+
+
Shares

शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको हामी पीडित बन्नु हुँदैन : विद्या भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाका कारण नेपालले जलवायु र वातावरणीय समस्याको मार खेप्न नहुने बताइन्।
  • शनिबार काठमाडौंमा उनले विकास र प्रविधिमा ठूलो खर्च भए पनि जलवायु न्यूनीकरण र संरक्षणमा पर्याप्त लगानी नभएको भन्दै प्रश्न उठाइन्।
  • उनले हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा बलियो बनाउन इसिमोडको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।

३ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएकी छिन् ।

शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको टिप्पणी गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनीकरण तथा संरक्षणका लागि शक्ति राष्ट्रहरूले गर्ने खर्च र उनीहरूले गर्ने विकासको स्तरबीचको सम्बन्धबारे प्रश्न उठाइन् ।

जलवायु परिवर्तनको असरमा वर्गीयता समेत प्रकट भएको बताउँदै उनले हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठाउन इसिमोड जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

‘शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको हामी पीडित बन्नु हुँदैन । तर जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति हेर्दा संसार वर्गीय रहेछ भन्ने देखिन्छ । शक्ति राष्ट्रहरूले विकास र प्रविधिमा ठूलो खर्च गरे पनि जलवायु परिवर्तनबाट हुने असर न्युनिकरण र संरक्षणमा त्यहीअनुसार लगानी भएको देखिँदैन,’ उनले भनिन् ।

संयुक्त राष्ट्रसंघमा शक्तिशाली राष्ट्रहरूको प्रभाव बढी हुने र नेपालजस्ता मुलुकसँग त्यस्तो प्रभावकारी शक्ति नरहेको उल्लेख गर्दै उनले सामूहिक रूपमा आवाज उठाउनुपर्ने बताइन्  ।

हिमाल तथा पहाडी क्षेत्र कमजोर बन्दै गएको विषय आजको मात्रै नभई लामो समयदेखि देखिँदै आएको समस्या भएको बताइन् । हिमाल तथा पहाडको संरक्षणका लागि त्यसअनुसारको नीति र कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिइन् ।

विद्युत् अभाव हुँदा कोइला प्रयोग गर्ने, यातायातका लागि पेट्रोलियम पदार्थमा निर्भर हुनेलगायतका गतिविधिले वातावरणमा थप असर पारिरहेको उनले बताइन् ।

‘हिन्दकुश क्षेत्रका राष्ट्रहरूको आवाज संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठ्नुपर्छ । हाम्रो भिटो छैन, हाम्रो आर्थिक र राजनीतिक शक्ति पनि सीमित छ। त्यसैले सामूहिक रूपमा आवाज उठाउनु आवश्यक छ ,’ उनले भनिन्, ‘हाम्रा पहाड र हिमाल कमजोर हुँदै गएको विषय आजको मात्र होइन, धेरै अघिदेखि उठ्दै आएको हो । मानव सिर्जित समस्याले यसलाई थप जटिल बनाएको छ । विकास र प्रविधिको नकारात्मक प्रभाव पनि यसमा जोडिएको छ । त्यसैले हिमाल, पहाड र समग्र पर्यावरण संरक्षणका लागि आवश्यक लगानी र नीति निर्माण गर्नुपर्छ । हिन्दकुश क्षेत्रका देशहरूबीच सहकार्य गरेर अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाज उठाउनु अहिलेको आवश्यकता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?