई प्रस्तुत गरिने छ,’ अध्यक्ष विकलले भने, ‘सेफ एसोसिएसनसँग मिलेर देशविदेशका खानाका परिकार पस्किइनेछ ।’

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले अहिले पोखराका होटलको अकुपेन्सी उत्साहप्रद नभएको भन्दै महोत्सवले केही रुपमा भए पनि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । नेपाली मौलिक संस्कृति र नेपाली खानालाई प्रवद्र्धन गर्दै महोत्सवलाई यसपटक नयाँ ढंगले सञ्चालन गर्न लागिएको पराजुलीले सुनाए ।

महोत्सवको झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ, तृतीयले २० हजार रुपैयाँ र सान्त्वनाले १० हजार रुपैयाँ प्रदान गरिने छ ।
आमा समूहबीचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।

नृत्य प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ पाउने छन् । द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ व्यवस्था गरिएको संघका महासचिव एवं प्रचार प्रमुख गणेशराज पहारीले जानकारी दिए । डुंगा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

दिन–प्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ । महोत्सवमा पर्यटक दौड, डुंगा दौड, लोक दोहोरीका कार्यक्रम, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण पनि हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?