अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डबारे अमेरिका र डेनमार्कबीच एउटा सम्झौता भइसकेको दाबी गरेका छन् । सम्झौताअनुसार अब ग्रीनल्यान्डको सुरक्षामाथि अमेरिकालाई स्थायी नियन्त्रण हुने उनको दाबी छ ।
‘संयुक्त राज्य अमेरिका, डेनमार्कको अधिराज्य र ग्रीनल्यान्डबीच एउटा सम्झौता भएको छ, जसले ग्रीनल्यान्डको सुरक्षा र अन्य सबै आवश्यकतामाथि अमेरिकालाई स्थायी नियन्त्रण दिन्छ,’ ट्रम्पले ट्रूथ सोसलमा लेखेका छन्, ‘यसले हाम्रा धेरै अमेरिकी चासोलाई पूर्ण रूपमा सम्बोधन गर्छ । अमेरिकालाई यसको कुनै लागत पर्ने छैन ।’
यसअघि ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्र ग्रीनल्यान्डलाई अमेरिकाले कब्जा गर्ने धम्की दिँदै आएका थिए । ट्रम्पको उक्त धम्कीबारे अन्य नेटो राष्ट्रहरूले कडा विरोध गरेका थिए ।
सामूहिक सुरक्षाको अवधारणामा स्थापना भएको नेटोको सदस्य डेनमार्क पनि हो । ट्रम्पले ग्रीनल्यान्डको रक्षा र त्यहाँ रहेका खनिज स्रोतका दृष्टिले महत्वपूर्ण रहेको बताउँदै त्यो अमेरिकाले कब्जा गर्ने बताउँदैआएका थिए ।
ट्रम्पले डेनमार्कसँगको यो सम्झौतालाई अनन्तकालसम्मका लागि भनेका छन् । सम्झौताअनुसार ग्रीनल्यान्ड डेनमार्ककै नियन्त्रणमा रहने पनि उनले बताएका छन् ।
सन् १९५१ मा अमेरिका र डेनमार्कबीच भएको एउटा सम्झौताले ग्रीनल्यान्डमा अमेरिकालाई व्यापक सैन्य उपस्थितिको अनुमति दिएको थियो । नयाँ सम्झौता उक्त पुरानो सम्झौताभन्दा कति फरक छ भन्ने अझै स्पष्ट छैन ।
‘अबदेखि कुनै पनि अमेरिकी प्रतिद्वन्द्वीले हाम्रो स्पष्ट लिखित स्वीकृतिबिना ग्रीनल्यान्डमा कहिल्यै आधार, सैन्य उपस्थिति वा संवेदनशील क्षेत्रमा लगानी गर्न सक्ने छैन,’ ट्रम्पले भनेका छन् ।
अब अमेरिकाले त्यहाँ तत्कालै ठूलो सैन्य उपस्थिति बढाउने र डेनमार्कको अधीनमा रहेका ग्रीनल्यान्डका जनतासँग त्यहाँको विकास–निर्माणमा सहकार्य गर्ने पनि ट्रम्पले बताएका छन् ।
डेनमार्कको पुष्टि
डेनमार्कको प्रधानमन्त्री कार्यालयले ग्रीनल्यान्डबारे अमेरिकासँग सम्झौता भएको पुष्टि गरेको छ । ‘आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा सुदृढ सुरक्षा’ सम्बन्धी सम्झौतामा अर्को साता संयुक्त राष्ट्रसंघको महासभाका क्रममा हस्ताक्षर हुनसक्ने डेनमार्कको प्रधानमन्त्री कार्यालयले प्रतिक्रिया दिएको छ ।
यसबारे डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि सम्झौताबारे खुसी व्यक्त गरिन् । ‘ग्रीनल्यान्ड, डेनमार्क अधिराज्य र अमेरिकाका लागि एउटा ठूलो सम्झौता गर्न लागिएकोमा म खुसी छु’, उनले भनेकी छन् । उनले यो सम्झौता नेटो र युरोपका लागि पनि राम्रो हुने बताएकी छन् ।
प्रतिक्रिया 4